

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले पशुपालक किसानका लागि साइलेज मेसिन सञ्चालनमा ल्याएको छ । नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको साझेदारीमा खरिद गरिएको उक्त मेसिनको नगर प्रमुख हेमराज ओझाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कृषि क्षेत्रलाई व्यवसायिक, आधुनिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले साइलेज मेसिन सञ्चालनमा ल्याइएको नगर प्रमुख ओझाले बताए । उनका अनुसार मेसिनको प्रयोगबाट किसानहरूले हरियो घाँस, नेपियर तथा मकैजस्ता बाली काटेर साइलेज तयार गरी लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सक्नेछन् ।

साइलेज विशेषगरी दुग्ध उत्पादन गर्ने गाई–भैंसी तथा मासु उत्पादनका लागि पालिएका पशुका लागि अत्यन्त पौष्टिक तथा दीर्घकालीन आहारको विकल्प रहेको उनले बताए ।

नगरपालिकाले सञ्चालनमा ल्याएको उक्त मेसिनबाट किसानहरूले निःशुल्क साइलेज तयार गर्न सक्ने व्यवस्था गरिएको छ । यसबाट वर्षभरि पशुका लागि आवश्यक आहारको व्यवस्थापन सहज हुने विश्वास नगरपालिकाले लिएको छ ।
स्थानीय पशुपालक किसानहरूले पनि मेसिन सञ्चालनमा आएपछि घाँस संरक्षण तथा भण्डारणमा ठूलो सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । उनीहरूका अनुसार वर्षायाममा प्रशस्त हुने हरियो घाँसलाई सुरक्षित राखेर सुख्खा मौसममा प्रयोग गर्न सकिने भएकाले पशुपालन थप सहज हुनेछ।
मेसिनका अपरेटर उपेन्द्र पाश्वानले सुदूरपश्चिममै पहिलो पटक सञ्चालनमा आएको यस साइलेज मेसिनबाट तयार गरिएको साइलेज दुई वर्षसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिने जानकारी दिए ।
उनका अनुसार मेसिन मार्फत काटिएको घाँस वा मकैलाई साना टुक्रामा काटेर हावा नपस्ने गरी प्याक गरिन्छ । यसरी तयार गरिएको साइलेज वर्षभरि प्रयोग गर्न सकिने भएकाले हरियो घाँसको मौसमी अभाव कम हुने, पशुपालनको लागत घट्ने र किसानको आम्दानी बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

