

महेन्द्रनगर । जेन्जी आन्दोलनका क्रममा लुटिएको सुदूरपश्चिम विश्वविद्यालयको सरकारी स्कारपियो गाडी करिब १० महिनापछि कैलाली प्रहरीले बरामद गरेको छ ।
गाडीको स्वरूप नै परिवर्तन गरी लुकाएर राखिएको अवस्थामा फेला परेको हो। घटनामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका–५ स्थित सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनले चढ्ने गाडी ७÷८ जनाको समूहले जेन्जी आन्दोलनको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै धनगढीबाट लुटेका थिए ।
सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीले प्रयोग गर्ने बा २ झ २८५९ नम्बरको गाडी डाक्टर जोशीको निजी निवास धनगढी उपमहानगरपालिका–५, हसनपुरबाट भदौ २५ गते दिउँसो करिब १२ बजे, मुखमा मास्क लगाएका सात÷आठजनाको समूहले लुटेर लगेका थिए ।
घटनापछि प्रहरीले गाडीको खोजी जारी राखेको थियो। सोही क्रममा असार ८ गते कैलालीको घोडाघोडी नगरपालिका–२ स्थित लिगासैनी सःमिल तथा फर्निचर उद्योगभित्र उक्त स्कारपियोको स्वरूप परिवर्तन गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त उद्योग अर्जुन कार्कीले सञ्चालन गर्दै आएका छन् ।

