

– केशव भट्टराई
महेन्द्रनगर । पुनर्वास नगरपालिकामा कृषि तथा पशु विकासमा आधारित “अत्मनिर्भर पुनर्वास कार्यक्रम” प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रम मार्फत साना किसानलाई आत्मनिर्भर बनाउदै युवाहरुलाई उद्यमशीलतामा जोड्ने एक मात्रै लक्ष्य रहेको छ ।
पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा निड्स नेपालद्वारा सञ्चालित उक्त कार्यक्रमबाट हालसम्म करिब दुई हजार घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

करिब तीन वर्षअघि सुरु भएको कार्यक्रममा नगरपालिकाका ११ वटै वडामा ८० वटा महिला स्वावलम्बी समूह गठन गरी कृषि तथा पशुपालनलाई व्यवसायिक तथा आय–आर्जनमुखी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ । कार्यक्रम अन्तर्गत हालसम्म ८९ वटा आधारशिला तालिम सञ्चालन गरिएको छ, जसमा २ हजार २ सय ३९ जना सदस्य सहभागी भएका छन् ।
परियोजना मार्फत हालसम्म ४ सय १० घरधुरीलाई उन्नत जातका बाख्रा तथा ५७ घरधुरीलाई बोका वितरण गरिएको
छ । बाख्रा प्राप्त गरेका परिवारमध्ये ५० परिवारले उपहार प्रणाली मार्फत अन्य ५० परिवारलाई बाख्रा हस्तान्तरण गरिसकेका छन् ।

पशुपालन प्रवद्र्धनका लागि सुधारिएको पशुआहारा व्यवस्थापन सम्बन्धी तालिममा २ सय ७४ जना, कम्पोस्ट मल उत्पादन तालिममा ३२ जना सहभागी भएका छन् । यस्तै पुनर्वास–९ मा सञ्चालन गरिएको घुम्ती पशु स्वास्थ्य शिविरबाट ३ सय घरधुरी लाभान्वित भएका थिए भने एक हजारभन्दा बढी पशुचौपायाको उपचार तथा आवश्यक औषधि वितरण गरिएको थियो ।
खोर–गोठ सुधार कार्यक्रम अन्तर्गत ५५ वटा ठूला गोठ र १ सय ५० वटा साना खोर निर्माण गरिएको छ । हालसम्म जलवायुमैत्री पशु व्यवस्थापन सम्बन्धी तालिममा ७ सय ४७ जना सदस्य सहभागी भएका छन् ।
कृषि क्षेत्रलाई व्यवसायिक बनाउन ७० जना सदस्यलाई टनेल मल्चीङ सेट, ८० वटा समूहलाई घाँसको बिउ र बेर्ना, ३६ वटा पानी तान्ने मोटर, ३ सय ८ जनालाई व्यवसायिक तरकारी उत्पादन तालिम तथा १ सय २८ जनालाई कृषक व्यवसायिक पाठशाला मार्फत व्यावहारिक प्रशिक्षण प्रदान गरिएको छ ।
यस्तै साझेदारी कार्यक्रम अन्तर्गत ३० जना सदस्यलाई घाँस काट्ने मसीन (चाप कटर), र पुर्ण अनुदानमा ११ जनालाई पशु आहारा तयार गर्ने मिल (फिड मिल) वितरण गरिएको छ । यो संगै डिजिटल ( २ वटा ) तथा एनालग ( २ वटा ) गरी तौल नाप्ने मेसिन ४ जनालाई बितरण गरीएको छ भने ३० जनालाई पानीका ड्रम र ७१ जनालाई तरकारी राख्ने क्रेट तथा ५ जना किसानलाई केराको बेर्ना वितरण गरिएको छ । यसै वर्षदेखि फूलखेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत एक जना किसानलाई आवश्यक सहयोग प्रदान गरिएको छ ।


कार्यक्रमले किसानको क्षमता अभिवृद्धिमा समेत जोड दिएको छ । ११ वटै वडामा समूह सञ्जाल गठन गरी ३ सय ७७ जना सदस्यलाई आवश्यक तालिम प्रदान गरिएको छ । कृषि तथा पशुजन्य उत्पादनको तथ्याङ्क सङ्कलन, सामूहिक बजारीकरण तथा संयुक्त योजना निर्माणका कार्यक्रम समेत सञ्चालन भएका छन् ।
सामूहिक बजारीकरण तालिममा ३ सय ७३ जना र संयुक्त योजना निर्माण कार्यक्रममा ७० जना सदस्य सहभागी भएका छन् ।
सहभागितामूलक समीक्षा तथा योजना तर्जुमा अन्तर्गत ५३ वटा कार्यक्रम सञ्चालन गरी १ हजार ३ सय ६४ जना सदस्य सहभागी गराइएको छ । वितरण गरिएका बाख्रा तथा बोकाको पशु बिमाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ भने ५ जना सामुदायिक कृषि तथा पशु सेवा उद्यमीलाई औषधि तथा आवश्यक उपकरण प्रदान गरिएको छ ।
पुनर्वास–११ मा ३४ जना सदस्यलाई भर्मी कम्पोस्ट (गड्यौले मल) उत्पादन तालिम तथा आवश्यक सामग्री उपलब्ध गराइएको छ ।
तीन वर्षको अवधिमा झण्डै २५ किलो विभिन्न तरकारीका बिउ वितरण गरिएको छ । काँक्रा, फर्सी, लौका, भिन्डी, गोभी, खुर्सानी, धनियाँ, सिमी, तरबुजा, करेला, बोडी लगायतका तरकारीका बिउ २ सय ५२ जना सदस्यलाई वितरण गरिएको परियोजनाले जनाएको छ । जलवायुमैत्री कृषि प्रवद्र्धनका लागि पुनर्वास नगरपालिका वडा नम्बर २ र ११ मा जलवायुमैत्री कृषि सिकाइ केन्द्र समेत स्थापना गरिएको छ ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले कार्यक्रमले किसानलाई व्यवसायिक कृषि तथा पशुपालन तर्फ आकर्षित गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयआर्जनमा उल्लेखनीय योगदान पुराएको बताए ।
उनले नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै थप किसान सम्म विस्तार गरिने बताए ।
यस कार्यक्रम मार्फत किसानले अनुदान मात्रै प्राप्त नगरी सीप, प्रविधि र आत्मनिर्भर बन्ने आधार पनि पाएको उनले बताए । उपहार प्रणाली मार्फत एक किसानले अर्को किसानलाई सहयोग गर्ने संस्कार विकास भएको बताउदै समुदायमा दिगो विकासको आधार तयार भएको बताए ।
कार्यक्रम संयोजक प्रकाश जोशीका अनुसार तीन वर्षको अवधिमा कार्यक्रमले कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । किसानलाई सीप विकास, प्रविधि हस्तान्तरण, उत्पादन वृद्धि, पशु स्वास्थ्य, जलवायुमैत्री कृषि र सामूहिक बजारीकरणमा केन्द्रित कार्यक्रम सञ्चालन गरिएकाले यसको सकारात्मक प्रभाव किसानको उत्पादन र आम्दानीमा देखिन थालेको उनले बताए । किसानलाई सामग्री वितरणमा मात्र सीमित नराखी क्षमता विकास, उद्यमशीलता र बजारसँग जोड्ने कामलाई प्राथमिकता दिएको समेत उनले बताए ।

कृषि र पशुपालन केवल परम्परागत पेशा मात्र नभई, आत्मनिर्भरता, रोजगारी र समृद्धिको आधार पनि हो भन्ने कुरा “अत्मनिर्भर पुनर्वास कार्यक्रम”ले प्रमाणित गरेको छ । अहिले पालिका भित्र सीप, प्रविधि र सामूहिक सहकार्यको माध्यमबाट किसानले आफ्नो जीवनस्तर सुधार गर्न सक्ने स्पष्ट मार्गचित्र समेत कोरिएको देख्न सक्छौं ।

