
दोधारा चाँदनीको कुतियाकवरमा आकाशे पानीले भासियो करोडौको तटबन्ध, कट्टामा माटो बोकेर बोकेर भरान गर्दै नगरपालिका


महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले कुतियाकबरमा तटबन्ध भासिएपछि बनेको खाल्डो माटोले पुर्न श्रमदानका लागि आव्हान गरेका छन् ।
दोधारा चाँदनी नगरपालिका १० कुतियाकबरस्थित महाकाली र जोगबुडा नदीको दोभानमा तटबन्ध निर्माण गरिएको थियो । बर्खा लागेपछि खेतबारीमा निस्केको आकाशे पानीले तटबन्ध भाँसिएर खाल्डो बनेको छ । तटबन्ध नदीतिर धकेलिएको छ ।

माटो हालेर खाल्डो पुर्न नसकिएपछि स्थानीयको थप जमिन कटान हुन सक्ने भएकाले मेयर लिम्बुले नगरपालिकाले बुधबार विहान कट्टामा माटो भरान गर्ने कार्यक्रम भएकाले सामाजिक सञ्जालबाट श्रमदानका लागि आग्रह गरेका हुन् ।
कटान जोखिम क्षेत्रमा सवारी साधन जान नसक्ने भएपछि नगरपालिका कट्टामा माटो बोकेर खाल्डो भरान गर्ने तयारीमा लागेको छ ।
‘त्यहाँ अहिले गाडी घोडा जान नसक्ने भएकोले नेपालबाट नदीजन्य पदार्थ लग्न सम्भव देखिदैन । अब भोलि बुधबार ३१ गते नगरपालिकाले कट्टामा माटो भरेर सो खाल्टो पुर्ने तथा जमिन कटान नहुने गरी पानी नदिमा मिसाउने कार्यको लागि श्रमदानको कार्यक्रम बिहान ७ बजे बाट शुरू गर्ने जानकारीको साथमा सबै सहयोगी हातहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ’ मेयर लिम्बुले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सोमबार जनप्रतिनिधि सहित कुतियाकवरमा भासिएको तटबन्धको स्थलगत निरीक्षण गरेका थिए । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी र प्रमुख प्रशासकीय अधिकृत हरिश प्रसाद जोशी लगायत अधिकारी निरीक्षणमा सहभागी भएका थिए ।
स्थलगत निरीक्षणमा प्रमुख जिल्ला अधिकारी कोइरालाले सबै सरोकारवाला पक्षसित सहकार्य गरी कटान रोक्न पहल गर्ने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी सहितको टोलीमा कञ्चनपुर प्रहरी प्रमुख नेत्रमणी गिरी, सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेनाका प्रमुख, सिँचाइ कार्यालय लगायतका सहभागी भएका थिए ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले निरीक्षण गरेपछि मेयर लिम्बुले मंगलबार जमिन कटान रोक्न माटो भरान गर्ने कार्य अघि बढाएका हुन् । मंगलबार मेयर लिम्बु कटान क्षेत्रमा पुगेर फर्किएका छन् ।
संघ सरकार मातहतको सिँचाई तथा जलस्रोत आयोजना अन्र्तगत निर्माण गरिएको तटबन्ध आकाश पानीले क्षतविक्षत हुन पुगेको छ । तटबन्ध धकेलिएर नदीमा मिसिने खतरा छ ।
स्थानीयका अनुसार तटबन्धको झण्डै ५० मिटर भाग नदीतिर धकेलिएको छ । बाढी नआउँदै खेत भएर निस्केको आकाश पानीले तटबन्ध भाँसिएको छ ।
