
बैजनाथ सामुदायिक वनका कोषाध्यक्ष ऐडी भन्छन्– बिहीबार ९ बोलपत्र फाराम लगिएका छन्, सोमबार पनि फाराम वितरण गर्छौ

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ मटेनास्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले सोमबार पनि काठ लिलाम बिक्रीका लागि बोलपत्र फाराम वितरण गर्ने जानकारी दिएको छ ।
वन समूहका कोषाध्यक्ष हरि सिह ऐडीले बोलपत्र वितरणलाई लिएर गलत प्रचार गरिएको भन्दै शुक्रबार रक्षा बन्धन र त्यसपछि शनिबार र आइतबार विदाका कारण सोमबार पनि फाराम वितरण सारिएको बताए ।
‘बिहीबारदेखि बोलपत्र फाराम वितरण गरि रहेका छौ, बाहिर गलत प्रचार गरिएको छ, फारामको टाइम सोमबारसम्म छ’ उनले भने, ‘बाहिर किन गलत प्रचार गरिदैँछ समूहलाई थाह छैन ।’

बिहीबार समूहका अध्यक्ष शेर सिह विष्ट विहानेदेखि दिउँसो १ बजेसम्म र त्यसपछि दिउँसो ४ बजेपछि समूहको कार्यालयमा बसेको कोषाध्यक्ष ऐडीले जानकारी दिए ।
कोषाध्यक्ष ऐडीका अनुसार बिहीबार काठ बिक्रीका लागि ९ ओटा बोलपत्र फाराम लगिएका छन् ।
समूहको घाटगद्दीमा रहेको ३ सय २८ थान खयरका गोलियाको ९ सय ५० दशमलव ८१ क्युफिट फिट काठ बिक्रीका लागि साउन २४ गते सार्वजनिक सूचना गरिएको थियो । ९ लाख ५० हजार काठको न्यूनतम मूल्य राखिएको छ ।
बिहीबार काठ खरिदका लागि बोलपत्र फाराम लिन पुगेका काठ व्यवसायी केशव चन्दले बोलपत्र फाराम नपाएको भन्दै डिभिजन वन कार्यालयमा उजुरी दिएका थिए ।
‘उजुरीमा सूचना प्रकाशित भएपछि फारम लिन जाँदा वन समूहका पदाधिकारी तथा कर्मचारीहरूले कार्यालय बन्द गर्ने, फोन स्विच अफ गर्ने तथा फोन नउठाउनेजस्ता गतिविधि गरिएको उल्लेख छ’ चन्दले वन कार्यालयमा दिएको निवदेनमा उल्लेख गरेका छन् ।
