
कर्नाटक प्रहरी भन्दै दोधारा चाँदनीमा स्थानीयलाई पक्राउ गरी लैजाने खोज्ने दुईलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–१ थापा चोकमा कर्नाटक प्रहरी भएको भन्दै दुई जना व्यक्ति एक स्थानीयलाई पक्राउ गर्न घरमै पुगेपछि स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

शनिबार बिहान दोधारा चाँदनी नगरपालिका–१ थापा चोक निवासी शंकर लुहार आफ्नै घरमा बसिरहेको अवस्थामा भारतको कर्नाटक प्रहरी भएको दाबी गर्दै सतिस र अलिफ नाम गरेका दुई जना व्यक्ति सादा पोसाकमा अटो चढेर सुनारको घर आएका थिए ।
उनीहरूले शंकर लुहारलाई पक्राउ गर्न खोजेको र सो क्रममा उनकी छोरी सञ्जनामाथि समेत हातपात गरेको स्थानीयको दाबी छ।
घटनापछि स्थानीयले दुवै जनालाई नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी झुलुङ्गेमा बुझाएका थिए । त्यसपछि उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा राखिएको प्रहरीले जनाएको छ ।
