

महेन्द्रनगर । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कञ्चनपुर अन्र्तगत चालु आर्थिक वर्षमा गरिएका कार्यक्रमको अनुगमन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी सहित सरोकारवाला कार्यालयका प्रतिनिधिले बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, बेल्डाडी गाउँपालिका र कृष्णपुर नगरपालिकामा कार्यक्रम अनुमगन गरेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कञ्चनपुरका नायब सुब्बा केशबदत्त बडुका अनुसार आर्थिक वर्षमा साना सिँचाई, कृषि तथा पशुपन्छी उद्यमशिलता कार्यक्रम, कृषि यान्त्रिकरण अनुदान वितरण, चक्लाबन्दी धान खेती लगायतका कार्यक्रम गरिएका छन् ।

नायब सुब्बा बडुका अनुुसार कृषि तथा पशुपन्छी उद्यमशिलता कार्यक्रम बंगुर पालनका लागि खोर निर्माण र भैसी पालनमा सहयोग गरिएको छ ।
बेलौरी नगरपालिकास्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थासित चक्लाबन्दी धान खेतीका लागि सम्झौता गरिएको थियो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य मोहन मेहता, सहायक प्रमुख जिल्ला अधिकारी जोशी, जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी सरिता पन्थी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कञ्चनपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत गोबिन्द राज जोशी कृषि ज्ञान केन्द्रका शङ्कर दत्त अवस्थी, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका हरिदत्त जोशी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कञ्चनपुरका कृषि इन्जिनियर दिनेश गोले, कृषि अधिकृत ध्रुब राज जोशी लगायतका अनुगमनमा सहभागी भएका छन् ।
यस अघि यो कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजानको नामबाट सञ्चालनमा थियो । चालु आर्थिक वर्षमा नाम फेरिएर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम राखिएको हो ।

