

महेन्द्रनगर । होली फेमली इङ्गलिश मिडियम स्कुलका संस्थापक भुपाल सिह विष्टले इन्डोर क्रिकेट ट्रेनिङ्ग सेन्टर सञ्चालनमा ल्याएका छन् ।
भीमदत्त नगरपालिका १० सुकासाल चौराह नजिक विष्टले आफ्नै घरमा ट्रेनिङ्ग सेन्टर खोलेका हुन् । भीनपा १० तिल्केनीस्थित विद्यालयमा यस अघि नै क्रिकेट ट्रेनिङ्ग सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

विष्टले पाँच बिगाहा जग्गामा खेल मैदान बनाएका छन् । क्रिकेटका लागि होली फेमली क्रिकेट एकेडेमी खोलेका छन् । उनी एकेडेमीका अध्यक्ष हुन् ।
एकेडेमीले कञ्चनपुर जिल्ला क्रिकेट संघसित क्रिकेट खेल विकासका लागि द्विपक्षीय सहकार्यका लागि सम्झौता गरेको छ ।
अहिले विष्टले १२ महिना क्रिकेट सिक्ने मिल्ने गरी सुकासालस्थित घरमै टे«निङ्ग सेन्टर खोलेका छन् ।

होली फेमली क्रिकेट एकेडेमीले इन्डोर क्रिकेट ट्रेनिङ्ग सेन्टर सञ्चालनमा ल्याएको हो । यसमा विष्टको एकल लगानी छ ।
होली फेमली क्रिकेट एकेडेमीका अध्यक्ष विष्टले सेन्टरमा खेलाडीहरुलाई खेल अभयासमा सहयोग पुग्ने बताए ।

‘इन्डोर ट्रेनिङ्ग सेन्टरबाट थुप्रै क्रिकेट खेलाडीहरुलाई खेल अभ्यासमा सहयोग पुग्ने आश गरेका छौ’ सेन्टर उदघटन कार्यक्रममा उनले भने ।
विद्यालयमा ट्रेनिङ्गपछि युवाबाट इन्डोर ट्रेनिङ्ग सेन्टरको आवश्यकता आउन थालेको थियो । विष्टले युवाको चाहना अनुसार सोचलाई अघि बढाएर अहिले सञ्चालनमा ल्याएका हुन् ।

‘वर्तमान युवाहरुको इच्छा चाहना र आवश्यकता बमोजिम खेलकूदको माध्यमबाट बालबालिकाको स्वस्थ जीवनशैली,अनुशासन ,नेतृत्व बिकास ,सकारात्मक मार्गदर्शन ,लागुऔषध कुलतबाट बचाउनुका साथै राष्ट्र विकाशमा ठूलो योगदान पुगाउन हो’ विष्टले भने ।
एकेडेमी अध्यक्ष विष्टको अध्यक्षता र कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरी सेन्टर उद्घाटन गरिएको छ ।
एकेडेमीका उपाध्यक्ष महादेव प्रसाद भट्टले स्वागत मन्तव्य राखे । होली फेमली माविका प्रधानाध्यापक नारायण दत्त भट्टले शुभकामना मन्तव्य राख्दै क्रिकेट खेलका लागि ठूलो कार्य भएको उल्लेख गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्ट ,जिल्ला क्रिकेट संघका सचिव विशाल सोनार, समाजसेवी राजेन्द्र पाल, बिष्ट समाजका अध्यक्ष भवान सिंह बिष्ट लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ,विद्यालयका शिक्षक, कर्मचारी, सुकासाल प्रहरी बिटका प्रमुख लगायत सहभागी भए ।
कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव हरि सिंह ठगुन्नाले गरेका थिए । यो पहिलो इन्डोर क्रिकेट ट्रेनिङ्ग सेन्टर सुदूरपश्चिमकै पहिलो हो ।
होली फेमली क्रिकेट एकेडेमी स्थापना भएपछि धेरै जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी बनेको एकेडेमीका उपाध्यक्ष भट्टले बताए ।
