ghar sansar

शेर बहादुर देउवाको राजनीतिक जीवन हेर्ने निष्पक्ष दृष्टिकोण

khasi

बलराम पन्त

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन । यो त्याग, सङ्घर्ष, जेल, यातना, आन्दोलन, सम्झौता, असहमति र धेरै गहिरा व्यक्तिगत पीडाको पनि इतिहास हो । त्यसैले नेपालको राजनीतिक इतिहासमा लामो समय योगदान गरेका कुनै व्यक्तिको मूल्याङ्कन गर्दा उसको वर्तमान विवाद वा राजनीतिक लोकप्रियताका आधारमा मात्र निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन । त्यसैगरी विगतको योगदानका नाममा वर्तमानका प्रश्न र सम्भावित कमजोरीलाई ढाकछोप गर्नु पनि लोकतान्त्रिक संस्कार होइन । यही सन्दर्भमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक जीवनलाई पनि निष्पक्ष भएर हेर्न आवश्यक छ ।

​लेखकको व्यक्तिगत परिचय

​म बलराम पन्त, डडेलधुरा जिल्लामा जन्मिएको एक सर्वसाधारण नेपाली नागरिक हुँ । मेरा पितृपुर्खाको जन्मभूमि पनि डडेल्धुरा नै हो। त्यसैले डडेलधुरासँग मेरो सम्बन्ध केवल जन्मसँग मात्र सीमित छैन; यो मेरो पारिवारिक इतिहास, मेरो पहिचान र मेरा पुर्खाहरूसँग जोडिएको भावनात्मक सम्बन्ध पनि हो ।

​शेरबहादुर देउवा जन्मिएकै जिल्लामा आफ्नो जन्म भएको हुनाले, उहाँजस्तो व्यक्तित्व र देशको प्रधानमन्त्री पाँच–पाँच पटकसम्म बन्न सफल नेता आफ्नै जिल्लामा जन्मनुले म आफैँमा पनि गर्व महसुस गर्नु स्वाभाविकै हो । तर, शेरबहादुर देउवासँग मेरो कुनै व्यक्तिगत सम्बन्ध, पारिवारिक सम्बन्ध वा विशेष सम्पर्क छैन। म उहाँको राजनीतिक दल नेपाली कांग्रेसको कार्यकर्ता पनि होइन । उहाँको पक्षमा राजनीतिक लाभ खोज्ने वा उहाँको बचाउ गर्नुपर्ने मेरो कुनै व्यक्तिगत कारण वा राजनीतिक लेनदेन छैन ।

​म केवल सुदूरपश्चिमको एउटा सर्वसाधारण चेतनशील नागरिकका रूपमा आफ्नो ठाउँबाट नेपालको राजनीतिक इतिहासलाई बुझ्ने र त्यसको समीक्षा गर्ने प्रयास गरिरहेको छु । त्यसैले यो लेखलाई शेरबहादुर देउवाको प्रशंसा वा एकपक्षीय समर्थनको दस्तावेजका रूपमा नबुझियोस् । न त यो पूर्वाग्रही विरोध हो । मेरो आग्रह केवल एउटै हो—इतिहासलाई इतिहासकै आँखाले हेरौँ र वर्तमानका प्रश्नलाई कानुनकै आँखाले हेरौँ ।

​डडेलधुराको माटोबाट राष्ट्रिय राजनीतिको केन्द्रसम्म

सुदूरपश्चिमको डडेलधुराजस्तो भौगोलिक र विकासका दृष्टिले लामो समयसम्म पछाडि परेको क्षेत्रबाट उठेर नेपालको राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै स्थान निर्माण गर्नु सामान्य कुरा होइन । शेरबहादुर देउवाको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सङ्घर्षसँग जोडिएको देखिन्छ । पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक आन्दोलनमा सक्रिय हुँदै उहाँले लामो जेल जीवन र विभिन्न प्रकारका यातना भोग्नुभयो ।  दलमाथि प्रतिबन्ध रहेको र राजनीतिक विचार राख्नु नै जोखिमपूर्ण रहेको त्यो कठिन समयमा राजनीतिमा लाग्नु भनेको पद र प्रतिष्ठाको खोजीभन्दा ठूलो जोखिम मोल्नु थियो ।

​आजको जस्तो खुला र स्वतन्त्र राजनीतिक वातावरण उतिबेला थिएन । आज त सामाजिक सञ्जालमा आफ्ना विचार र अभिव्यक्ति दिएर सजिलै कसैको समर्थन वा विरोध गर्न सकिन्छ, घरमै बसेर राजनीतिक नेतृत्वको आलोचना वा प्रशंसा गर्न पाइन्छ । तर, उतिबेलाको समय त्यस्तो थिएन; आफ्नो विचार राख्नु वा राजनीतिक रूपमा सङ्गठित हुनु भनेको सीधै राज्यको दमनमा पर्नु, सर्वस्वहरण हुनु वा जीवन नै जोखिममा पार्नु थियो । पञ्चायती व्यवस्थाको समयमा राजनीतिक गतिविधिमा संलग्न हुनु आफैँमा अत्यन्तै जोखिमपूर्ण काम थियो । त्यो पुस्ताका नेताहरूले भोगेको सङ्घर्षलाई आजको सुविधाजनक राजनीतिक वातावरण र सामाजिक सञ्जालको सजिलो अभ्यासबाट मूल्याङ्कन गर्दा हामीले इतिहासको त्यो कठिन समयलाई पनि गम्भीरतापूर्वक सम्झनु पर्छ । देउवाको राजनीतिक जीवनमा जेल, गिरफ्तारी, कुटपिट र यातनाका प्रसङ्गहरू जोडिएका छन्। तर, कुनै राजनीतिक नेताको आलोचना गर्दा उसका राजनीतिक निर्णयको आलोचना गर्न सकिन्छ, उसका शासनकालका कमजोरीमाथि प्रश्न उठाउन सकिन्छ, तर लोकतन्त्रका लागि उसले भोगेको सङ्घर्षलाई इतिहासबाट मेट्न सकिँदैन ।

​पाँचपटक प्रधानमन्त्री :  उपलब्धि कि इतिहासको संयोग ?

​शेरबहादुर देउवा पाँचपटक नेपालको प्रधानमन्त्री बन्नु भयो । डडेलधुराबाट लगातार सातवटा निर्वाचन जितेर प्रतिनिधित्व गर्नुभएको तथ्य सार्वजनिक अभिलेखमा छ । कसैले यसलाई उहाँको राजनीतिक सफलताको प्रमाण मान्न सक्छ, कसैले लामो समयसम्म सत्ता र पार्टी राजनीतिमा प्रभाव कायम राख्न सक्ने क्षमताका रूपमा बुझ्न सक्छ, त कसैले उहाँको शासनशैली र राजनीतिक निर्णयको आलोचना पनि गर्न सक्छ । यी सबै दृष्टिकोण लोकतन्त्रमा स्वीकार्य छन् ।

​तर एउटा तथ्यलाई अस्वीकार गर्न सकिँदैन—नेपालको समकालीन राजनीतिक इतिहास शेरबहादुर देउवाको नामबिना पूर्ण हुँदैन । डडेलधुराबाट एउटा व्यक्ति पटक–पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसम्म पुग्नु केवल व्यक्तिगत सफलता मात्र होइन, सुदूरपश्चिमका जनताको लामो राजनीतिक यात्राको पनि एउटा जीवन्त विम्ब हो । यसको अर्थ देउवाका सबै काम सही थिए भन्ने होइन, न त उहाँमाथि प्रश्न उठाउन पाइँदैन भन्ने हो । यसको अर्थ केवल यति हो—योगदान र कमजोरी दुवैलाई एउटै तराजुमा राखेर हेर्नु पर्छ ।

​पीडा भोगेर पनि प्रतिशोधको बाटो रोजेनन्

​राजनीतिमा सबैभन्दा कठिन कुरा आफूले भोगेको पीडालाई बिर्सनु होइन; त्यो पीडालाई प्रतिशोधमा परिणत हुन नदिनु हो । शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा धेरै किसिमका विरोध, अपमान, कुटपिट, जेल र राजनीतिक सङ्घर्ष भोग्नुभयो । माओवादी द्वन्द्वका क्रममा उहाँलाई लक्षित गरेर माओवादीहरूले एम्बुस थापेको जस्ता गम्भीर हिंसात्मक घटनाहरूको प्रसङ्गसमेत उहाँको जीवनमा जोडिएको पाइन्छ ।

​तर, उहाँको राजनीतिक यात्रामा देखिएको एउटा अत्यन्तै अनुकरणीय पाटो भनेको आफूले भोगेका ती ठूला पीडा र आघातलाई कहिल्यै पनि व्यक्तिगत प्रतिशोधको स्थायी राजनीतिक हतियार बनाउनु भएन । हिजो आफूविरुद्ध द्वन्द्व सिर्जना गर्ने र एम्बुस थाप्ने माओवादीहरूसँग समेत पछि गएर मिलेर सत्ता सञ्चालनदेखि अन्य सबै राजनीतिक विषयमा सहकार्य गर्दा उहाँले कुनै किसिमको प्रतिशोध साँध्नुभएन । त्यसैगरी, २०८२ साल भाद्र २४ गतेका दिन उत्पन्न भएको जेन्जी विद्रोह वा त्यसक्रममा घटेका घटनाहरूका बेला उहाँको घर जलेको र उहाँमाथि कुटपिटसमेत भएको थियो । त्यस्तो असहज र संवेदनशील परिस्थितिमा समेत उहाँले कसैप्रति कुनै किसिमको प्रतिशोधात्मक व्यवहार वा बदलाको भावना देखाउनु भएन । लोकतन्त्रका लागि जेल र यातना भोगेका पुस्ताका नेताहरूले आफ्ना अनुभवलाई संयमका साथ कसरी सम्झिन्छन् भन्ने यो एक ज्वलन्त उदाहरण हो। हिजो आफूमाथि हिंसा वा आक्रमण गर्नेहरूसँग पनि राष्ट्रिय राजनीतिको आवश्यकताअनुसार संवाद र सहकार्यको बाटो खोज्ने यो राजनीतिक चरित्रले उच्च राजनीतिक परिपक्वताको पाठ सिकाएको छ ।

​राजनीति भनेको स्थायी शत्रु बनाउने कला होइन

dirghayi clinic

​नेपालको राजनीतिमा एउटा ठूलो समस्या के छ भने हामी राजनीतिक प्रतिस्पर्धालाई व्यक्तिगत शत्रुतामा परिणत गर्न खोज्छौँ । तर आजको विरोधी भोलिको सहयात्री हुन सक्छ र आजको प्रतिस्पर्धी भोलि राष्ट्रिय सङ्कटमा सहकार्य गर्नुपर्ने व्यक्ति हुन सक्छ ।

​देउवाको लामो राजनीतिक यात्रामा विभिन्न राजनीतिक धारका व्यक्तिहरूसँग सहकार्य र संवादका प्रसङ्गहरू देखिन्छन् । लोकतन्त्रमा सबै कुरा आफूले भनेजस्तो हुँदैन; सम्झौता र संवाद गर्नुपर्छ । यस अर्थमा देउवाको लामो राजनीतिक जीवनले नेपाली राजनीतिलाई एउटा महत्त्वपूर्ण पाठ दिएको छ—राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रभन्दा स्थायी राष्ट्रिय स्वार्थ ठूलो हुनुपर्छ। साथै, उहाँले राजनीतिक रूपमा प्रतिबद्धता व्यक्त गरेका व्यक्ति तथा समूहसँग कठिन परिस्थितिमा पनि लामो समयसम्म सम्बन्ध कायम राख्ने प्रयास गर्नुभएको पाइन्छ ।

इतिहासलाई देवत्वकरण नगरौँ, दानवीकरण पनि नगरौँ

हाम्रो राजनीतिक संस्कारको एउटा ठूलो कमजोरी के हो भने हामी व्यक्तिलाई या त भगवान् बनाउँछौँ या अपराधी । आफ्नो पक्षको नेता भए उसका सबै कमजोरीमा मौन बस्छौँ र विरोधी पक्षको नेता भए उसका सबै योगदानलाई अस्वीकार गर्न खोज्छौँ । तर लोकतन्त्रको सुन्दरता यसमा होइन ।

​लोकतन्त्रको सुन्दरता त त्यहाँ हुन्छ, जहाँ हामी भन्न सक्छौँ— तपाईंले राम्रो गर्नुभएको ठाउँमा हामी सम्मान गर्छौँ, गल्ती गर्नुभएको ठाउँमा प्रश्न गर्छौँ र कानुन उल्लङ्घन गर्नुभएको प्रमाणित भए कारबाहीको माग गर्छौँ ।”

​देउवाका हकमा पनि यही दृष्टिकोण आवश्यक छ। उहाँले देशका लागि गरेको योगदानको सम्मान हुनुपर्छ, विवादास्पद निर्णयको आलोचना हुनुपर्छ र गम्भीर आरोप छन् भने निष्पक्ष अनुसन्धान हुनुपर्छ। तर आरोप लाग्नु र दोष प्रमाणित हुनु एउटै कुरा होइन ।

​अनुसन्धान होस्, तर प्रतिशोधका लागि होइन ​कुनै पनि पूर्वप्रधानमन्त्री कानुनभन्दा माथि हुनुहुन्न; शेरबहादुर देउवा पनि हुनु हुन्न । यदि उहाँमाथि कुनै आर्थिक, प्रशासनिक वा अन्य गम्भीर अनियमितताको आरोप छ भने राज्यले तथ्य र प्रमाणका आधारमा निष्पक्ष र पारदर्शी अनुसन्धान गर्नुपर्छ । सम्बन्धित व्यक्तिलाई आफ्नो तर्फबाट निष्पक्ष कुरा राख्ने अवसर दिनुपर्छ र दोष प्रमाणित भए कानुनअनुसार कारबाही हुनु पर्छ ।

​तर, अनुसन्धानको नाममा व्यक्तिलाई सार्वजनिक रूपमा अपराधी घोषणा गर्ने, सामाजिक रूपमा अपमानित गर्ने वा राजनीतिक प्रतिशोध साध्ने प्रयास स्वीकार्य हुन सक्दैन । राज्यले बदला होइन, न्याय दिनु पर्छ । आज राज्यले कुनै व्यक्तिलाई राजनीतिक पूर्वाग्रहका आधारमा निशाना बनायो भने भोलि त्यही हतियार अर्को राजनीतिक पक्षमाथि प्रयोग हुन सक्छ । त्यसैले हामीले व्यक्तिभन्दा माथि संस्थालाई र राजनीतिक भावनाभन्दा माथि कानुनलाई राख्नुपर्छ। भीडको हातमा न्यायको जिम्मेवारी सुम्पिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउनु हो ।

​सुदूरपश्चिमले दूधलाई दूध र पानीलाई पानी भन्न सिक्नु पर्छ

​सुदूरपश्चिमका लागि शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दजस्ता व्यक्तित्वहरू राजनीतिक इतिहासका महत्त्वपूर्ण अध्याय हुन् । आफ्नो जन्मभूमिबाट राष्ट्रिय नेतृत्वमा पुगेका व्यक्तिप्रति गर्व गर्नु स्वाभाविक हो। तर क्षेत्रीय गौरवको अर्थ आफ्ना नेताका सबै कमजोरीलाई ढाकछोप गर्नु हुँदैन ।

सुदूरपश्चिमले अब अझ परिपक्व राजनीतिक चेतना देखाउँदै भन्न सक्नु पर्छ—
​राम्रो काम राम्रो हो।
​गलत काम गलत हो।
​योगदानको सम्मान हुनुपर्छ।
​दोषको छानबिन हुनुपर्छ।
​दोष प्रमाणित भए कारबाही हुनु पर्छ।

​आफ्नो मान्छे भएकै कारण गलतलाई सही भन्नु हुँदैन र बाहिरको मान्छे भएकै कारण सहीलाई गलत भन्नु हुँदैन। यही निष्पक्षता सुदूरपश्चिमको राजनीतिक चेतनाको पहिचान बन्नु पर्छ ।

​निष्कर्ष

इतिहासको सम्मान, न्यायको बाटो

​आजको पुस्ताले पुराना नेतृत्वप्रति प्रश्न गर्नु, जवाफदेहिता खोज्नु र सुशासनको माग गर्नु स्वाभाविक र आवश्यक छ । तर नयाँ पुस्ताको आक्रोश वा भीडको आवेगले पुरानो पुस्ताको सम्पूर्ण इतिहास मेट्नु हुँदैन । त्यसैगरी पुरानो पुस्ताले पनि आफ्नो विगतको योगदान देखाएर आजका प्रश्नबाट भाग्न खोज्नु हुँदैन ।

​शेरबहादुर देउवाको समग्र यात्रा इतिहास हो—जसमा उज्याला पक्ष पनि छन्, कमजोरीका अध्याय पनि छन्। त्यसैले हाम्रो जिम्मेवारी उहाँलाई देवत्वकरण गर्नु होइन, दानवीकरण गर्नु पनि होइन। उहाँलाई एक मान्छे र राजनीतिक पात्रका रूपमा समग्रतामा हेर्नु पर्छः
​योगदान छ भने सम्मान गरौँ ।
​कमजोरी छ भने आलोचना गरौँ ।
​आरोप छ भने अनुसन्धान गरौँ—तर संयमका साथ, प्रतिशोध विना ।
​दोष छ भने कानुनअनुसार कारबाही हुनु पर्छ ।
​तर इतिहास छ भने त्यसको सम्मान गरौँ ।

मानिस बदलिन्छन्, सरकार बदलिन्छन्, सत्ता बदलिन्छ; तर न्याय, सत्य र इतिहासप्रतिको सम्मान बदलिनु हुँदैन । डडेलधुराको माटोमा जन्मिएको एक सर्वसाधारण नागरिकका रूपमा मेरो विनम्र आग्रह यही हो—इतिहासलाई न्याय गरौँ, वर्तमानलाई जवाफदेही बनाऔँ र भविष्यका लागि लोकतन्त्रलाई अझ बलियो बनाऔँ ।

Himal dental
सम्बन्धित
Loading...