

महेन्द्रनगर । कैलाली वन डिभिजन कार्यालयले क्षेत्राधिकार नाघेर काठ काट्न लगाएको कञ्चनपुरमा पर्ने धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट तीन ट्रक खयर काटिएको खुलेको छ ।
धौलेपानीमा अहिले कटान गरिएको वन क्षेत्र नजिक पर्ने मछेली खोला किनार खयर काटेर कैलालीमा बिक्री गरिएको हो ।
गत वैशाखमा कैलाली डिजिभन वन कार्यालयले खयर काटेर कृष्णपुर नगरपालिकाको बाटो हुँदै कैलाली लगेको थियो ।
वन डिभिजन कार्यालय कञ्चनपुरका अनुसार तीन ट्रकमा कम्तिमा दुई हजार क्युफिट खयर हुन सक्ने आशंका गरिएको छ ।
खयरलाई धौलेपानीमै घाटगद्दी बिक्री गरिएको अनुमान गरिएको छ । वन ऐन अनुसार कटान गरिएको क्षेत्रमा धाटगद्दी गर्न पाइदैन ।
वन क्षेत्रमा घाटगद्दी गरी सिधैं बिक्री गरिएका काठ कैलालीको लक्ष्मी कत्थामा बिक्री गरिएको जानकारी डिभिजन वन कार्यालयले पाएको छ ।
यो काठको न्यूनमत मूल्य २० लाख हुन्छ । खयर काठ दरियाबुर्दीको नाममा कटान गरिएको थियो ।
साउन दोस्रो साता धौलेपानी राष्ट्रिय वनबाट कटान गरिएको काठ कृष्णपुर नगरपालिका १ बंकस्थित दिपेन्द्र स्मृति सामदायिक वनबाट बरामद भएको थियो ।
अहिले सब डिभिजन वन कार्यालय बाणीमा राखिएको बरामद काठका २ सय १६ गोलिया छन् । यो झण्डै एक हजार पाँच सय क्यूफिट काठ हो । धौलेपानी वन क्षेत्रमा १ सय ८ गोलिया छाडिएका छन् ।
वन ऐन अनुसार क्षेत्रीय वन निर्देशनालयको अनुममतिले जेठमा मात्रै सम्बन्धित जिल्लामा काठ धाटगद्दी गर्न पाउने व्यवस्था छ ।
कैलाली डिभिजनले खयर कटानपछि धौलेपानी राष्ट्रिय वनबाट १ सय ७९ ढलापडा र सुख्खा रुख कटान गरेको हो । क्षेत्रीय वन निर्देशनालय, कैलाली डिभिजन र कञ्चनपुर डिभिजनले काठ कटान छानबिन गर्न समिति बनाएका छन् ।
वन निर्देशनालयले डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टलाई छानबिनको जिम्मा दिएको थियो । कञ्चनपुर डिभिजनले वरिष्ठ वन अधिकृत विश्वेश्वर प्रसाद जोशीलाई जिम्मा दिएको छ ।
कैलाली डिभिजनले वरिष्ठ वन अधिकृत जीवछ यादवालाई छानबिनको जिम्मा दिएको छ ।
धौलेपानी राष्ट्रिय वन क्षेत्र बाणी सव डिभिजन अन्र्तगत पर्छ । बाणी सव डिभिजनमा वरिष्ठ वन अधिकृत भरत शाह प्रमुख छन् ।

काठ बरामद भएपछि शाह विदामा बसेका थिए । शाहको मौखिक निर्देशनमा धौलेपानी क्षेत्रमा काटिएको काठ सामुदायिक वनमा घाटगद्दी गरिएको सामुदायिक वनले जानकारी दिएको थियो ।
बाणी सव डिभिजन प्रमुख शाह धौलेपानी काठ कटान सम्बन्धि पूर्ण जानकार भएको देखिएको वन अधिकारीहरु बताउँछन् ।
छानबिन क्रममा शाहले काठ कटान सम्बन्धि कञ्चनपुर डिभिजनलाई जानकारी गराएको नभेटिएको पाइएको छ ।
खयर काठ र अहिले बरामद काठ सम्बन्धि प्रतिक्रिया लिन बाणी सव डिभिजन प्रमुख शाहसित सम्पर्क गर्दा उनले मोबाइल रिसिभ गरेनन् ।
शाहको अहिले कटानमा देखिएको भूमिकाले खयर कटानमा पनि उनी संलग्न हुन सक्ने आशंका भएको वन अधिकारीहरु बताउँछन् ।
कैलाली वन डिभिजन प्रमुख डा. राम विचारी ठाकुर २०८२ भदौमा कञ्चनपुरबाट कैलाली सरुवा भएका थिए । कार्यकक्षमा कालोमोसो दलिएपछि उनी सरुवा भएर गएका थिए ।
कैलाली डिभिजन प्रमुख भएपछि उनले कञ्चनपुरको वन क्षेत्रमा एकपछि अर्को काठ काठन लगाएका हुन् ।
कञ्चनपुरमा ठाकुरको कार्यकाल विवादित बनेको थियो । कालोमासो दलिन अघि कार्यकक्षमा उनीमाथि कुटपिट भएको थियो ।
कञ्चनपुरको वन क्षेत्रबाट रुख काट्न कैलालीको गोदावरी नगरपालिका १२ केलागाडमा डेढ सय घरधुरीका लागि २ सय ७१ हेक्टर सामुदायिक वन बनाइएको छ । सिछ बैजनाथ सामुदायिक वनको ९४ हेक्टर वन क्षेत्र कञ्चनपुरभित्र पर्छ ।
कञ्चनपुरको वन क्षेत्र सहित सामुदायिक वन बनाएपछि उपभोक्ता आक्रोशित थिए । उपभोक्ताको विरोधका बाबजुद धौलेपानीबाट समेत खयर कटान गरी लगिएको थियो ।
कैलाली वनले धौलेपानी सहितको वन क्षेत्रलाई समेत धौलेपानी केलागाड वन क्षेत्र भन्दै कटान अनुमति दिएको छ ।
कञ्चनपुरका स्थानीयले संरक्षण गर्दै आएको वन क्षेत्र अर्को जिल्लाबाट दर्ता भएपछि वन अधिकारको टोलीले अनुमगन गरेको थियो ।
कृष्णपुर नगरपालिका–१ र ४ अन्तर्गतका विशाल, ग्वासी, नमूना, ग्वासी समैजी, समैजी तथा नवदुर्गा सामुदायिक वन उपभोक्ताले विरोध गरेका थिए ।
वन अधिकारकर्मी नरेश राज भट्ट नेतृत्वको संघर्ष समितिले सामुदायिक वन खारेजीका लागि डिभिजन वन कार्यालय कैलालीलाई पत्राचार गर्न माग गरेका थिए । धौलेपानीमा त्यति बेला खयरसंगै साल पनि काटिएको पाइएको थियो ।
डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख विश्वेश्वर प्रसाद जोशीले धौलेपानी राष्ट्रिय वन क्षेत्र कञ्चनपुरमा पर्ने भएकाले कैलाली वनले क्षेत्राधिकार नाघेर कटान गर्न नपाउने बताए ।
