

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ मा बर्षौदेखि बसोबास गर्दै आएका बासिन्दाले जग्गाधनी पूर्जा पाउन सकेका छैनन् । जग्गाधनी पूर्जा नहुनेमा २०२२ देखि बसोबास गर्दै बासिन्दा समेत छन् । वडामा पूर्जा नहुने ६ सय ५० परिवार छन् ।
वडा अध्यक्ष रामचन्द्र बोहराले जग्गा धनी पूर्जा नभएका बासिन्दासित पाच कट्टादेखि डेढ बिगाहासम्म जग्गा भएको बताए ।
‘यो हाम्रो वडाको सबैभन्दा ठूलो समस्या हो, यो समस्या समाधानका लागि परेका छौ’ उनले भने ।
२०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष भएपछि बोहरा भूमि समस्या समाधानका लागि प्राथमिकता दिएर अघि बढेका छन् ।
उनी दुई पटक आफै काठमाडौ गएर नक्सा प्रमाणित गरेका छन् ।
वडा अध्यक्ष बोहराले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा समान्य प्रशासन मन्त्री प्रतिभा रावललाई माग पत्र बुझाएका छन् ।
मन्त्री रावल कञ्चनपुर आएको बेला राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेर बोहराले भूमि समस्या समाधानका लागि माग पत्र बुझाए ।

वडाभरि सबै नापी हुन नसकेर समस्या भएको उनले बताए । ‘२०२२ देखि पूर्जा पाएका छैनन, अलि अलि नापी भो, पूरै नापी हुन सकेन’ उनले भने ।
पछिल्लो पटक २०६६ मा सुकुम्बासी आयोगले २ सय ३२ परिवारको सेतो पूर्जा बनाएको थियो ।
जिल्ला भूमि समस्या समाधान समितिले ती मध्ये १ सय ४९ परिवारलाई २०८२ मा जग्गाधनी पूर्जा दिने निर्णय गरेको थियो ।
अहिले सबैको जग्गा नापी भएर निस्सा दिइएको छ। सेतो पूर्जामध्ये ८३ ओटा जिल्ला समितिमा पुगि सकेका छन् ।
पहिलो चरण सेतो पूर्जा रातो बनाउने अद्यावधिक गर्न पठाउनु पर्ने वडा अध्यक्ष बोहराले बताए ।
वडामा ३ सय ५० अव्यवस्थित परिवार छ्न । यसै गरी भूमिहिन दलित २२ छन् ।
जग्गाधनी पूर्जा नभएर बासिन्दालाई बैङ्किङ्ग कारोबार गर्न समस्या भएको वडा अध्यक्ष बोहराले बताए ।
१३ नम्बरमा २०२४ मा पहिलो पटक को पहिलो नापी भएको थियो ।
