
धौलेपानी वन फँडानीमा सुदूरपश्चिम सरकार चुप बसेपछि मुख्यमन्त्रीलाई नै भेटेर स्थानीयले दिए दबाव, कैलाली वन डिभिजन प्रमुख ठाकुर र बाणी सव डिभिजन प्रमुख साहमाथि छानबिन गरी कारवाही गर्न माग

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले धौलेपानी काठ फँडानी सम्बन्धि चासो नदेखाएपछि स्थानीयले मुख्यमन्त्रीलाई भेटेर दबाव दिएका छन् ।
कैलाली वन डिभिजनले कञ्चनपुरमा पर्ने धौलेपानी वन क्षेत्रबाट अवैध रुपमा रुख कटान गराएको थियो । कैलाली वन प्रमुख डा. रामविचारी ठाकुरले कञ्चनपुरबाट सरुवा भएपछि धौलेपानीमा काठ कटान गराएका हुन् ।
सुदूरपश्चिम सरकार बनेको दुई सातासम्म वन फँडानीमा चासो नदेखाएपछि मुख्यमन्त्री खगराज भट्टलाई भेटेर स्थानीयले संलग्नलाई कारवाहीका माग गरेका छन् ।
सत्तारुढ नेकपा नेता सहितको संघर्ष समितिले मुख्यमन्त्री भट्टलाई कारबाहीका लागि दबाव दिएका छन् ।

नेकपा नेता जयराज पाण्डेको नेतृत्वको संघर्ष समितिका नरेश राज भट्ट सहित वन अधिकारकर्मीले मुख्यमन्त्री भट्टसंगै भौतिक पूर्वाधार विकासमन्त्री ओम विक्रम भाट र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावललाई भेटेर वन फँडानीमा संलग्नमाथि कारवाही गर्न दबाव दिएका छन् ।
संघर्ष समितिले कैलाली डिभिजन वन प्रमुख डा. ठाकुर, बाणी सब–डिभिजन वन प्रमुख भरत शाह र कैलालीको अत्तरिया सब–डिभिजन वन प्रमुख कृष्ण बोहराको भूमिकाथि छानबिन गरी कानुनी दायरामा ल्याउनु उनीहरुले माग गरेका छन ।
समितिले मुख्यमन्त्री सहित सबैलाई माग पत्र बुझाएको छ । त्यसमा धौलेपानी क्षेत्रको अध्ययन गरी छानबिन गर्न माग गरिएको छ ।
कैलाली सीमा भन्दा चार सयदेखि एक हजार मिटर टाढा कञ्चनपुरमा रुख कटान गरिएको छ । एक सय ७९ रुख कटान अनुमति दिएकोमा हालसम्म ६६ रुख काटिएको बाहिर आएको छ ।
काटिएका रुखमध्ये एक सय ८ गोलिया धौलेपानीमै छन् । बाणी सव डिभिजन प्रमुख भरत शाहको मौखिक निर्देशनमा दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि ल्याइएका २ सय १६ गोलिया बरामद गरिएका छन् ।
वन अधिकारीहरुले जीपिएस यकिन गर्दा धौलेपानी वन क्षेत्र कञ्चनपुरमा पर्ने स्पष्ट भएको जानकारी दिएका छन् ।
वन मन्त्री प्रकाश रावलले आफूले यस विषयमा अहिलेसम्म विस्तृत जानकारी नपाएको बताउँदै सम्बन्धित पक्षको भनाइ सुन्ने, वन निर्देशनालयका निर्देशकलाई बोलाएर विषय बुझ्ने र आवश्यक प्रक्रिया अघि बढाउने धारणा व्यक्त गरेको समितिका सदस्यहरुले बताएका छन् ।
