
भोटेकोशीको बाढीले त्रिशुली ३ ए को सुरुङ्गभित्र थुनिएका इन्जिनियर बिनोद पाण्डेयका आफन्त छन्– विदेशी सहयोग लिएर पनि छिटो बाहिर निकालिन दिनु पर्यो, नत्र क्षति हुन सक्छ

महेन्द्रनगर । ‘विदेशी सहयोग लिएर पनि सुरुङ्ग खोलेर त्यहाँभित्रका सबैलाई बाहिर ल्याउनु परयो । नत्र के पो हुन्छ, सरकारले यसमा किन ढिलाई गर्दैछ निकै चिन्तामा छौ’ महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्ट शुक्रबार साँझ आफन्तसित मोइबालमा कुरा गर्दै भनि रहेका थिए ।
भोटेकोशीको बाढीले तीन दिन अघि त्रिशुली ३ ए को सुरुङ्ग पुरिएपछि विष्ट निरन्तर रुपमा सुरुङ्गभित्र फसेका व्यक्तिको उद्धारका लागि आग्रह गरि रहेका छन् ।
सुरुङ्गभित्र विष्टका ज्वाई विनोद पाण्डेय सहित जल विद्युत आयोजनाका ३५ कर्मचारी फसेका छन् । विष्ट सरकारले विदेशी सहयोग लिएर पनि उनीहरुलाई बाहिर निकाल्नु पर्ने बताउँछन् ।
‘सरकार माथि डाँडा डाँडा पुगेका व्यक्तिको उद्धारमा केन्द्रित देखिन्छ, त्यो हाइड्रोपावरको सुरुङ्गभित्र फसेका व्यक्तिको उद्धारका लागि कुनै चासो नै देखाएको छैन’ उनले भने,‘विदेशी सहयोग लिएर पनि उद्धार गर्नु परो, सरकार त लिँदैन पो भनि रहेको छ, यो बेला यस्तो भनेर हुँदैन जसरी पनि त्यहाँ सुरुङ्गभित्र फसेका व्यक्तिको उद्धार हुनु पर्छ ।’
विष्टले सुरुङ्गभित्र फसेका व्यक्तिको उद्धारका लागि आफूले काठमाडौं सहित देशका विभिन्न क्षेत्रमा रहेका चिनजानका सबैलाई सम्पर्क गरी सहयोगका लागि आग्रह गरेको बताए ।
हाइड्रोपावरको सुरुङ्गभित्र फसेका पाण्डेय भीमदत्त नगरपालिका ३ का भाँसीका हुन् । उनी हाइड्रोपावरमा इन्जिनियर थिए ।

हाइड्रोपावरभित्र कामकाज भइ रहेका बेला बाढी आएपछि सुरुङ्ग पुरिएर पाण्डेय सहित कर्मचारी त्यहाँभित्र फसेका छन् ।
नेपाल विद्युत प्राधिकरणले बनाइ रहेको त्रिशुली थ्री ए मा हालसम्म उद्धारको टीम पुग्न नसकेपछि घर परिवार र आफन्त चिन्तित भएका छन् ।
विष्ट शनिबार आफैं काठमाडौं जान लागेका छन् । इन्जिनियर पाण्डेयकी श्रीमति र दुई सन्तान काठमाडौंमा बस्छन् ।
‘बहिनी र भान्जा भान्जी काठमाडौं बस्छन्, सरकारले उद्धार गरी निकाली दिनु परो भन्छन्’ विष्टले भने,‘उद्धार कार्य ढिलाई हुँदा घर परिवार झन चिन्तामा पर्ने अवस्था आएको छ ।’
उद्धार कार्यको ढिलाईले आफन्तहरु मानवीय क्षति हुने त्रासमा छन् । ‘सुरुङ्गभित्र अक्सिजनको कमी र बढ्दो जोखिमका कारण प्रत्येक सेकेन्ड महत्वपूर्ण बनेको छ’ उनले भने, ‘ढिलाइ भए ठूलो मानवीय क्षति हुने निश्चित छ, त्यसैले तुरुन्त रेस्क्यु टीम पठाई दिनु पर्छ ।’
भोटेकोशी बाढीले पुरिएको माथिल्लो त्रिशुलीमा भने उद्धार कार्य सुरु भएको छ ।
‘त्यस बाहेक त्रिशुली तीन ए मा कुनै पहल भएको छैन, यसलाई प्राथमिकतामा राखी बकेट सहितको उद्धार हेलिकोप्टर परिचालन गरियोस भनेर सरकारलाई भन्न चाहन्छौ’ उनले भने ।
लेदो र भग्नावशेषका कारण सुरुङको प्रवेश मार्ग प्रभावित भएपछि नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली सुरुङभित्र प्रवेश गरी उद्धार अघि बढाउने प्रयासमा छन् ।
हुमागाईँका अनुसार भदौ १० गते आएको बाढी पहिरोपछि लेदो र भग्नावशेष थुप्रिएर सुरुङको मुख प्रभावित भएको छ। स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने सुरुङ आसपास हेलिकप्टर अवतरण गर्न सक्ने अवस्थासमेत छैन।
