

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ नम्बर वडाले आर्थिक बर्ष २०८२÷०८३ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा सचिव उपेन्द्र मिश्रले गत बर्षको प्रगति प्रस्तुत गरे ।
वडा अध्यक्ष राम बहादुर बोहराले अध्यक्षता गरेको कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिंह धामी प्रमुख अतिथि थिए ।
वडा सदस्यहरु हरिश साउद, बालादेबी नाथ, फूल पहरी, दिपक महता सहभागी थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा शुक्लाफाटा राष्ट्रिय निकुन्ज किनार बस्तीमा जंगली जनावर्को आतंक, सडक कालोपत्रे, बिपद व्यवस्थापन, ग्राभेल, खानेपानी, शिक्षा लगायतका क्षेत्रमा गरिएका कामबारे जिज्ञासा राखे ।
१३ नम्बर वडा भीमदत्तमा सार्वजनिक सुनुवाइ गर्ने दोस्रो वडा भएको छ । यस अघि ९ नम्बरले सार्वजनिक सुनुवाइ गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रशासकीय अधिकृत धामीले स्थानीय सरकार संचालन ऐनमा सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था भएको उल्लेख गर्दै उनले स्थानीय तहको योजना निर्माण प्रक्रियाबारे जानकारी दिए ।

महाकाली नदीको रोयल्टीबाट गत बर्ष ८ करोड राजस्व संकलन गरिएको उल्लेख गर्दै भीमदत्त र दोधारा चादनी नगरपालिकाले साझेदारीमा ठेक्का हुने गरेको धामीले बताए ।
वडाका योजना पिच्छे छलफल हुनु पर्ने र कार्यक्रमका दिन पनि खर्च विवरण सार्वजनिक गरी पारदर्शिता देखाउन साकिने उनले बताए ।
वडा अध्यक्ष राम बहादुर बोहराले सार्वजनिक सुनुवाई कार्यक्रममा आउने जिज्ञासा र बिज्ञका सल्लाह सुझावले वडाको बिकासमा टेवा पुग्ने बताए ।

वडाको बजेटले सबै बासिन्दाको चाहना र माग अनुसार कार्यक्रम गर्न सकिने अवस्था नभएको उल्लेख गर्दै उनले प्रदेश र संघ सरकारी समन्वय गरी बिकास र समृद्धिका अघि बढेको बताए ।
गरिब बासिन्दाका लागि बासको व्यवस्था गर्न नमूना बस्ती निर्माण गर्न लागिएको वडा अध्यक्ष बोहराले बताए ।
