

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नेकपा र एमालेबीच गठबन्धन भएर नयाँ सरकार बनेपछि धौलेपानी काठ फँडानी प्रकरण सेलाउने आशंका गर्न थालिएका छन् ।
नेकपा र एमालेबीच गठबन्धन भएर नेकपाका नेता खगराज भट्ट मुख्यमन्त्री नियुक्त भएको दुई साता अघि धौलेपानी काठ फँडानी प्रकरण चर्किएको थियो । उनी साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
कैलाली वन डिभिजन वन कार्यालयले कञ्चनपुर वन डिजिभनलाई जानकारी नदिई चुरे क्षेत्रमा पर्ने धौलेपानी राष्ट्रिय वनबाट रुख कटान गर्न लगाएको थियो । कैलाली वनले कटान अनुमति दिएका १ सय ७९ रुखमध्ये ६६ रुख काटिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
धौलेपानीमा काटिएका रुखलाई साउन १४ गते कृष्णपुर नगरपालिका २ बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दी गर्न ल्याएपछि काठ बरामद गरिएको थियो ।
बाणी सव डिभिजन प्रमुख भरत साह काठ बरामदको दिन घरमा विदामा बसेका थिए ।
डिभिजन वन कार्यालय कञ्चनपुर र बाणी सव डिभिजनका निमित्त प्रमुख सहित काठ बरामद गरी सव डिभिजन कार्यालयमा लगेका थिए । तीन ट्रयाक्टर काठ एक हजार चार सय ७० क्यूफिट भएको जानकारी दिइएको छ । बरामद काठका २ सय १६ गोलिया छन् ।
कैलाली डिभिजन प्रमुख राम विचारी ठाकुर यस २०८२ भदौमा कञ्चनपुरबाट सरुवा भएर कैलाली पुगेका थिए ।
कैलाली गएपछि ठाकुरले कञ्चनपुरसित समन्वय नगरी धौलेपानीमा काठ फँडानी गर्न लगाएका छन् ।
सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयले ठाकृुरलाई स्पष्टीकरण सोधेको छ । निर्देशनालयले बनाएको छानबिन समितिले ठाकुरले क्षेत्राधिकार मिचेर काठ काटन लगाएको प्रतिवेदन पाएपछि कारवाहीका लागि स्पष्टीकरण सोधेको हो ।
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीले भने अहिलेसम्म धौलेपानी काठ फँडानीमा मौनता देखाएका छन् ।
सत्तारुढ नेकपाका नेता जयराज पाण्डेय सहित वन अधिकारकर्मीले काठ फाडानीबारे मुख्यमन्त्री खगराज भट्ट, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री प्रकाश रावल र भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटलाई भेटेर छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन मागपत्र बुझाएका छन् ।
वन मन्त्री रावल कञ्चनपुरका वासिन्दा हुन् । रावल मुख्यमन्त्री भएपछि काठ फँडानी अनुसन्धान तीव्र हुने अपेक्षा थियो । उनी मन्त्री भएपछि अनुसन्धान र कारवाही दुबै अघि बढ्न सकेका छैनन् ।
सुदूरपश्चिम सरकार काठ फँडानी प्रकरण थामथुम पार्न खोजिएको आशंका गर्न थालिएको छ । बाणी सव डिभिजन कार्यालयमा बरामद काठ अपलोड गरी ट्रयाकटर छाडिएका छन् । काठ बोक्न प्रयोग गरिएका तीन ट्रयाक्टर सहित काठ बरामद गरिएको थियो ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख जोशीले तीन ट्रयाक्टरलाई जिम्मा जमानीमा छाडिएको बताए ।
‘यो काठको अनुसन्धान हुँदैछ, अनुसन्धान समिति बनाइएका छन्, त्यो काठ बोक्ने ट्रयाक्टर हामीले बोलाएको बेला आउने गरी जमानीमा छाडेका छौ’ उनले भने ।
धौलेपानी काठ कटानीमा कैलाली डिभिजनले कार्यालयसित समन्वय नगरेको उनले बताए ।
‘वन ऐनमा एक जिल्लाको काठ अर्कोले काट्न पाउने व्यवस्था छैन’ उनले भने, ‘अहिले अनुसन्धान हुँदैछ, त्यसका आधारमा के हुन्छ, त्यो निर्देशनालयले गर्छ ।’

साउन १४ गते कृष्णपुर नगरपालिका २ स्थित स्थानीयको घर अगाडि बाटोमा काठ लोड गरिएको ट्रयाक्टर छाडिएको हल्ला आएपछि काठ बरामद गरिएको थियो ।
काठ बरामद भएपछि सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयले डिभिजन वन कार्यालय कंचनपुरका वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टलाई छानविनको लागि जिम्मा दिएको थियो ।
भट्टले रुख कटान गरिएको धौलेपानी राष्ट्रिय वन क्षेत्रमा पुगेर अनुसन्धान गरी सात दिनभित्र निर्देशनालयमा छानविन प्रतिवेदन पेश गरेका थिए ।
दिपेन्द्र सामुदायिक वनका अध्यक्ष पुस्कर चन्दले सब डिभिजन बाणीका प्रमुख भरत शाहको मौखिक निर्देशनमा गोलिया घाटगद्दी गर्न दिइएको अनुसन्धान समितिलाई जानकारी गराएका थिए ।
कैलाली डिभिजनले पनि काठ कटान सम्बन्धि जानकारी नदिएर घाटगद्दीसम्म पुगाएको थियो । धौलेपानी काठ कटान बाणी सव डिभिजन प्रमुख साहसित सम्पर्कमा रहेको गरिएको वन अधिकारकर्मी बताउँछन् ।
काठ कटान सम्बन्धि जानकारी भएर शाहले घाटगद्दीका लागि निर्देशन दिएको बताइन्छ ।
कैलाली धनगढीको जलपादेबी समिलले काठ कटान अनुमति पाएको थियो । त्यो मिलले अत्तरियाको अर्को मिललाई जिम्मा दिएपछि त्यही मिलले स्थानीयलाई काठ ढुवानीको जिम्मा दिएको थियो ।
डिभिजन वन कार्यालयका अनुसार कैलाली डिभिजनले फागुनमा छपान र मूल्याङ्कन गरी चैत २९ गते वन पेशी दिएको थियो ।
कटान गरिएको रुखलाई त्यसपछि कटान क्षेत्र बाहिर घाटगद्दी गर्न पाउने र त्यस अवधिमा हुन नसके क्षेत्रीय वन निर्देशनालयको अनुमति लिएर जेठमा घाटगद्दी गर्न सकिने व्यवस्था छ ।
धौलेपानी काटिएको काठ साउनमा मात्रै घाटगद्दीका लागि ल्याइएको हो । घाटगद्दी गर्न ल्याएको काठसित निर्देशनालयको पत्र नभएको अनुसन्धान क्रममा भेटिएको छ ।
कैलाली डिभिजन वन कार्यालयले हाल सम्म रुख काटिएको जानकारी अनुसन्धान टोलीलाई उपलब्ध गराएको छ ।
कैलाली डिभिजनले रुख कटान सम्बन्धि जारी पत्रमा त्यस क्षेत्रलाई केलागाड धौलेपानी भनेर उल्लेख गरेको छ ।
केलागाड कैलालीमै पर्छ । कंचनपुरको वन क्षेत्र समेत पर्ने गरी त्यहा २ सय ७१ हेक्टर वन समुदायलाई हस्तान्तरण गरिएको छ ।
यो वनको ९४ हेक्टर वन क्षेत्र कंचनपुरमा पर्छ । त्यस सिद्ध बैजनाथ सामुदायिक वनमा पनि रुख कटान गरिएका थिए । कैलाली डिभिजन वनले कटान आदेश दिएको थियो ।
अहिले कैलाली डिभिजनले कंचनपुरको वन क्षेत्रभित्र आएर कटान गरेको छ । रुख कटान गरिएको क्षेत्र कैलाली सीमा भन्दा नजिकमा चार सय र बढीमा एक किलोमीटर दुरीमा छ ।
काटिएको भनिएका ६६ रुखका २ सय गोलिया बाणी डिभिजन र बाकी १ सय ८ वन क्षेत्रमा छन् ।
डिभिजन वन कार्यालय कंचनपुरले वरिष्ठ वन अधिकृत बिशेश्वर प्रसाद जोशीलाई अनुसन्धानको जिम्मा दिएको छ । जोशीले अझै प्रतिवेदन बुझाएका छैनन् ।
बर्खा याम भएकाले धौलेपानी पुग्न सहज छैन । चुरेसित जोडिएको धौलेपानीमा सालको घना जङ्गल छ । कटान गरिएको जङ्गल पुग्न आधा घण्टा दुरीमा चार गोठ छन् ।
कृष्णपुर नगरपालिका १ को निगाली र ४ को सिस्ने सिमसार क्षेत्र धौलेपानी पुग्न सकिन्छ । सिस्ने सिमसार क्षेत्रमा हात्ती बास बसेकाले अहिले यो बाटो हिँडडुन गर्न सकिएको छैन ।
