
भोटेकोशी त्रिशूली बाढी पीडितका लागि विद्यालय प्राङ्गणमा धार्मिक महोत्सव लगाएर सहयोग जुटाउँदै गुरुकुल इन्टरनेशनल स्कुल

महेन्द्रनगर । भदौ १० गते भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीले देश शोकमग्न छ । पाँच सय भन्दा बढी शव फेला परेका छन् । एक हजार भन्दा बढी सम्पर्क बिहिन छन् । सयौ घाइते छन् ।
भौतिक संरचना क्षतिको विवरण अझै यकिन हुन सकेको छैन । अर्बौको क्षति भएको अनुमान गरिएको छ । विनाशकारी विपद्मा परेका वासिन्दाको खोजी, उद्धार तथा राहतका लागि विभिन्न क्षेत्रले सहयोग गर्र्ने क्रम दैनिक बढेको छ ।
संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न थालिएको छ ।
भीमदत्त नगरपालिका २ भाँसीस्थित गुरुकुल इन्टरनेशनल स्कुलले विद्यालय प्राङ्गणमा धार्मिक महोत्सव गरी बाढी पीडितका लागि सहयोग जुटाउने तयारी गरेको छ ।
बिहीबारदेखि एक सातासम्म दिव्य श्रीकृष्ण लीला गौरा पर्व धार्मिक महोत्सव आयोजना गर्न लागिएको हो ।
लोक कल्याणकारी सेवा ट्रस्टको सहकार्यमा महोत्सव आयोजनाको तयारी अघि बढेको छ । यो ट्रस्टका अध्यक्ष हरिशरण महाराज छन् ।
महोत्सवमा हरि शरण महाराज मुख्य कथावाचक हुने छन् । हरि शरण महाराजको सल्लाहमा विद्यालयमा महोत्सव हुन लागेको छ ।
‘अहिले देश आपत विपद्को अवस्थामा छ, सबैले क्षेत्रबाट सहयोग भएको छ, यो बेलामा विद्यालयले पनि केही सहयोग गर्न सकिन्छ भनेर गौरा पर्वको अवसर पारी यो महोत्सव आयोजना गर्ने तयारी गरि रहेका छौ’ मंगलबार विद्यालयमा गरिएको पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य खेमलाल घिमिरेले भने, ‘यसबाट संकलन हुने सबै सहयोग बाढी पीडितलाई सहयोग गर्छौ ।’

बाढी पीडितका लागि सहयोग संकलनसंगै विद्यार्थीहरुलाई महोत्सवबाट गौरा पर्वको मौलिक महत्व थाह हुने घिमिरे बताउँछन् ।
गौरा पर्वमा नाचगान सहित मनोरञ्जनका कार्यक्रम गर्नको सट्टा महोत्सव गरी सहयोग संकलन गर्न थालिएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा हरि शरण महाराजले महोत्सवमा सहभागी सबै भक्तजनले आफ्नो इच्छा अनुसार सहयोग गर्ने विश्वास व्यक्त गरे ।
‘यो विद्यालय त हो नै हो, त्यसमा गुरुकुल भनेको गुरु मात्रै बस्ने पवित्र संस्था रहेछ, मैले यस्तै स्थान खोजि रहेको थिए’ उनले भने,‘यो पवित्रमा संस्था पाए, यसका लागि म यसको सबै टीमलाई धन्यवाद दिन चाहन्छु ।’
महोत्सवमा १००८ शालिग्रामको पूजाआजा गर्ने कार्यक्रम पनि राखिएको छ ।
बिहीबार साँझ मौन धारणा, दिवंगत सबैको आत्माको शान्तिको कामना गरी महोत्सव सुरु हुनेछ । त्यसपछि महाआरती लगायतका अन्य कार्यक्रम गरिने जानकारी दिइएको छ ।
महोत्सव अन्र्तगत दैनिक बाढीमा परी ज्यान गुमाएका सबैमा श्रद्धाञ्जली दिइने कार्यक्रम राखिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर चन्दले राष्ट्र विपद्ले शोकमा डुबेका बेला सहयोग गर्न सबैको कर्तव्य भएको उल्लेख गर्दै महोत्सवले पीडितलाई सहयोग पुग्ने विश्वास गरिएको बताए ।

