

महेन्द्रनगर । भोटेकोशी त्रिशूली बाढी पीडित तथा प्रभावितलाई मेगा बचत तथा ऋण सहकारी संस्थाले एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । संस्थाको प्राकृतिक प्रकोप राहत शीर्षकबाट सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ ।
सहकारीका अध्यक्ष रघुनाथ भट्टले विज्ञप्ति जारी गर्दै भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा घाइते, विस्थापित तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र सहज जीवनयापनको कामना गरिएको छ। विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थाले आर्थिक सहयोग गरेको भट्टले बताएका छन् ।
सहकारीले विपद्बाट पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिमा सहयोग, सद्भाव र मानवीय सेवामा सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत अपिल गरेको छ।

