
भोटेकोशी बाढीले वेपत्ता छोरा खोजीका लागि काठमाडौं गएर साँसददेखि मन्त्रीसम्म धाई रहेका कृष्णपुरका नन्द किशोर

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरहेका छन् ।
भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहेका छन् उनले । छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उनको दुखेसो छ ।
“छोराको सास कि लाश भए पनि पाउँला भनेर काठमाडौँ पुगेको छु”, उनले भने, “घरपरिवारमा सन्नाटाकाबीच यहाँँ आए तर छोराको खोजी हुँदैछ भन्ने खबरबाहेक केही पाइन ।”
माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा मजदुरी गर्दै आएका क्रिकेशनको अवस्था बाढीपछि अज्ञात छ। “घरमा नाबालिक नातिनी छ । बुहारीसँगै परिवारकै जीवनयापन गर्ने भरोसाको पत्तो छैन”, रानाले भने, “छोराकै कमाइले परिवार थानिएको थियो । अब के गर्ने हो सोच्नै सकिएको छैन ।”

उनका छोरा विगत एक वर्षदेखि रसुवामा काम गर्दै आएको बताए। “आउने जाने गरेर आयोजनामा काम गर्न थालेको एक वर्षभन्दा बढी भइसकेको थियो”, उनले भने, “हाम्रो त परिवारभित्रकै तीन जना सदस्य सम्पर्कविहीन हुँदा परिवारमा बज्रपात भएको छ ।”
गाउँमा आफूसित भएको चारकट्ठा जमिनमा खेती गरेर अन्नपातको जोहो गर्दै आएका रानाले छोराको अवस्थाबारे कुनै जानकारीसम्म नपाएको दुखेसो पोखे । “घरकै आर्थिक अवस्था कमजोर हुँदा छोरालाई मजदुरीका लागि यसअघि भारत पनि पठाए”, उनले भने, “बाह्र दिनदेखि छोराको स्वर सुन्न नपाउँदा आमा घरमा बिलौना गर्दै छ ।”
कृष्णपुर नगरपालिका–३ का क्रिकेशन रानासँगै कालु राना र रिकेश राना सम्पर्कविहीन भएको कालु रानाका भतिजा सोहन रानाले बताए ।
“कसैको फोन आयो कि सम्पर्कविहीन भेटियो कि जस्तो लाग्छ”, रानाले भन्नुभयो, “तीन जना आफन्त हराउँदा परिवारमा आँशुबाहेक केही छैन। हराएका तीन जनाकै छोरा छोरी नाबालिक छन् ।”
“तीन जना नै केही समयअघि धानखेती गरेर काम गर्न गएका थिए”, उनले भने, “परिवारको खर्च चलाउने, दैनिकी सहज बनाउने घरका खम्बा नै ढलेजस्तो सन्नाटा छ।”
साभार : दिनेश खबर
