

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–११ मा आयोजित गौरा पर्व तथा तीज विशेष कार्यक्रमले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएको छ ।
वडा कार्यालयले आयोजाना गरेको कार्यक्रममा अध्यक्ष शेरबहादुर साउदले देउडा र तीजजस्ता सांस्कृतिक पर्वले पुस्तौँदेखि चलिआएको परम्परा जोगाउनुका साथै समुदायबीचको सम्बन्ध र सामाजिक एकता बलियो बनाउने बताए ।
गीता देवी ऐरको सभापतित्वमा आयोजित कार्यक्रममा अध्यक्ष साउदले आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति ओझेलमा पर्न सक्ने भएकाले नयाँ पुस्तालाई आफ्नो कला, संस्कार र परम्परासँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
उनले स्थानीय स्तरमा हुने सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।


तीज महिलाको सामाजिक तथा सांस्कृतिक अभिव्यक्तिसँग जोडिएको पर्वका रूपमा लिइन्छ । तीजका गीत, नृत्य र सामूहिक भेटघाटले महिलाबीचको आत्मीयता, दुःख–सुख साटासाट तथा सामाजिक सम्बन्ध विस्तारमा भूमिका खेल्दै आएको छ ।
त्यस्तै सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिको पहिचान बोकेको देउडाले गीत, प्रश्न–उत्तर, नृत्य र सामूहिक प्रस्तुति मार्फत स्थानीय जीवन, भोगाइ र सामाजिक विषयलाई अभिव्यक्त गर्ने गर्दछ ।
कार्यक्रममा कार्यपालिका सदस्य शान्ति ऐर, वडा सदस्य कमला कामी, जैसिंह राना, पूर्व वडा सदस्य जयबहादुर विष्ट, शिवराज भट्टलगायतको उपस्थिति थियो ।
श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष अमरबहादुर ऐर, बसन्त सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रनसिंह सुनार तथा अमरपुर–कलुवापुर खानेपानीका कोषाध्यक्ष टेक भण्डारी लगायत पनि सहभागी थिए ।
कार्यक्रममा प्रहरी, समाजसेवी, देउडा गायक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रम दुई दिन सम्म सञ्चालन हुने छ ।
देउडा र तीजजस्ता मौलिक सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन सके नयाँ पुस्तामा आफ्नो संस्कृति र पहिचानप्रतिको अपनत्व बढ्ने स्थानीयको भनाइ छ ।
