

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी संगिता बडुको घट्ना सम्बन्धि छानबनि गर्न समिति बनाएको छ ।
सु्दूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट टीकापुर अस्पतालका चिकित्सकको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधि सदस्य राखिएका छन् ।
भीमदत्त नगरपालिका १० सुकासालकी बडुको भदौ २६ गते उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
सर्पले टोकेको भन्दै भदौ ५ गते राति २ बजे अस्पताल आएकी बडुको अस्पतालको सघन उपचार कक्षमा भेन्टिेलटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको थियो ।

मृत्युपछि बडुका परिवारले चिकित्सको लापरवाहीले मृत्यु भएको भन्दै छानबिनको माग गर्दै आएका थिए । उनीहरुले अहिलेसम्म संगिताको शव बुझेका छैनन् ।
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष महेश प्रसाद पन्तले सामाजिक विकास मन्त्री स्तरीय निर्णयबाट समिति गठन गरिएको जानकारी दिए ।
‘वहाँहरुले लापरवाहीले मृत्यु भएको भन्ने छ, असपतालले उपचारमा कुनै पनि कमी गरेको छैन, यसबारे छानबिन गर्न समिति बनेको छ’ उनले भने ।
बडुको मृत्यु भएपछि अस्पताल प्रशासन, व्यवस्थापन समिति र पीडित पक्षबीच पटक पटक छलफल भएको थियो ।
अस्पतालका अध्यक्ष पन्तले छानबनि समितिको प्रतिवेदन आएपछि अस्पताल त्यसका आधारमा अघि बढ्ने बताए ।
तीन दिन अघि अस्पतालमा भएको छलफमा अस्पताल प्रशासनले पीडित परिवारसित कानुनी प्रक्रिया जान वा छानबनि समिति गठनमा तयार भएको बताएको थियो ।
त्यसपछि फेरि जिल्ला प्रशासन, अस्पताल प्रशासन र व्यवस्थापन समिति सहित पीडित पक्षसित छलफल भएको थियो ।
