
धौलेपानी कटान प्रकरण : अर्को छानबिन समिति बनाएर के चाहन्छ वन निर्देशनालय, दराजमा राखिएको कटान सम्बन्धि प्रतिवेदनमै छ गम्भीर क्षेत्राधिकार उल्लङ्घन

महेन्द्रनगर । सुदूरपश्चिम सरकारको वन निर्देशनालयमा बुझाइएको धौलेपानी कटान प्रकरण सम्बन्धि छानबिन प्रतिवेदनले कैलाली वन डिभिजनको क्षेत्राधिकार उल्लङ्घनको गम्भीर घट्ना भनेको बताइएको छ ।
कैलाली वन डिभिजनले गत आर्थिक वर्षमा कृष्णपुर नगरपालिका ४ मा पर्ने धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट काठ कटान गर्न लगाएको थियो ।
कञ्चनपुर वन डिभिजनलाई जानकारी समेत नदिई काटिएको काठ बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि ल्याएपछि साउन १५ गते बरामद भएको थियो ।
काठ बरामद भएपछि सुदूरपश्चिम वन निर्देशनालयले कञ्चनपुर वन डिभिजन कार्यालयका तत्कालिन वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टको नेतृत्वमा छानबिन समिति गठन गरेका थियो ।
भट्ट नेतृत्वको छानबिन समितिले साउन २५ गते निर्देशनालयमा बुझाएको प्रतिवेदनमा धौलेपानी प्रकरण समान्य प्राविधिक त्रुटी नभएको औल्याउँदै क्षेत्राधिकार उल्लङ्घनको गम्भीर प्रकरण भएको निष्कर्ष निकालिएको छ ।
निर्देशनालयले अभैmसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । प्रतिवेदन कार्यान्वयन गरी निर्देशनालयले भदौ १५ गते डिभिजन वन कार्यालय कञ्चनपुरलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको थियो ।
वन निर्देशनाय स्रोतका अनुुसार प्रतिवेदनले धौलेपानीमा काटिएको काठ कञ्चनपुरमा पर्ने प्रष्ट पारेको छ । प्रतिवेदनमा धौलेपानीमा भेटिएको काठ र बरामद काठको जिआइस नक्साङ्कन कञ्चनपुरमै देखिएको छ ।
बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनबाट बरामद सहित काठलाई कैलालीको गोदावरी नगरपालिका १२ स्थित केलागाड धौलेपानी वन क्षेत्रबाट कटान भएर निकासी भएको जानकारी दिइएको थियो ।
काठ बरामद हुँदा काठ घाटगद्दी सम्बन्धि कुनै पनि कागजात नभेटिएको तथा घाटगद्दीका लागि कञ्चनपुरसित समन्वय नगरिएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदमा काठ घाटगद्दीका लागि बाणी सव डिभिजनका तत्कालिन प्रमुख भरत प्रसाद साहले मौखिक आदेश दिएको पाइएको उल्लेख गरिएको स्रोतले जानकारी दियो ।
भट्ट प्रतिवेदनले घाटगद्दीको मौखिक निर्देशन दिने साह सहित छपान कटान प्रक्रियामा संलग्न सबैमाथि कारवाही गर्न सिफाशि गरेको छ ।
सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकारी भोजराज पाठकले छानबिन सकिएपछि कारवाही प्रक्रिया अघि बढ्ने बताएका छन् ।
‘अहिले पनि उक्त विषय छानबिनकै क्रममा छ, निर्देशनालयको प्रतिवेदन आएपछि दुवै डिभिजन वन कार्यालयलाई आफ्नो छानबिन अनुसन्धान गरेको प्रमाण पेश गर्न पत्राचार गरिएको छ,’ उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकारी भोजराज पाठकले भने, ‘दुवैको प्रतिवेदन आएपछि थप कारवाही प्रक्रिया अघि बढ्छ ।’

वन निर्देशनालयले निर्देशन दिएपछि डिभिजन वनल सव डिभिजन वन कार्यालय ब्रहृमदेवका प्रमुख रणेन्द्र सिंहको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । भदौ १८ मा १५ दिनको समय दिएर छानबिन समिति गठन गरिएको हो ।
‘निर्देशनालयले छानबिन गरेको प्रतिवेदनमा तल्लो क्षेत्रमा कटान भएको विषय मात्रै समावेश भएको छ, चुरको माथिल्लो क्षत्रेमा पनि रुख कटान नभएको आशंका छ, त्यसकै छानबिनकालागि समिति बनाएका हौं,’ डिभिजन वन कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘अहिले जंगलमा हात्ती आतंकसँगै बर्खाका कारण जान सकिएको छैन, केही दिन बर्खा रोकिएपछि र हात्ती पनि अन्त गएपछि सहज हुनेछ ।’ उनले आवश्यक परेमा म्याद थप पनि गर्न सकिने बताए ।
साउन दोस्रो साता डिभिजन वन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरीको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ बाणीस्थित दीपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दी गरिएको ६४ गोलिया सालको काठ बरामद गरेको थियो ।
यसैगरी कृष्णपुर नगरपालिका–१ बण्डमा रातिको समयमा ३ वटा ट्याक्टरमा ढुवानी भइरहेको अवस्थामा १ सय १९ गोलिया र सोही वडाको निगालीमा सडक किनारमा फालिएको अवस्थामा ३३ गोलिया सालको काठ बरामद गरेको थियो ।
विभिन्न स्थानबाट गरेर २ सय १६ गोलिया १ हजार ४७० क्युफिट काठ बरामद गरिएको छि । धौलेपानी क्षेत्रमा अहिले पनि १ सय ८ गोलिया अलपत्र अवस्थामा रहेको सव डिभिजन वन कार्यालय बाणीले जनाएको छ ।
डिभिजन वन कार्यालय कैलालीले धौलेपानी क्षेत्रमा १ सय ७९ रुखमा कटानका लागि छपान गरेको थियो । जसमध्ये ६६ रुख काटिएको प्रतिवेदनले देखाएको छ ।
कैलाली डिभिजन वनले कटान क्षेत्रलाई सीमा विवादित भनेर उल्लेख गरी जानकाी दिए पनि प्रतिवेदनमा काटिएको रुखको जीपीएस स्थित ४ सयदेखि १ हजार १ सय ५० मिटर कञ्चनपुरभित्र पाइएको छ ।
प्रतिवेदनले कञ्चनपुर सीमा भित्र आएर रुख छपान तथा कटान गरिएकाले सम्बन्धित निकायको क्षेत्राधिकारको कानुनी परीक्षण गर्न समेत सुझाव दिएको छ ।
धौलेपानी कटान अहिलेको विषय मात्रै नभएर यस अघि काटिएको खयर काठ तथा सामुदायिक वन विस्तार क्षेत्रसंग समेत सम्बन्धित भएकाले त्यस कार्यको समेत छानबिन गर्नु पर्ने प्रतिवेदनमा समावेश छ ।
कैलाली वन डिभिजनले गरेको छपान तथा कटान वन ऐन २०७६, वन नियमावली २०७९, वन पैदावार संकलन तथा बिक्री निर्देशिका २०७३ मा भएका सबै कानुनी प्रावधान मिचिएको ठहर गरिएको छ ।
‘राष्ट्रिय वन क्षेत्र कटान, चार किल्ला निर्धारण, काठको टाँचा तथा चलान पूर्जी, जिपिएस अवस्थिति, घाटगद्दी, घाटगद्दी थप, छपान रद्द लगायतका कुनै पनि प्रक्रियाहरु पालना गरिएको देखिएको छैन’ प्रतिवेदनमा छ ।
प्रतिवेदनमा कैलाली वन डिभिजन प्रमुख राम विचारी ठाकुरले सीमा विवादबारे जानकार हुँदा हुँदै धौलेपानीमा काठ कटान गराएको समावेश गरिएको छ । ठाकुर २०८२ भदौ ५ गते कञ्चनपुरबाट कैलाली सरुवा भएका थिए । कञ्चनपुर प्रमु्ख हुँदा सीमा विवाद हल गर्न उनी आफैंले छलफल गरेका थिए ।
कैलाली गएपछि सीमा विवादबारे जानकारी नभएको भन्दै उम्किन सक्ने आधार नभएको प्रवितेदनले औल्याएको छ ।
धालेपानीको कटान भएको वन क्षेत्र स्थलगत निरीक्षण गरी छपान भएका गरिएका सहित अन्य हानी नोक्सानी सबैको यकिन गरी आवश्यक कारवाहीका लागि प्रतिवेदनमा सुझाव दिइएको छ ।
कैलालीको जलादेबी सःमिलाई काठ दिएर कटान गरिएको छ । कटान गरिएको काठ गोदावरी नगरपालिकाको बडि मालिका सामुदायिक वनमा घाटगद्दी गर्ने स्थान तोकिए पनि साउनमा कानुन मिचेर दिपेन्द्र स्मृति सामुदायिक वन पुगाइएका थिए ।
