
महाकाली यातायातको निर्वाचनमा क्षेत्रीयताको नारा लागेपछि दुःखी छन् अध्यक्षका उम्मेदवार बिष्णु कँडेल, भन्छन् – हारजित स्वभाविक हो, तर नतिजा घोषणा हुने बित्तिक्कै पचाउन नसकिने नारा लगाइयो

महेन्द्रनगर । महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रा.लि.को निर्वाचनमा सोमबार राति नविन भट्ट निर्वाचित भएपछि समर्थकहरुले बैण्डबाजा सहित खुसीयाली मनाएका थिए ।
मत गणना सुरु भएपछि भट्ट र अर्का उम्मेदवार बिष्ण कँडेलका समर्थक मत गणनास्थल बाहिर बसेका थिए । निर्वाचनमा कँडेल पाँच मतले पराजित भए । भट्टले १ सय ७५ र कँडेलले १ सय ७० मत ल्याए ।
कडा प्रतिस्पर्धा भएका दुबै जनाबीच गणनाका क्रममा रोचक प्रतिस्पर्धा समेत भयो । दुई सय मत गणना हुँदासम्म भट्ट र कँडेल आलोपालो एक एक मतले अघि पछि भए ।
निर्वाचन समितिले अन्तिम नतिजा घोषणापछि भट्टका समर्थकले लगाएका नारा अहिले विवादित भएका छन् ।
भट्टको जितमा खुसीयाली मनाउँदै उनीहरुले क्षेत्रीयताको नारा लगाएपछि यातायात व्यवसायमा तरङ्ग फैलिएको छ ।
अध्यक्षका उम्मेदवार कँडेलले सामाजिक सञ्जालबाट क्षेत्रीयताको नारालाई दुःखद भन्दै असन्तुष्टि पोखेका छन् ।
सामाजिक सञ्जालमा लामो स्टयाटश लेख्दै उनले समाजले पचाउन नसकिने नाराबाजी गरिएको भन्दै निर्वाचित अध्यक्ष भट्टलाई जिम्मेवारी लिन आग्रह गरेका छन् ।
कँडेलले नाराबाजीका क्रममा नबिन भट्ट हाई हाई, पूर्वे जति बाइबाई भन्ने नारा लगाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

निर्वाचनमा हार जित स्वभाविक भएको उल्लेख गर्दै कँडेलले व्यवसायी कुनै धर्म, क्षेत्र, लिङ्ग, जातपातसित सम्बन्धित नहुने भएकाले क्षेत्रीयताको नारा आफूले पचाउन सके पनि समाज र व्यवसायी चिन्तित बन्न पुगेकोमा चिन्ता व्यक्त गरेका छन् ।
‘सौहार्द पूर्वक निर्वाचन सम्पन्न भयो । ५ मतले नविन भट्ट निर्वाचित हुनु भयो जित हार स्वभाविक प्रक्रिया हो । स्वीकार्न पर्छ । तर दुःखद कुरा भट्टजीको घोषणा हुने बित्तिकै यो समाजले पचाउनै नसकिने गरी नविनजीका समर्थकले नाराबाजी शुरु गरे, नारा थिए ( नविन भट्ट हाइ हाइ पुर्बे जति बाइ बाइ ) यस्ता गतिविधिले यो समाज कतातिर गै राखेको छ भन्ने कुराको डर हो ,व्यवसायी गर्नै व्यक्ति कुनै जात, वर्ग, ,धर्मबाट छुट्टिएको हुँदैन । व्यक्तिगत रुपमा विष्णु कँडेलले यस्ता कुरा पचाएर जान सक्छ तर अन्य धेरै व्यवसायी छन्, हिजोको त्यो गतिविधिबाट चिन्तित छन्, हिजो त्यो नाराको पूर्ण जिम्मेवारी नविन भट्टजीले लिनु पर्छ’ कँडेलले भनेका छन् ।
कँडेल तत्कालिन महाकाली सेती यातायात समितिमा सदस्य, पदाधिकारी हुँदै नेतृत्वका लागि चुनाव लडेका हुनु । उनी २०६१ मा पहिलो पटक समिति सदस्य भएका थिए ।
त्यसपछि सचिव, महासचिव हुँदै उनी समितिमा उपाध्यक्ष भएका थिए । अहिले कम्पनी अध्यक्षका लागि कँडेल प्रतिस्पर्धामा उत्रिएका थिए ।
भीमदत्त नगरपालिका १५ का कँडेल यातायात व्यवसायीमा भद्र, तार्किक क्षमता भएका र उर्जावान व्यवसायीका रुपमा परिचित छन् ।
यातायात व्यवसायलाई हेर्ने राज्यको दृष्टिकोणले व्यवसायीहरु धराशायी बन्दै गएकाले त्यस विरुद्ध लड्न कँडेलले नेतृत्वमा उम्मेदवारी दिएको बताएका थिए ।
सिद्धनाथ विज्ञान क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका कँडेल पुख्र्र्यौली यातायात व्यवसाय भएका परिवारमा जन्मिएका हुन् ।
२०३३ मा जन्मिएका कँडेल २०५१ मा कञ्चन विद्या मन्दिरबाट एसएलसी गरेका थिए ।
