

महेन्द्रनगर । काँग्रेस कञ्चनपुर २ मा सहमतिका लागि गरिएका प्रयास आइतबार पनि विफल भएका छन् । शनिबार झलारीमा अधिवेशन उद्घाटनपछि उम्मेदवारी दर्ता भएको थियो ।
क्षेत्रीय समिति, प्रदेश समिति, महाधिवेशन प्रतिनिधि र महासमितिमा आवश्यक संख्या भन्दा बढी उम्मेदवारी परेपछि सहमतिका लागि प्रयास थालिएको थियो ।
शनिबारदेखि थालिएको प्रयास आइतबार दिनभर निरन्तर भए पनि सफल नभएको नेताहरु बताउँछन् । सहमति हुन नसके सोमबार निर्वाचन हुन सक्ने बताइएको छ ।
काँग्रेस कञ्चनपुरका पूर्व सभापति हरि प्रसाद बोहरा, बेदकोटका मेयर भोजराज बोहरा लगायत नेताहरु सहमतिका लागि उम्मेदवारसित छलफलमा छन् ।

उनीहरु दुबै महाधिवेशन प्रतिनिधिका पनि उम्मेदवार छन् । काँग्रेस पूर्व सभापति बोहराले अधिवेशन उद्घाटन गरेका थिए ।
कञ्चनपुर २ मा क्षेत्रीय सभापतिमा लाल बहादुर सिह र पुष्पराज भट्ट उम्मेदवार छन् । निर्वाचन क्षेत्र २ का दुबै प्रदेशको सभापतिमा दुई दुई जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. २ ख मा चित्रदेब भट्ट र दिपक बोहरा प्रदेश सभापतिका उम्मेदवार छन् । बेदकोट नगरपालिकाका प्रवक्ता भट्ट ५ नम्बर र बोहरा ९ नम्बरका हुन् ।
प्रदेशका उप सभापति र सचिव भने निर्विरोध भएका छन् । यसैगरी प्रदेश क मा प्रदेश सभापतिका दुई उम्मेदवार छन् ।
क्षेत्र र प्रदेशमा २÷२ उम्मेदवार भएपछि सहमतिका लागि नेताहरु बसेका हुन् ।
काँग्रेस महाधिवेशन प्रतिनिधिका लागि ६१ नेता मैदानमा आएका छन् । कञ्चनपुर २ बाट ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।
