

महेन्द्रनगर । सुदूरपश्चिम सरकारको वन निर्देशनालय आफंैले बनाएको छानबिन समिति प्रतिवेदनलाई कार्यान्वयन गरी संलग्न वन अधिकारीको जिम्मेवारी हेरफेर गरी थामथुम पार्ने खेलमा अघि बढेको छ ।
कैलाली वन डिभिजनले क्षेत्राधिकार मिचेर कञ्चनपुरको धौलेपानीमा काठ काट्न लगाएपछि साउन दोस्रो साता वरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
भट्ट नेतृत्वको छानबिन समितिले साउन २५ गते कैलाली वन डिभिजनले गम्भीर क्षेत्राधिकार मिचेर कञ्चनपुरमा रुख काट्न लगाएको निष्कर्ष सहित संलग्न सबैलाई कारवाही गर्न सिफारिश सहित प्रतिवेदन बुझाएको थियो ।
निर्देशनालय आफैंले प्रतिवेदन बुझेर हालसम्म कैलाली डिभिजनका प्रमुख राम विचारी ठाकुर सहित अत्तरिया सव डिभिजन र बाणी सव डिभिजन प्रमुखको जिम्मेवारी मात्रै हेरफेर गरेको छ ।
कैलाली वन डिभिजन प्रमुख ठाकुरलाई वन मन्त्रालय तानिएको छ । अत्तरिया प्रमुख कृष्ण बोहरा र बाणी प्रमुख भरत प्रसाद साहलाई अर्को डिभिनमा सरुवा गरिएको छ ।
आफ्नै क्षेत्रमा वनमा कटान हुँदा समेत चुपचाप बसेका साह साउन १३ गते काठ घाटगद्दीका लागि सामुदायिक वनलाई निर्देशन दिएर विदा बसेका थिए । उनलाई शुक्लाफाँटा सव डिभिजन पुगाइएको छ ।
निर्देशनालयले प्रतिवेदन बुझेर भदौ १५ गते फेरि अर्को समिति बनाएर छानबिन गराउन कञ्चनपुर डिभिजनलाई निर्देशन दिएको थियो ।
त्यसपछि साहको जिम्मेवारी खोसेर ब्रह्मदेब सव डिभिजन प्रमुख निरञ्जन कडाललाई बाणीको जिम्मेवारी दिइएको छ ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय तानिएका ठाकुर २०८२ भदौमा कञ्चनपुरबाट कैलाली सरुवा भएका थिए । उनी कैलाली हाजिर भएको एक महिनापछि धौलेपानीमा काठ कटान प्रक्रिया थालिएको थियो ।

अहिले कैलाली डिभिजन जीवच्छ यादवलाई निमित्तको जिम्मेवारी दिईएको छ ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले छानबिन प्रतिवेदन अनुरुप उक्त बरामद गरिएको काठ कञ्चनपुरकै रहेको निष्कर्ष निकालेको बताएका थिए ।
वन प्रशासनका पूर्व अधिकारीहरु प्रतिवेदनले दोषी किटान गरी कारवाहीको सिफारिश गरिएका व्यक्तिको जिम्मेवारी क्षेत्र हेरफेर गरिनु राम्रो संकेत नभएको बताउँछन् ।
उनीहरुका अनुसार प्रतिवेदन अनुसार कारवाही सिफारिश गरिएका व्यक्तिमाथि कञ्चनपुर डिजिभनले तत्काल फौजदारी अभियोगमा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया थाल्नु पर्ने हुन्छ । निर्र्देशनालयले कानुनी कारवाही भन्दा वन नियमावली अनुसारका अन्य कारवाही गर्न सक्नेछ ।
कृष्णपुर नगरपालिका ४ मा पर्ने धौलेपानी राष्ट्रिय वन क्षेत्रबाट काठ कटान गर्न लगाएको थियो । त्यसपछि दोस्रो साता कञ्चनपुर वन डिभिजनलाई जानकारी नदिई बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दीका लागि ल्याएपछि साउन १५ गते बरामद भएको थियो ।
कैलालीको गोदावरी नगरपालिका १२ स्थित केलागाड धौलेपानी वन क्षेत्र भन्दै काठ काट्न ठेक्का दिइएको थियो ।
चलान पूर्जी र कञ्चनपुर वन डिभिजनसित समन्वय नगरिएको काठ बाणी सव डिभिजन वनका तत्कालिन प्रमुख भरत प्रसाद साहले घाटगद्दीका लागि मौखिक निर्देशन दिएका थिए ।
उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय सुदूरपश्चिमका सूचना अधिकारी भोजराज पाठकले गत महिना छानबिन सकिएपछि कारवाही प्रक्रिया अघि बढ्ने बताएका थिए ।
साउन दोस्रो साता डिभिजन वन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरीको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ बाणीस्थित दीपेन्द्र स्मृति सामुदायिक वनमा घाटगद्दी गरिएको ६४ गोलिया सालको काठ बरामद गरेको थियो ।
यसैगरी कृष्णपुर नगरपालिका–१ बण्डमा रातिको समयमा ३ वटा ट्याक्टरमा ढुवानी भइरहेको अवस्थामा १ सय १९ गोलिया र सोही वडाको निगालीमा सडक किनारमा फालिएको अवस्थामा ३३ गोलिया सालको काठ बरामद गरेको थियो ।
कैलाली डिभिजन वनले कटान क्षेत्रलाई सीमा विवादित भनेर उल्लेख गरी वन कार्यालयमा पत्र पठाए पनि काठ काटिएको स्थानको जीपीएस स्थित ४ सयदेखि १ हजार १ सय ५० मिटर कञ्चनपुरभित्र पाइएको छ ।
