

महेन्द्रनगर । काँग्रेस नेता गोपाल गुरुङ्गले १५ औ महाधिवेशनका लागि कञ्चनपुर ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि सामाजिक सञ्जालमा पराजित तीन नेताका नाम लेखेर गुनासो सहित आफ्नो धारणा व्यक्त गरेका थिए ।
तारिणीदत चटौंत, गोपाल भण्डारी, तारा दत्त अवस्थी जस्ता पुराना नेता ले पार्टीको सेवा गर्ने अवसर माग्दा कार्यकर्ता ले सहयोग गर्दा राम्रो देखिन्थ्यों नेता गुरुङ्गले लेखेका छन् ।
काँग्रेस महाधिवेशनको खुलामा चटौत, भण्डारी र अवस्थी खुलामा पराजित भएका थिए । खुलामा १० महाधिवेशन प्रतिनिधिका लागि २० जनाबीच प्रतिस्पर्धा भएको थियो ।
कञ्चनपुर ३ बाट १५ औ महाधिवेशनका लागि ३३ प्रतिनिधि निर्वाचित भएका छन् । उनीहरूमध्ये केही क्लस्टरमा निर्विरोध भएका थिए ।
नेता गुरुङ्गले कार्यकर्ताले सहयोग गरी जिताउनु पर्ने आग्रह सहितको गुनासो गर्दा जिताउनु पर्ने कारण भने उल्लेख गरेका छैन ।
काँग्रेस नेताहरूका अनुसार पराजित तीन नेता काँग्रेसका पूराना नेता हुन् । उनीहरू पञ्चायत कालदेखि काँग्रेस राजनीतिमा सक्रिय छन् । १६ औं महाधिवेशनमा उनीहरु महाधिवेशन प्रतिनिधि पराजित भएका छन् ।
काँग्रेस विभाजन हुदा संस्थापनमा बस्ने अर्को स्वभाव तीनै नेताहरूको छ । काँग्रेस बिशेष महाधिवेसनपछि अहिले पनि उनीहरू संस्थापनमा छन् ।
चटौत काङ्ग्रेसका पूर्व केन्द्रिय सदस्य भइ सकेका छन् । बहुदल स्थापनापछि २०४८ को आम निर्वाचनमा उनी तत्कालीन कंचनपुर २ बाट साँसद निर्वाचित भएका थिए । त्यसपछि २०५६ को आम निर्वाचनमा फेरि साँसद भएका थिए ।
साँसद भएपछि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए ।
काँग्रेस १५ औ महाधिवेशनमा कञ्चनपुर ३ का वडा,पालिका र पालिका अधिवेशनमा सहभागी भएका थिए ।
कञ्चनपुरमा चटौतले सबैभन्दा पहिले काँग्रेस क्रियाशिल सदस्यता अद्यावधिक गरेका थिए । काँग्रेस नेताहरुले चटौतको घर पुगेर अद्यावधिक गराएका थिए ।
कञ्चनपुर उद्योग बाणिज्य संघमा भएको क्षेत्रीय अधिवेशनमा उनी सहभागी भएका थिए ।
महाधिवेशन प्रतिनिधि पराजित भएपछि उनले सामाजिक सञ्जालमा नतिजा आफ्नो प्रतिकूल आएको भन्दै अप्रत्यक्ष रुपमा दुःख मनाउ गरी सहयोगमा गर्ने सबैलाई धन्यबाद दिएका छन् ।
भीमदत्त २ का गोपाल भण्डारी काँग्रेस कञ्चनपुरका पूर्व उप सभापति हुन् । काँग्रेस १२ औ महाधिवेशनमा उनी बहादुर थापासित पराजित भएका थिए । भण्डारी २०४९ को स्थानीय निकाय निर्वाचनमा भीमदत्त २ को वडा अध्यक्ष निर्वाचित भएका थिए ।
अर्का पराजित नेता अवस्थी काँग्रेसभित्र इमान्दार र सोझा नेता मानिन्छन् । नेता गुरुङ्गले उनीहरूको नाम लेखेर धारणा राखेपछि अहिले सामाजिक संजालमा उनीहरूको पक्ष र बिपक्ष दुबैमा प्रतिक्रिया आएका छन् ।
केहीले पूराना नेताको सम्मान गर्न चुनावमा जिताउनु पर्ने तर्क गरेका छ्न । पूराना नेताले राजनीतिमा अभिभावक भएर सकृय राजनीति छाडेर युवालाई स्थान दिनु पर्ने धारणा राखेका छन् ।
काँग्रेसका पूराना नेता गुरुङ्ग भने आफै १५ औ महाधिवेशनमा चुनाव नलडेर बाहिर बसेका छन् । सामाजिक संजालबाट गुरुङ्गले १५ औ महाधिवेशन नलड्ने घोषणा गरेका थिए ।
गुरुङ्ग १२ औ महाधिवेशनमा जिल्ला सभापतिका लागि चुनाव लडेका थिए ।

काँग्रेस विशेष महाधिवेशनमा गुरुङ्ग सहभागी भएका थिए । कञ्चनपुरका तीन क्षेत्रबाट गुरुङ्ग सहित १० नेतासम्म सहभागी भएको बताइन्छ ।
काँग्रेस कञ्चनपुरमा गुरुङ्ग पनि सधै पार्टी संस्थापनमा बस्दै आएका छन् ।
काँग्रेस बिशेष महाधिवेशनपछि बिशेष महाधिवेशनमा सहभागी नभएका नेता हावी भएपछि गुरुङ्ग पार्टी चुनावबाट बाहिर बस्ने मनस्थितिमा पुगेको नेताहरू बताउँछन् ।
गुरुङ्ग भने पार्टीमा युवालाई अवसरका लागि आफू चुनाव नलडी बाहिर बसेको बताउदै आएका छन् ।
१५ औं महाधिवेशनका लागि कञ्चनपुर ३ बाट महाधिवेशन प्रतिनिधिमध्ये विभिन्न क्लस्टरका ९ जना निर्विरोध भएका छन् । त्यस बाहेक २४ जना निर्वाचनबाट निर्वाचित भएका छन् । खुलाबाट सबैभन्दा बढी १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
सुदूरपश्चिम सरकारका पूर्व मन्त्री बहादुर थापा, पूर्व मन्त्री बेल बहादुर राना, भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापा, लोक बहादुर ठकुराठी, विष्णुदत्त जोशी, दिपक बहादुर सिंह, दुर्गादत्त बोहरा, नाफू सिह साउँद, कृष्ण कुँबर र मेखराज पण्डित निर्वाचित भएका छन् ।
खुलामा १० जनाका लागि दोब्बर प्रतिस्पर्धी चुनाव लडेका थिए । महाधिवेशन प्रतिनिधिको श्रमिक क्लस्टरमा बिर्ख बहादुर मल्ल फराकिलो मत अन्तरले निर्वाचित भएका छन् । मल्लले सिद्धराज बोहरालाई पराजित गरेका छन् ।
युवा खुलामा लोचन कार्की र अमृत कार्की निर्वाचित भएका छन् । प्रजातान्त्रिक सेनानीबाट प्रेम बहादुर विष्ट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिको खस आर्यबाट कृष्ण प्रसाद पाठक, दिल बहादुर सिंह, यज्ञराज चटौत र शंकर बहादुर चन्द निर्वाचित भएका छन् । चार जनाका लागि १० जनाबीच प्रतिस्पर्धा भएको थियो ।
महिला खुलाबाट अहिल्यादेबी बोहरा, माया भट्ट, खगेश्वरी बोगटी र राधिका महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सीमा बोहरा र मीना भण्डारी दुबैको समान मत आएको थियो ।
खस आर्यको महिलामा काँग्रेस केन्द्रीय सदस्य सन्तोसी साउँद, गंगा विष्ट र मन्जु गिरी निर्विरोध महाधिवेशन प्रतिनिधि भएका छन् । थारुबाट भारती देबी चौधरी पनि निर्विरोध भएकी छन् ।
दलित समानुपातिकबाट हिरा कुमारी सार्की र पदम सुनार निर्विरोध महाधिवेशन भएका छन् । दलित खुलामा हरिहर परियार निर्विरोध भएका छन् ।
काँग्रेस कञ्चनपुरका पूर्व सचिव दिवाकर पाण्डेय अपाङ्गता, गजेन्द्र रावल पेशागत र महिला युवाबाट कमलादेबी उपाध्यय निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी छन् ।
१५ औं महाधिवेशनमा भएका वडादेखि क्षेत्रसम्मका सबै अधिवेशनमा नेताहरुले पुरानालाई सम्मान र नयाँलाई अवसर दिने भाषण गरेका थिए ।
काँग्रेस उप सभापति भई सकेका गुरुङ्गले गत महिना सामाजिक सञ्जालबाट अचानक महाधिवेशन नलड्ने घोषणा गरेपछि काँग्रेसभित्र तरङ्ग फैलिएको थियो ।
जेनजी आन्दोलनमा आगजनी र तोडफोड गरिएको पार्टी कार्यालयको तस्बिर राख्दै चुनाव नलड््ने घोषणा गरेका थिए ।
काँग्रेस विशेष महाधिवेशन अघि उनी कञ्चनपुर काँग्रेसका तत्कालिन दुई समूहमध्ये रमेश लेखक नजिकका मानिन्थे । काँग्रेसको पूरानो संस्थापन कञ्चनपुरमा ती दुबै समूहमा बाँडिएको थियो ।
गुरुङ्ग काँग्रेसभित्र पुराना, निष्ठावान् र प्रभावशाली नेता मानिन्छन् । उनी पार्टीभित्र हक्की, मिलनसार र प्रष्ट बोल्ने नेताको पहिचान बनाएका छन् ।
उनी २०७४ को प्रदेश सभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार भएका थिए । उनले ९ हजार २ सय ९० मत ल्याएका थिए । काँग्रेस महाधिवेशन प्रतिनिधि गुरुङ्ग भीमदत्त नगरपालिका ५ का वासिन्दा हुन् ।
