
अन्तिम आन्दोलनका लागि काठमाडौं जान अघि प्रशासन कार्यालय प्रवेशद्वार पुगे आरक्ष विस्थापित, सरकारसित वारपारको लडाई हुने चेतावनी

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित परिवारले आइतबार प्रशासन कार्यालय प्रवेशद्वार पुगेर सरकासित व्यवस्थापनको माग गरेका छन् ।
आइतबार सार्वजनिक विदाका दिन प्रशासन प्रवेशद्वारबाट आरक्ष विस्थापितले सरकारसित व्यवस्थापनका लागि अन्तिम आन्दोलन गर्ने अन्तिम चेतावनी दिएका छन् ।
आरक्ष पीडित संघर्ष समिति अन्तिम आन्दोलनका लागि काठमाडौ जान लागेपछि आइतबार प्रशासन कार्यालय पुगेर पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
प्रशासन कार्यालयको प्रवेशद्वारबाट उनीहरुले काठमाडौंको आन्दोलन अन्तिम हुने बताएका छन् ।
कञ्चनपुरका विभिन्न स्थानका शिविरबाट बस्दै आएका विस्थापित परिवार गत वर्षदेखि वन कार्यालय नजिक टहरा बनाएर बसेका छन् । उनीहरुले व्यवस्थापन नभएसम्म नफर्किने अडान लिएका छन् ।
आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले सरकारले विस्थापित गरेपछि व्यवस्थापनका लागि हालसम्म आश गर्दै बसेको बताए ।
‘राज्यले हाम्रो सम्पत्ति खोसेर सडकमा पुगाएको हो, व्यवस्थापन गर्छौ भनेर अहिलेसम्म आशै आशैमा बस्यौ, अहिले पनि आश्वासन त पाएका छौ’ उनले भने, ‘तीन तीन पटक दुई तिहाई देखि सक्यौ, केही हुन सकेन, यस पटकको दुई तिहाईले गर्छ भन्ने विश्वास छ, त्यसैले काठमाडौं गएर आन्दोलन गर्छौ, यो अब वारपारको आन्दोलन हुन्छ ।’
आफूहरु व्यवस्थापनको आशमा हालसम्म सबै राजनीतिक दलहरुका पछाडि लागेको उल्लेख गर्दै उनले सबैबाट धोका मात्रै पाएको गुनासो गरे ।

केही महिना अघि उनीहरुले प्रशासन कार्यालयमा अर्ध नग्न प्रदर्शन गरेका थिए ।
सरकारले सशस्त्र द्वन्द्वका क्रममा २०५८ असारमा तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा हटाएको थियो । त्यसको पाँच महिनापछि देशभर संकटकाल घोषणा गरिएको थियो ।
तत्कालिन रौतेली विचवा गाविस ४ लालपानीबाट विस्थापित पदमराज भट्टले सरकारले व्यवस्थापन गर्न नसक्दा आफूहरु भिकारी जीवन बिताउन बाध्य भएको बताए ।
हालसम्म आरक्ष विस्थापितको समस्या समाधानका लागि विभिन्न समयमा ३३ आयोग गठन भएका छन् ।
शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्दा विस्थापित पीडित अझै पनि जंगल, खोला नदी छेउछाउमा झुपडी बनाएर बस्दै आएका छन् ।
संघर्ष समितिका अनुसार निकुञ्जभित्रको ढक्का शिविरमा छ सय चार, तारापुर एक सय ८० र लल्लरेडाँडामा १३ परिवार बस्दै आएका छन् ।
कृष्णपुर नगरपालिकाको बाणी, सिसमघारी र मालुबेला, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटा, बनहरा र वैशाखा, बेदकोट नगरपालिकाको सुडासँगै पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिकाका शिविरमा गरी दुई हजार ४ सय ७३ परिवार टहरामा छन् ।
सरकारले त्यति बेला विस्थापितलाई भीमदत्त नगरपालिका–१४ र १६ को नयाँ कटान, बेदकोट नगरपालिका–१० र शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा पुनःस्थापना गरिएको थियो ।
पुनःस्थापना हुन नसकेका परिवार अहिले टहरा बस्न बाध्य छन् । एक सय ५५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको तत्कालीन आरक्षको पूर्वी क्षेत्र विस्तार गरेर तीन सय पाँच वर्गकिलोमिटर बनाइएको थियो ।
