

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको भीमदत्त नगर समितिको उप सभापतिमा राज बहादुर विष्ट र मन्जु फर्सवान निर्विरोध भएका छन् । काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत भीमदत्त नगर अधिवेशनमा उप सभापतिमा विष्ट, फर्सवान सहित केशव सिंह जोरा उम्मेदवार थिए ।
बिहीबार जोराले उम्मेदवारी फिर्ता लिएपछि विष्ट र फर्सवान निर्विरोध भएका छन् । मंगलबार नगर अधिवेशन उद्घाटनपछि निर्वाचन कार्यक्रम सुरु भएको थियो । उम्मेदवारी दर्तापछि नेताहरुले छलफल गर्दै बिहीबार उप सभापतिमा सहमति जुटेको हो ।
निर्वाचन समितिका समन्वयकर्ता उमेश जोशीले सहमतिका आधारमा जोराले फिर्ता लिएपछि विष्ट र फर्सवान उप सभापति निर्विरोध भएको बताए । काँग्रेस विधान अनुसार दुई जना उप सभापति हुने छन् ।
निर्विरोध उप सभापतिमध्ये फर्सवान भीमदत्त नगरपालिका १० का वडा सदस्य हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी वडा सदस्य निर्वाचित भएकी थिइन् ।

उप सभापति फर्सवानले पार्टी संगठन बलियो बनाउने र पार्टीभित्र महिलाका मुद्दा सम्बोधन र समावेशिताका लागि आफूले पहल गर्ने बताएकी थिइन् ।
अर्का उप सभापति विष्ट काँग्रेस परिवारका सदस्य हुन् । उनका बुवा हरिलाल विष्ट तीन पटक भीनपा १२ को काँग्रेस वडा सभापति भएका थिए ।
विष्ट काँग्रेसको पारिवारिक विरासतलाई अघि बढाउँदै नगर उप सभापति भएका छन् ।
संगठन सुदुढीकरण, कार्यकर्ताको सम्मान र संरक्षण, एकता र सहकार्य, युवा सहभागिता, जनतासित निरन्तर सम्पर्क तथा पारदर्शी र जवाफदेही नेतृत्वको प्रतिवद्धता लिएर विष्टले उम्मेदवारी दिएका थिए ।
भीमदत्त नगरपालिका १२ का वडा सदस्य राजेन्द्र पन्तले विष्टले पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।
‘पारिवारिक राजनीतिक विरासतलाई जिम्मेवारी, निष्ठा र सेवा मार्फत अगाडि बढाउँदै संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान हुनेछ’ उनले भने ।
