

भवानी भट्ट
महेन्द्रनगर । दोधारा चाँदनी जोड्ने झोलुंगे पुलमा साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ । स्थानीय पूर्वाधार विकास विभाग र सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको संयुक्त टोलीले गरेको अध्ययन अनुसार पुल भत्किएको भागमा मात्रै उक्त क्षतिको आकलन गरिएको हो ।
‘अझै पिलरमा कति क्षति छ भन्ने एकिन भएको छैन, त्यो पानीको वहाव कम भएपछि मात्रै भन्न सकिन्छ,’ स्थानीय पूर्वाधार विकास विभागका उप महानिर्देशक कमल अधिकारीले भने, ‘प्रारम्भिक रुपमा हेर्दा साढे सात करोडको क्षति भएको देखिन्छ ।’
उनका अनुसार अध्ययन टोलीले गतसाता नै पूर्वाधार विकास मन्त्रालयमा क्षति र मर्मतका लागि आवश्यक बजेटलगायतको प्रतिवेदन बुझाइसकेको छ ।
पुलको सबै भाग मर्मतका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको उपमहानिर्देशक अधिकारीले बताए । उनका अनुसार भत्किएकोबाहेक अन्य पिलरमा पनि क्षति पुगेकाले तिनको मर्मतदेखि अन्य भागमा समेत सुक्ष्म रुपमा मर्मत गर्नुपर्ने देखिएको छ ।
‘बजेट व्यवस्थापन भएमा यहि आर्थिक वर्षभित्रै मर्मतको काम सकिन्छ, तर पानीको वहाव कम हुनासाथ काम सुरु गर्न सक्नुपर्छ,’ अधिकारीले भने, ‘भत्किएको पिलरमा पाइलिंग गर्नुपर्ने देखिन्छ, अन्य पिलरमा पनि क्षति पुगेकाले मर्मत गर्नुपर्ने छ ।’

दुई साताअघि दोधारा चाँदनी नगरपालिकालाई भीमदत्त नगरपालिकासँग जोडने झोलुंगे पुल भत्किएको थियो । बिहान एक्कासी पुलको भाग अस्वभाविक रुपमा उठेको थियो । त्यसपछि केही बेरमै दोधारा चाँदनीबाट तेस्रो पिलर भत्किनुका साथै ३ सय मिटर हाराकारी झोलुंगे पुलको भाग नदीमा खसेको थियो ।
दुई दशकअघि निर्माण भएको पुल दोधारा चाँदनीलाई महेन्द्रनगरसँग जोडने माध्यममात्र नभई यस क्षेत्रको पहिचानका रुपमा समेत स्थापीत भएको थियो ।
यस बाहेक यो पुल पर्यटकीय आकर्षणको केन्द्र समेत बन्न पुगेको थियो । झोलुंगे पुल भन्दा करिब ३ किलोमिटर उत्तरतिर चार लेनको पक्की पुल निर्माण भए पनि साइकल र मोटरसाइकलसँगै पैदल याुत्रहरुले महेन्द्रनगर आउजाउ गर्न यहि पुलको प्रयोग गर्दै आएका थिए ।
पुल भत्किएपछि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री खगराज भट्टसहित अन्य मन्त्री, प्रदेशसभाका सदस्यदेखि प्राविधिकहरु समेत उक्त क्षेत्रमा पुगेका थिए । मर्मतका लागि आवश्यक बजेट विनियोजनदेखि संघमा पनि मर्मतका लागि पहल गरिने आश्वासन दिएका थिए ।
त्यसलगत्तै स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशकसँगै सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर हुमाकान्त मिश्रको टोलीले प्राविधिक अध्ययन गरेको थियो । टोलीले काठमाडौं फर्केर मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।
साभार : इकान्तिपुर
