
एमाले नेताको कार्यशैलीमा असन्तुष्टि पोख्दै बागफाँटाका भवानी रावलले छाडे पार्टी, स्वतन्त्र बस्ने घोषणा

महेन्द्रनगर । सुदूरपश्चिम सरकारको बजेटमा आफ्नो वडाका योजना कटौतीपछि असन्तुष्ट सत्ता साझेदार एमालेका नेता भवानी रावलले पार्टी छाडेका घोषणा गरेका छन् ।
सुदूरपश्चिम सरकारले असोज २५ गते बजेट ल्याएको थियो । भीमदत्त नगपालिका १९ बागफाँटाका रावलले पाँच दिन अघि सामाजिक सञ्जालमा अघिल्लो सरकारले बजेटमा राखेका योजना कटौती गरिएको भन्दै असन्तुष्टि पोखेका थिए ।
बिहीबार सामाजिक सञ्जालबाट रावलले पार्टी छाडेको घोषणा गरेका हुन् । रावल २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका आकाँक्षी थिए ।
२०५८ मा एमाले भएका उनी २५ वर्षपछि पार्टी छाडेर स्वतन्त्र भएका छन् ।


रावलले भनेका छन्, ‘आज मिति २०८३÷०७÷०५ गते देखि नेकपा एमालेको कुनै पनि पद र सदस्यमा समेत रहने गरि पार्टी परित्याग गरेको घोषणा गर्छु । आज उपरान्त बिना राजनीतिको जीवन बिताउने निर्णय गरेको छु’ उनले भने ।
एमाले छाड्दै फेसबुकमा लेखेको स्टयाटशमा उनले एमालेका जिम्मेवार पदमा पुगेको नेताको कार्यशैली देखेर आफू पार्टी छाड्ने निर्णय लिएको सार्वजनिक गरेका छन् ।
‘म कम्युनिष्ट आस्थावान भएकोले २०५८ सालदेखि निरन्तर नेकपा एमालेको संगठित सदस्य भई रहे तर हाल मैले नेकपा एमालेका पदमा पुगेका पदिधिकारीको काम गर्ने शैलीदेखि मन दुःखेको छ’ उनले भनेका छन् ।

बजेटलाई लिएर एमाले साँसद बीर बहादुर थापाले राजीनामा दिएर आफ्नो पद गुमाएका छन् । अर्का प्रदेश सभा सदस्य कारवाही नजिक पुगेको बताइन्छ ।
प्रदेश सरकारले ३७ अर्बको बजेट ल्याएको थियो । अघिल्लो काँग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटको विरोध भएपछि सुदूरपश्चिममा नेकपा एमाले सरकार बनेको थियो ।
नेकपा एमाले खगराज भट्ट मुख्यमन्त्री भएको सरकारमा एमालेका चक्र मल्ल आर्थिक मामिला तथा योजना मन्त्री छन् ।
