ghar sansar

सबैकी दिदी भगवती दिदी

khasi

महेन्द्रनगर । अधिकारकर्मी एवम अध्यात्मवादी भगवती थापाका बाजे कृष्ण बहादुर थापाले बझाङ्गबाट तराई झरी भीमदत्त नगरपालिका १३ स्थित सिद्धनाथ टोलमा छाप्रो बनाएका थिए ।

भगवती बुवा राम बहादुर र आमा पदमावतीसित बाल्यकालमा त्यहीं छाप्रोमा आएकी थिइन् । उनी बझाङ्गको दुर्गाथली गाउँपालिका जुजी थापा गाउँमा जन्मिएकी हुन् ।

थापा दम्पत्तिका ६ सन्तानमध्ये उनी दिदी बहिनीमा जेठी हुन् । बुवा आमाले नै उनको नाम भगवती राखि दिएका थिए ।

तराई आएपछि विद्यालय जान थालेकी भगवती सानैदेखि धर्म कर्ममा हुरुक्क हुन्थिन् । घरायशी माहौलको छाप उनमा सानैमा परेको थियो । बाजे कृष्ण धार्मिक कार्यमा सक्रिय थिए । धार्मिक सत्सङ्ग गरी उनका बाजे त्यति बेला गीता ज्ञानका पोख्त मानिन्थे ।

घरको धार्मिक माहोलले भगवतीमा बाजेको बाटोमा जाने बाटो बन्यो । त्यहीं सानैदेखि धार्मिक छाप परेपछि उनी धार्मिक क्षेत्र रोज्न पुगिन् । त्यसपछि उनले आफ्नो सम्पूर्ण जीवन नै धर्मकर्ममा सुम्पिएकी छन् ।

२०४४ देखि प्रजापिता ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालयसित आवद्ध छिन् । समाजको सेवा गर्न, जीवनको लक्ष्य र गन्तव्य पाउन अध्यात्मको संसारमा लागेको थापा बताउँछिन् ।

‘मलाई सानैदेखि धर्मकर्म गर्ने इच्छा थियो, बाजे धार्मिक कार्य लाग्नु हुन्थ्यो, त्यो मलाई निकै राम्रो लाग्थ्यो’ केही दिन अघि महेन्द्रनगरस्थित विश्वविद्यालयको राजषेग प्रशिक्षण केन्द्रमा आफ्नो बाल्यकाल सम्झिदै थापाले भनिन्, ‘राम्रो बन्ने, आदर्श बन्ने, अध्यात्मिक वर्गको पथ प्रदर्शक बन्ने सपना थियो, त्यही भएर यसमा लागे, जीवनभर यसैमा रहनेछु ।’

भीमदत्त १६ स्थित सरस्वती माध्यमिक बिद्यालय परखेडीमा कक्षा ७ सम्म पढेपछि थापा बैजनाथ माबि आएकी थिइन् । त्यति बेला सरस्वतीमा ७ कक्षासम्म मात्रै पढाई हुन्थ्यो ।

बैजनाथ माबिबाट एसएलसी गरेपछि थापाले भारतबाट उच्च शिक्षा र अध्यात्म सम्बन्धि अध्ययन गरेकी थिइन् ।

विद्यालय पढ्दा थापा गाउँ घरमा केही भए चासो राख्थिन् । अरुका समस्यामा साथ दिन अघि जान्थिन् । गीत र गजल लेख्ने बानी उनलाई परि सकेको थियो । विद्यार्थीमा नाटक खेलेको सम्भझना अझै झलझली आउँछन् उनलाई । कबड्डी र रिले दौडमा भाग लिएर पदक जितेकी थिइन् ।

पढेर जागिर खाने, व्यापार व्यवसाय गर्ने र बिहेवारी गरी घरबार बनाउने सोच थापामा कहिल्यै आएन । जीवनका सबै बन्धनबाट मुक्त भएर समाजसेवा मात्रै गर्ने उनको सोच हुन्थ्यो ।

जागिर गर्न चाहेको भए अहिले उनी कुनै सरकारी विद्यालयमा शिक्षण गरि रहेकी हुन्थिन् । एसएलसीेपछि शिक्षकका लागि उनलाई घरमा आएर प्रस्ताव गरिएको थियो ।

२०४२ मा एसएलसी गरेकी उनी उच्च शिक्षा अध्ययनसंगै अध्यात्मसित जोडि सकेकी थिइन् । ‘जागिर खाने मेरो मन नै थिएन, त्यो बेला पढे लेखेका लेडिज पाउन मुस्किल हुन्थ्यो’ उनले सुनाइन, ‘मेरो त मन नै थिएन, हुँदैन भनि दिए ।’

थापा २०४४ मा प्रजापिता ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालयसित जोडिएकी थिइन् । विश्वविद्यालयको बैङ्लोरमा सात वर्ष बसेर उनले ज्ञान हासिल गरेकी थिइन् ।

उनलाई बाजेले त्यहाँ पुगाएका थिए । बझाङ्ग जिल्ला अदालतबाट रिटायर्ड भएपछि थापाका बाजे कामका लागि भारत पुगेका थिए । भारत पुगेपछि उनी प्रजापितासित जोडिएका थिए ।

भगवती १७ बर्षमै बैङ्गलोरको ब्रह्म कुमारी आश्रम बसेकी थिइन् । सात वर्ष आश्रममा बसेर अध्यात्मिक ज्ञान आर्जन गरी घर फर्किएकी थिइन् ।

आश्रममा ध्यान गर्दा उनी शिवको निराकार देखेर असाध्यै खुसी भएको बताउँछिन् । ‘ध्यान गर्दा भगवान मान्ने, ज्योतिष स्वरुप भगवान शिबको याद गर्न निराकार देखेर म निकै खुसी भए, भगवान अदृश्य शक्ति हो, मैले चाहि देखेको अनुभूति गरे’ उनले भनिन् ।

dirghayi clinic

२०५३ घर फर्केपछि भने उनी भारत नगएर अध्यात्मिक कार्यमा लागिन् । त्यसपछि उनी समाज सेवा, वकालत, महिला सशक्तिकरण र मदिरा नियन्त्रणका कार्यमा संलग्न भइन् ।

घरमा बस्न थालेपछि थापाले २०५३ मा महिला दिदी बहिनीलाई संगठित गर्ने प्रयास गरिन् । त्यसका लागि तुलसी आमा समूह बनाएर उनी सचिव भइन् ।

गाउँ घरका महिलालाई बचत गर्न सिकाउने, वन वातावरण सरक्षणका कार्यक्रममा सहभागी गराउने र बोल्न र आफ्ना समस्या राख्न सक्ने बनाउन समूह गठन गरिएको थियो ।

‘गाउँका दिदी बहिनी एक ठाउँमा आउने, बचत गरी थोरै भए पनि आर्थिक अवस्था सुधार होस भन्ने सोचेर नै त्यो समूह बनाएका थियौ’ उनले भनिन् ।

समूहमा आवद्व भएपछि थापा अन्य सामाजिक संघ संस्थासित जोडिन थालेकी हुन् ।

महिला समूहमा सक्रिय हँुदा भीनपा १३ मा मदिरा सेवन गरी भएको महिलामाथि कुटपिट घट्नाले थापा नराम्रोसंग झस्किइन् ।

महिलाथि हिंसाका रोक्न केही गर्न पर्छ भन्दै उनले मदिरा विरोधी आन्दोलन गर्ने आँट गरिन् । त्यहीं आन्दोलनले थापालाई महाकाली नदी किनारको वस्तीबाट महेन्द्रनगर बजार पुगायो ।

मदिरा नियन्त्रण आन्दोलन गरी थापा ६० को दशकमा चर्चित अधिकारकर्मीका रुपमा चिनिन थालिन् ।

महिलामाथि मदिराका कारण घरेलु हिंसा हुने भएकोले मदिरा नियन्त्रण गर्न आन्दोलन गरिएको उनी बताउँछिन् ।

मदिरा विरोधी आन्दोलनपछि उनी भगवती दिदी भनेर सबैतिर परिचित हुन थालिन् । अहिले उनलाई बच्चादेखि बुढा सम्म सबैले दिदी भन्ने गर्छछन् ।

‘मलाई दिदी भनेको मन पर्छ, अहिले त म सबैकी दिदी छु,’ हाँस्दै उनले भनिन्,‘ मेरा भाईहरु धेरै छन्, यो तपाई सबैले मलाई गरेको माया हो नि ।’

२०६३ मा मदिरा नियन्त्रण आन्दोलन भएपछि जिल्ला मदिरा नियन्त्रण अनुगमन समिति गठन गरिएको थियो ।

कञ्चनपुर जिल्लाका लागि छुट्टै आचार सहिँता बनाएर रक्सी कारोबार नियन्त्रण गर्न थालियो । अहिले धेरै स्थानीय तहले कार्य बिधि बनाएका छन् ।

आचार सहिँतामा निश्चित स्थानमा मदिरा बेच्न पाइने, १८ बर्ष मुनिकाले बेच्न नपाउने र निश्चित स्थान कारोबार हुन पर्ने लगायतका प्रावधान राखिएका छन् ।

थापा अध्यात्म बाहेक विभिन्न संघ संस्थामा पनि आवद्व छन् । नारी उत्थान केन्द्र र महिला मानव अधिकार रक्षक सञ्जालमा उनी अध्यक्ष छन् ।

महाकाली प्रादेशिक अस्पतालको ओसिएमसी, प्रभात विद्या निकेतन र समाज कल्याण अञ्चल बाल अनाथालयमा सदस्य छन् ।

भीमदत्त १३ स्थित सिद्वनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिमा थापा अध्यक्ष भइ सकेकी छन् ।

२०२७ मा जन्मिएकी थापा आफू स्वतन्त्र जीवन बिताउन पाएकोमा असाध्यै खुसी भएको बताउँछिन् । उनी सत्संगमा जीवन बताउने, ध्यान, योग तनाव मुक्त भएर जिउन चाहिन्छन् ।

‘मेरो जीवन स्वतन्त्र छ, कसैको हस्तक्षेप छैन, पावन्दी छैन’ उनी भन्छिन्, ‘मलाई कुनै पछुतो र दुःख पनि त कति छैन, जीवन सार्थक बनाउन मान्छेले केही काम त गर्नै पर्छ, म त्यहीं गर्दैछु, त्यहीं भएर म खुसी छु ।’

Himal dental
सम्बन्धित
Loading...