

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले शुक्रबार विमान धनगढी विमानस्थलमा पत्रकारहरुसित आफ्नो भारत भ्रमणलाई लिएर खिंचडी नपकाउन आग्रह गरेपछि राजनीतिक वृत्तमा दिनभरि सनसनी मच्चिएको छ ।
सभापति लामिछाने भारत भ्रमणका लागि विहानै धनगढी विमानस्थल पुगेका थिए ।
विमानस्थलमा पत्रकारहरुसित आफ्नो भारत भ्रमण व्यक्तिगत धार्मिक तिर्थाटनका लागि भएको जानकारी गराएका थिए ।
त्यसपछि पत्रकारहरुले राजनीतिक भेटघाट पनि हुन्छ कि भन्ने प्रश्नमा उनले आफ्नो भ्रमणका नाममा खिंचडी नकाउन आग्रह गरेका हुन् ।
सभापति लामिछानले पत्रकारहरुसित संक्षिप्त कुरा गरेका थिए । ‘पहिलेदेखि नै जाउँला भन्ने थियो । यो धार्मिक भ्रमण हो । कुनै राजनीतिक भेटघाट छैन,’ उनले भने, ‘कारागारमा हुँदा गरेको भाकल पूरा गर्न जाँदैछु । मेरो भ्रमणका नाममा कसैलाई पनि खिचडी नपकाउन आग्रह गर्दछु ।’
धनगढीबाट स्थलमार्गबाट महेन्द्रनगर हुँदै गड्डाचौकी नाका भएर लामिछाने भारत गएका छन् ।
रास्वपा साँसद दीपकराज बोहराका अनुसार लामिछाने पत्नी निकिता पौडेल सहित भारत उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधामको दर्शन गरी गुहटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने भएका छन् ।
सभापति रविसँगै पत्नी पौडेल र साँसद बोहरा पनि भ्रमण टोलीमा छन् ।

सत्तारुढ रास्वपाका अर्का नेता अर्थमन्त्री स्वणिय बाग्ले भारतमा छन् । अर्थमन्त्री बाग्ले तीन दिन अघि भारत गएका हुन् ।
अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच भएको रोचक संवाद चर्चामा छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे संवाद भएको थियो ।
अर्थमन्त्री बाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित समेत भेट गरेको समचार बाहिर आएका छन् ।
अर्थमन्त्री भारतमा हुँदा सभापति लामिछाने खिंचडी नपकाउन आग्रह गर्दै भारत जानलाई राजनीतिक वृत्तमा विभिन्न कोणबाट चर्चा गर्न थालिएको छ ।
एमाले वरिष्ठ नेता विद्यादेबी भण्डारीको चीन भ्रमणको प्रसंग पनि कतिपयले यससित जोडेर हेरि रहेका छन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावलले विद्या भण्डारी चीन र रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जानुले नेपाली राजनीतिमा केही खिँचडी पाक्न लागेको आशंका गरेका छन् ।
‘विद्या भण्डारी उत्तरतिर र रवि लामिछाने दक्षिणतिरको यात्रामा । केही खिचडी त पाक्दै छैन नेपाली पोलिटिक्समा’ रावलले सामाजिक सञ्जालमा भनेका छन् ।
आसामको कामाख्या मन्दिरमा पूजाआजापछि लामिछाने झापाको काकडभिट्टा हुँदै नेपाल फर्किने छन् ।
यस अघि गत जेठमा पार्टी सभापतिको हैसियतमा उनी भारतको औपचारिक भ्रमणमा गएका थिए ।
रास्वपा कञ्चनपुरका अध्यक्ष पदम विष्टले सभापति लामिछानेको व्यक्तिगत धार्मिक भ्रमण भएको जानकारी भएको र त्यस बाहेक महेन्द्रनगरमा नेता कार्यकर्तासित भेटघाट नभएको बताए ।
