ghar sansar

सामाजिक सञ्जालको छाँयामा हराउँदै चाडपर्वको रौनक

khasi

– प्रभु निधि पन्त

दशैँको साँझतिर एक जना परिचित व्यक्तिसँग भेट भयो । भेट्ने बित्तिकै उहाँले सोध्नु भयो, तपाईंको यसपालि दशैँ थिएन र?मैले आश्चर्य मान्दै जवाफ दिएँ थियो नि, किन नहुनु उहाँले सहजै भन्नु भयो फेसबुकमा तपाईंले दशैँको टिका लगाएको फोटो हालेको देखिन त्यही भएर सोधेको । उहाँको यो सामान्य प्रश्नले केहीबेर सोच्न बाध्य बनायो । के अब दशैँ मनाएको प्रमाण सामाजिक सञ्जालमा तस्बिर राख्नु भएको हो ?  फेसबुकमा तस्बिर नदेखिए चाडपर्व नै मनाइएन भन्ने निष्कर्षमा पुग्नु पर्ने अवस्था आएको हो ? आजको नेपाली समाजमा विकसित हुँदै गएको सामाजिक सञ्जालप्रतिको मोह र बदलिँदो जीवनशैलीलाई बुझ्न यो एउटा प्रतिनिधिमूलक उदाहरण हो ।

कुनै समय दशैँ आउँदा गाउँ घरमा छुट्टै उमङ्ग छाउँथ्यो । घर आँगनको सरसफाइ, नयाँ लुगाको प्रतीक्षा, चङ्गा उडाउने रहर, पिङ खेल्ने उत्साह, आफन्तसँगको भेटघाट र ठूलाबडाको हातबाट टीका तथा जमरा ग्रहण गर्ने प्रतीक्षाले चाडपर्वको रौनक बढाउँथ्यो । तिहारमा देउसीभैलो, मादलको ताल, सामूहिक नाचगान र दाजुभाइ तथा दिदी बहिनीबीचको आत्मीयताले समाजलाई जोड्थ्यो । आज पनि यी परम्परा जीवित छन् । तर चाडपर्व मनाउने शैलीमा उल्लेख्य परिवर्तन आएको छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ । यसले सूचना र सञ्चारलाई सहज बनाएको छ, टाढा रहेका आफन्तलाई नजिक ल्याएको छ र खुसी साटासाट गर्ने अवसर प्रदान गरेको छ । तथापि, चाडपर्वको वास्तविक आनन्दभन्दा त्यसको तस्बिर सार्वजनिक गर्ने र सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय बनेको छ ।

दशैँ, तिहार लगायतका चाडपर्वमा टीका लगाएको तस्बिर, नयाँ लुगामा सजिएको परिवार, आफन्तसँगको भेटघाट र रमाइला क्षणलाई फेसबुक तथा अन्य सामाजिक सञ्जालमा सार्वजनिक गर्ने चलन बढेको छ । तस्बिर खिच्नु, शुभकामना आदानप्रदान गर्नु र खुसीका क्षण बाँड्नु आफैँमा नराम्रो होइन । समस्या त्यतिबेला उत्पन्न हुन्छ, जब चाडपर्व मनाउनुको उद्देश्य भन्दा त्यसलाई अरूलाई देखाउनु महत्त्वपूर्ण बन्न थाल्छ । परिवारका सदस्यसँग आत्मीयता साट्नु भन्दा राम्रो तस्बिर खिच्ने चिन्ता बढ्न थाल्छ । आफन्तसँग बसेर सुख दुःखका कुरा गर्नु भन्दा मोबाइलको क्यामेरामा रमाइला क्षण कैद गर्न प्राथमिकता दिइन्छ । सामाजिक सञ्जालमा कति लाइक आयो, कसले प्रतिक्रिया दियो र आफ्नो तस्बिर अरूको भन्दा कति आकर्षक देखियो भन्ने कुराले समेत महत्त्व पाउन थाल्छ । यस्तो प्रवृत्तिले एउटा गम्भीर प्रश्न उठिरहेको छ हामी चाडपर्वको वास्तविक खुसी अनुभव गरिरहेका छौँ कि अरूलाई खुसी देखाउनका लागि चाडपर्व मनाइरहेका छौँ ।

सामाजिक सञ्जालमा तस्बिर राख्दैमा कसैले चाडपर्व मनाएको प्रमाणित हुँदैन, न त तस्बिर नराख्दैमा चाडपर्व मनाइएन भन्न मिल्छ । तर सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउनु पर्ने दबाबले मानिसको व्यवहार र प्राथमिकतामा प्रभाव पार्न थालेको छ । अरूका आकर्षक तस्बिरसँग आफ्नो जीवन तुलना गर्ने प्रवृत्तिले कतिपय व्यक्तिमा अनावश्यक असन्तुष्टि र हीन भावना समेत पैदा गरिरहेको अवस्था छ । चाडपर्वको खुसी सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियाले होइन, परिवारमा बढेको आत्मीयता, सम्बन्धमा थपिएको विश्वास र मनमा पैदा भएको सन्तुष्टिले मापन गर्दछ  ।

एक समय थियो, दशैँको बिदा सुरु हुना साथ गाउँघरका बालबालिका खेलकुदमा रमाउँथे । खेतका खाली गराहरू, विद्यालयका मैदान, नदीका बगर र खुला चौरहरू उनीहरूका खेलस्थल बन्थे । क्रिकेट, टिप्पु, डन्डीबियो र अन्य स्थानीय खेलमा बालबालिका झुम्मिन्थे । खेलका क्रममा हुने प्रतिस्पर्धा, हाँसो, सामान्य विवाद र मेलमिलापले बाल्यकाललाई अविस्मरणीय बनाउँथ्यो । ती खेल केवल मनोरञ्जनका माध्यम थिएनन् । तिनले बालबालिकामा शारीरिक सक्रियता, अनुशासन, सहकार्य, नेतृत्व क्षमता र सामाजिक सम्बन्ध विकास गर्न मद्दत गर्थे । साथीभाइसँग प्रत्यक्ष भेटेर खेल्दा उनीहरूले हार स्वीकार गर्न, जितमा संयमित हुन र सामूहिक रूपमा काम गर्न पनि सिक्थे । तर अहिले धेरै बालबालिकाको मनोरञ्जनको प्रमुख साधन मोबाइल फोन बन्दै गएको  छ । खुला मैदानमा साथीभाइसँग खेल्नुभन्दा मोबाइलमा डिजिटल खेल खेल्ने, भिडियो हेर्ने र सामाजिक सञ्जालमा समय बिताउने प्रवृत्ति बढिरहेको छ ।

dirghayi clinic

प्रविधिले बालबालिकालाई ज्ञान र सूचनाको संसारसँग जोडेको छ । डिजिटल माध्यमबाट नयाँ कुरा सिक्न र सिर्जनात्मक क्षमता विकास गरेको छ । तर मोबाइलको अत्यधिक प्रयोगले शारीरिक गतिविधि, पर्याप्त निद्रा, पढाइ र प्रत्यक्ष सामाजिक अन्तरक्रियाका लागि छुट्याइने समय घटाइरहेको छ । यसको जिम्मेवारी बालबालिकालाई मात्र दिएर हुदैन । अभिभावकको व्यवहार, विद्यालयको वातावरण ले पनि निर्धारण गर्छ । बालबालिकालाई मोबाइल नचलाउन आग्रह गर्नुका साथै खेल मैदान, पुस्तकालय, सांस्कृतिक कार्यक्रम र सामूहिक गतिविधिमा सहभागी हुने अवसर दिनु आवश्यक छ ।

दशैँ लागेसँगै आकाशमा रङ्गीचङ्गी चङ्गा उडेको दृश्यले गाउँ घरमा छुट्टै रौनक ल्याउँथ्यो । कसको चङ्गा अग्लो पुग्ने, कसले अरूको चङ्गाको धागो काट्ने र कसले आफ्नो चङ्गालाई लामो समयसम्म आकाशमा टिकाइ राख्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । छत, आँगन र खुला मैदानमा चङ्गा उडाउने बालबालिका तथा युवाको चहलपहल देखिन्थ्यो । तर चङ्गाको धागोदे अब मोबाइलको स्क्रिनसम्म पुगी सकेको छ । तिहारमा देउसीभैलो खेल्ने, मादल बजाउने, सामूहिक नाचगान गर्ने र टोल छिमेकमा खुसी साट्ने परम्पराले थिए । आज यी परम्परा सबै ठाउँबाट हराइसकेका छैनन् । तर आधुनिक मनोरञ्जनका माध्यमको विस्तारसँगै कतिपय स्थानमा तिनको अभ्यास घटेको अनुभव गर्न सकिन्छ । परम्परागत खेल र सामूहिक गतिविधिको ठाउँ डिजिटल मनोरञ्जनले लिन थालेपछि नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृतिसँग प्रत्यक्ष परिचित हुने अवसर गुमाउन लागि सकेका छन ।

नेपाली समाजमा चाडपर्व धार्मिक आस्था, सांस्कृतिक पहिचान र पारिवारिक सम्बन्धसँग गहिरो रूपमा जोडिएका छन् ।
प्रविधिले धार्मिक तथा सांस्कृतिक अभ्यासलाई पनि प्रभावित गरेको छ । धार्मिक विधिबारे जानकारी लिन, पूजाका सामग्री जुटाउन, पात्रो हेर्न र टाढा रहेका आफन्तलाई धार्मिक कार्यक्रममा जोड्न मोबाइल उपयोगी बनेको छ । तर कतिपय अवस्थामा धार्मिक विधि वा कर्मकाण्डमा सहभागी हुँदा त्यसको मर्म बुझ्नुभन्दा तस्बिर खिच्ने, भिडियो बनाउने र प्रत्यक्ष प्रसारण गर्ने कामले प्राथमिकता पाउन थालि सकेको छ । धार्मिक तथा सांस्कृतिक गतिविधिलाई सामाजिक सञ्जालमा प्रदर्शन गर्ने माध्यममा मात्र सीमित गरियो भने त्यसको भावनात्मक र सांस्कृतिक पक्ष ओझेलमा पर्ने जोखिम बढ्दै छ ।

सामाजिक सञ्जालको सकारात्मक पक्षलाई बेवास्ता गर्न सकिँदैन । वैदेशिक रोजगारीमा रहेका,देशका विभिन्न ठाउँमा रहेका आफन्तले चाडपर्वका शुभकामना आदानप्रदान, विपद्का बेला सूचना प्रवाह, र सहयोग जुटाउने जस्ता कार्यमा सामाजिक सञ्जाल उपयोगी पनि बनेको छ । तर यही प्रविधिको अत्यधिक प्रयोगले एउटै घरभित्र रहेका मानिसबीच पनि दूरी बढाउने जोखिम पनि उतिकै बढी रहेको छ  । परिवारका सदस्य एउटै कोठामा बसेर आ आफ्नै मोबाइलमा व्यस्त हुँदा प्रत्यक्ष कुराकानी कम हुने, बालबालिकाले हजुरबा–हजुरआमाबाट कथा सुन्ने, परिवारको इतिहास जान्ने र स्थानीय संस्कृतिबारे सिक्ने अवसर गुमाइरहेका छन ।

चाडपर्वको मौलिकता जोगाउने जिम्मेवारी कुनै एक व्यक्ति वा संस्थाको मात्र होइन । परिवार, विद्यालय, समुदाय र स्थानीय तह सबैको यसमा भूमिका हुन्छ । परिवारले चाडपर्वका बेला सामूहिक रूपमा समय बिताउने, बालबालिकालाई परम्परागत खेलमा सहभागी गराउने र अग्रजबाट संस्कार तथा संस्कृति सिक्ने वातावरण बनाउन सक्छ । विद्यालयले स्थानीय खेलकुद, सांस्कृतिक कार्यक्रम र परम्परागत ज्ञानसँग सम्बन्धित गतिविधिलाई प्राथमिकता दिन सक्छन् ।

चाडपर्वको वास्तविक अर्थ तस्बिर पोस्ट गर्नु, लाइक गन्नु र अरूलाई आफ्नो खुसी देखाउनुमा मात्र सीमित छैन । यसको सार परिवारसँगको आत्मीयता, आफन्तसँगको भेटघाट, अग्रजको आशीर्वाद, बालबालिकाको हाँसो, परम्परागत खेलको रौनक र सांस्कृतिक पहिचानको संरक्षणमा निहित छ ।

प्रविधिको विकासलाई रोक्न सकिँदैन, न त रोक्नु आवश्यक छ। तर प्रविधिको प्रयोगले हाम्रो मौलिकता, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई कमजोर बनाउने अवस्था आउन दिनु हुँदैन । सामाजिक सञ्जाललाई सम्बन्ध जोड्ने माध्यम बनाऔँ, सम्बन्धको विकल्प होइन । मोबाइललाई ज्ञान र सिर्जनाको साधन बनाऔँ, हाम्रो सम्पूर्ण समय कब्जा गर्ने माध्यम होइन । हामीले आफैँलाई प्रश्न गर्नु पर्छ चाडपर्व अरूलाई देखाउनका लागि मनाउने हो कि आफ्नै मनलाई खुसी बनाउन, सम्बन्धलाई बलियो बनाउन र संस्कृति जोगाउन ? फेसबुकमा कति लाइक पाइयो भन्नेभन्दा परिवारसँग कति समय बिताइयो, सम्बन्धमा कति आत्मीयता थपियो र आफ्नो संस्कृतिलाई कति जीवन्त राखियो भन्ने कुराले चाडपर्वको वास्तविक महत्त्व निर्धारण गर्नु पर्छ । चाडपर्वको रौनक मोबाइलको स्क्रिनमा देखिने तस्बिरमा मात्र होइन, घरआँगनमा गुञ्जिने हाँसो, आफन्तबीचको आत्मीयता, गाउँघरका खेलमैदान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृतिमा जीवित रहनु पर्छ ।

धन्यवाद

Himal dental
सम्बन्धित
Loading...