

महेन्द्रनगर । काँंग्रेस कञ्चनपुर क्षेत्र नं. २ को १५औँ क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम गरिएको छ ।
अधिवेशनबाट क्षेत्रीय सभापतिमा सर्वसम्मत रूपमा चयन भएका करन सिंह ऐरसहित क्षेत्रीय, प्रदेश सभा क्षेत्रीय कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको हो । शपथग्रहणसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ ।

अधिवेशनबाट ऐरको नेतृत्वमा २३ सदस्यीय क्षेत्रीय कार्यसमिति गठन गरिएको छ । क्षेत्रीय सचिवमा तोयराज पन्त र सुरेश रावल तथा सहसचिवमा नैन सिंह मडै र रमेश भट्ट चयन भएका छन् ।

त्यसैगरी, क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा ‘क’ को सभापतिमा हरि सिंह गैरा र प्रदेश सभा ‘ख’ को सभापतिमा थानेश्वर भट्ट चयन भएका छन्। दुवै प्रदेश सभा क्षेत्रमा २८–२८ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
अधिवेशनले समावेशिताका आधारमा ३५ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ । प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रमले अधिवेशनबाट चयन भएका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई औपचारिक रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रक्रियालाई अघि बढाएको छ ।
