

– प्रभु निधि पन्त
समय कति छिटो बित्दोरहेछ! हिजोजस्तो लाग्ने बाल्यकालका सम्झनाहरू आज इतिहास बनेका छन् । कुनै समय आफ्नै पाइला चलेका गोरेटाहरू खोज्नुपर्ने अवस्था आएको छ । आँखाले देखेको गाउँ र मनभित्र बसेको गाउँबीचको दूरी बढ्दै गएको छ । गाउँ त आफ्नै हो, त्यहाँका मानिस पनि आफ्नै हुन्, तर पनि किन हो किन, एक दशकपछि गाउँको फन्को लगाउँदा बिरानो ठाउँमा पुगेजस्तो अनुभूति भयो ।
यो अनुभूति गाउँप्रतिको मोह घटेर होइन, बरु गाउँले छोटो समयमा गरेको असाधारण परिवर्तनका कारण उत्पन्न भएको हो । जुन गाउँमा चार दशकअघि सीमित पूर्वाधार, अभाव र कठिनाइका बीच जीवन बिताउनु पथ्र्यो, आज त्यही गाउँमा सडक, विद्यालय, बैंक, अस्पताल र व्यापारिक प्रतिष्ठानहरू विस्तार भएका छन् । हिजोको हरियाली गाउँ आज विस्तारै कङ्क्रिटको बस्तीमा परिणत हुँदै छ ।
आजभन्दा करिब चार दशकअघि मेरो परिवार बैतडीबाट बसाइँ सरेर कृष्णपुर नगरपालिका–१ स्थित बण्ड गाउँमा आएको थियो । त्यसबेला यहाँको सामाजिक, आर्थिक र भौतिक अवस्था अहिलेको भन्दा निकै फरक थियो । विकासका पूर्वाधार सीमित थिए, दैनिक जीवनका आवश्यकताहरू पूरा गर्न कठिन थियो र सामान्य कामका लागि पनि टाढाटाढा पुग्नुपर्ने बाध्यता थियो । तर अभावका बीच पनि गाउँमा आत्मीयता थियो, प्रकृतिसँगको निकटता थियो र छिमेकीबीच सहयोगको भावना थियो । त्यही गाउँको सम्झना बोकेर आज फर्किंदा गाउँको बदलिएको स्वरूपले मनमा खुसी र विस्मय दुवै पैदा गरायो ।
विद्यालय जान गोरेटो नापेका दिनत्यतिबेला कृष्णपुर नगरपालिका–१ र २ का विद्यार्थीका लागि शैक्षिक अवसर निकै सीमित थिए । हाम्रो क्षेत्रमा एउटा मात्रै निम्न माध्यमिक विद्यालय थियो । राष्ट्रिय माध्यमिक विद्यालय, पहरिया क्षेत्रमा अध्ययन गर्ने अवसर नपाउने विद्यार्थीले झलारी, गुलरिया वा अहिले शुक्लाफाँटा नगरपालिका तथा कृष्णपुर नगरपालिकाका कार्यालय रहेका क्षेत्रतिर पुगेर कृष्ण माध्यमिक विद्यालयमा अध्ययन गर्नु पर्ने अवस्था थियो । विद्यालय पुग्न लामो दूरी पैदल हिँड्नु पथ्र्यो । वर्षा याममा बाटाहरू हिलाम्मे हुन्थे । खोला, नाला र खेतका आली हुँदै विद्यालय पुग्नु विद्यार्थीका लागि दैनिक चुनौती थियो । अहिलेको पुस्ताले सहज रूपमा प्राप्त गरिरहेको शैक्षिक अवसर त्यस बेला धेरैका लागि कठिन सङ्घर्षको विषय थियो । आज गाउँको शैक्षिक अवस्था बदलिएको छ । विद्यालयको पहुँच विस्तार भएको छ । क्याम्पस र निजी विद्यालयहरू खुलेका छन् । आफ्नै गाउँ नजिक शिक्षा प्राप्त गर्ने अवसर बढेको छ । जुन सुविधाका लागि पहिले घण्टौँ पैदल हिँड्नु पथ्र्यो, आज त्यो घर आँगनकै पहुँचमा पुगेको छ ।
हिलाम्मे बाटादेखि चक्रपथसम्म विगतको गाउँ सम्झिँदा वर्षा यामका हिलाम्मे बाटाहरू झलझली आँखा अगाडि आए । एक गाउँबाट अर्को गाउँ वा टोलसम्म पुग्न निकै कठिन हुन्थ्यो । खेतका आली र साँघुरा गोरेटाहरू नै आवतजावतका मुख्य माध्यम थिए । पानी परेपछि बाटोमा हिँड्न मुस्किल हुन्थ्यो । बिरामी पर्दा स्वास्थ्य संस्था पुग्न होस् वा दैनिक उपभोग्य वस्तु ल्याउन, निकै सास्ती खेप्नु पथ्र्यो । आज त्यही गाउँमा सडक सञ्जाल विस्तार भएको छ । पुराना गोरेटाहरूको ठाउँमा फराकिला बाटा बनेका छन् । कतिपय बाटा पक्की भएका छन् भने खेतका आली हुँदै हिँड्ने ठाउँमा चक्रपथ निर्माण भएका छन् । गाउँमा यातायातका साधनको पहुँच बढेको छ । हिजो हिँडेर पार गर्नु पर्ने दूरी आज मोटरसाइकल, अटो वा अन्य सवारी साधनमा केही मिनेटमै पूरा गर्न सकिन्छ । यसले मानिसको समय बचाएको छ, बिऊ उपजको बजारीकरण सहज बनाएको छ र गाउँलाई बाहिरी संसारसँग जोडेको छ ।
टुकीको उज्यालोदेखि बिजुलीको झिलिमिलीसम्म कुनै समय साँझ पर्ना साथ गाउँमा अँध्यारो छाउँथ्यो । घरभित्र उज्यालोका लागि टुकी बाल्नु पथ्र्यो । जङ्गली हात्तीको त्रास समेत हुने भएकाले कतिपय अवस्थामा राति आगो बालेर बस्नु पर्ने अवस्था थियो । टुकीको मधुरो उज्यालोमा पढ्ने विद्यार्थीका लागि अध्ययन गर्नु आफैँमा सङ्घर्ष थियो ।खानेपानीका लागि कुवा, नलका र नदीको पानीमा निर्भर हुनु पथ्र्यो । पानी लिन टाढा जानु पर्ने बाध्यता थियो । सिँचाइका पर्याप्त सुविधा थिएनन् । खेतीपाती आकाशे पानीमा निर्भर हुन्थ्यो । आज गाउँमा बिजुली पुगेको छ । खानेपानीका ट्याङ्की निर्माण भएका छन् । सिँचाइका लागि बोरिङको व्यवस्था गरिएको छ । मोबाइल फोन, इन्टरनेट र आधुनिक विद्युतीय उपकरणले गाउँलेको जीवनशैली परिवर्तन गरेका छन् । हिजो टुकीको उज्यालोमा रात बिताउने गाउँ आज बिजुलीको उज्यालोमा रमाइरहेको छ । सूचना र सञ्चारको क्षेत्रमा आएको परिवर्तनले गाउँलाई संसारसँग जोडेको छ ।

तीन वटा किराना पसलदेखि बैंक र होलसेल बजारसम्मचार दशक अघि कृष्णपुर–१ र २ क्षेत्रमा तीनवटा जति किराना पसल थिए । गाउँलेलाई आवश्यक पर्ने सामान्य सामान तिनै पसलबाट खरिद गर्नु पथ्र्यो । सबै सामान गाउँमै पाइँदैनथे । विशेष सामान किनमेल गर्न अत्तरिया झलारी वा मालाखेती पुग्नु पर्ने बाध्यता थियो । धान कुटाउन र गहुँ पिसाउन झलारी वा गुलरिया जानु पथ्र्यो । सामान्य घरायसी कामका लागि पनि समय र पैसा खर्च गर्नु पर्ने अवस्था थियो । आज गाउँको आर्थिक गतिविधि विस्तार भएको छ । गाउँमै होलसेल पसल खुलेका छन् । घर नजिकै सेलर मिल सञ्चालनमा आएका छन् । बैंक तथा वित्तीय संस्थाहरू खुलेका छन् । व्यापार व्यवसाय बढेको छ । गाउँलेले आफ्नै ठाउँमा रोजगारी र व्यवसायका अवसर खोज्न सक्ने अवस्था बन्दै गएको छ ।
सिटामोल खोज्नु पर्ने गाउँमा अस्पताल स्वास्थ्य सेवाको अवस्था सम्झिँदा विगतका कठिनाइ झन् स्पष्ट हुन्छन् । सामान्य ज्वरो आउँदा सिटामोल खोज्नु पर्ने अवस्था थियो । बिरामी पर्दा गाउँ घरमा उपलब्ध सीमित उपचारमा भर पर्नु पथ्र्यो । गम्भीर बिरामी हुँदा टाढा जानु पर्ने वा स्थानीय रूपमा प्रचलित बंगाली चिकित्सककहाँ उपचार खोज्नु पर्ने बाध्यता थियो । आज गाउँमा स्वास्थ्य संस्थाहरू स्थापना भएका छन् । स्वास्थ्य सेवा प्राप्त गर्न विगतको तुलनामा सहज भएको छ । सामान्य रोगको उपचारका लागि टाढा जानु पर्ने बाध्यता कम भएको छ ।
सुरक्षाको अनुभूतिदेखि सामुदायिक विकाससम्म गाउँमा खेल मैदान निर्माण भएका छन् । सामुदायिक वन स्थापना भएका छन् । स्थानीय स्तरमा सामूहिक गतिविधि र विकासका कामहरू विस्तार भएका छन् । बनहरा र मछेली नदीका बगरमा खेती गर्ने अभ्यासले स्थानीय स्रोत साधनलाई जीविकोपार्जनसँग जोड्ने सम्भावना देखाएको छ । त्यसैगरी अस्थायी प्रहरी चौकी स्थापना भएपछि स्थानीय बासिन्दामा सुरक्षाको अनुभूति बढेको छ । कुनै घटना हुँदा सुरक्षा निकायसम्म पुग्न विगतमा जस्तो कठिनाइ भोग्नु पर्ने अवस्था धेरै हदसम्म कम भएको छ ।
हरियाली गाउँ कङ्क्रिटको सहर बन्दै गाउँको पुरानो स्वरूप सम्झिँदा खेतबारी, रूखबिरुवा, खुला आकाश र हरियालीले भरिएको परिवेश आँखाअगाडि आउँछ । बिहान चराचुरुङ्गीको आवाज, खेतमा काम गरिरहेका किसान, गोठबाट फर्किरहेका गाईवस्तु र साँझपख घर आँगनमा भेला हुने गाउँलेहरू ग्रामीण जीवनका परिचित दृश्य थिए । आज ती दृश्यहरू विस्तारै बदलिँदै छन् । खेतबारीका बीचमा घरहरू थपिएका छन् । खुला ठाउँमा नयाँ संरचना बनेका छन् । सडक विस्तारसँगै बस्ती बाक्लिएको छ । गाउँको आर्थिक गतिविधि बढेको छ र जीवनशैली आधुनिक बन्दै गएको छ । यो परिवर्तनलाई रोक्न सकिँदैन, न त रोक्नु नै उचित हुन्छ । मानिसले राम्रो घर बनाउन पाउनु पर्छ, आधुनिक सुविधा उपभोग गर्न पाउनु पर्छ र आफ्नो जीवनस्तर उकास्न पाउनु पर्छ ।
तर प्रश्न उठ्छ, विकास गर्दै गर्दा हामीले के गुमाइरहेका छौँ ? यदि खेतबारी घरले भरिए, रूख बिरुवा मासिए, खुला ठाउँ हराए र पानीका प्राकृतिक स्रोतहरू सुक्दै गए भने भोलिको पुस्ताले कस्तो गाउँ पाउनेछ ? यदि गाउँको पहिचान नै कङ्क्रिटका संरचनामा सीमित भयो भने हाम्रो मौलिकता कहाँ बाँकी रहला ? आज गाउँमा व्यवस्थित बस्ती विकास, कृषि भूमिको संरक्षण, वृक्षारोपण, नदी तथा खोलाको संरक्षण र खुला क्षेत्रको व्यवस्थापन आवश्यक छ । सडक र घर बनाउनेसँगै हरियाली जोगाउने अभियान पनि अघि बढाउनु पर्छ । गाउँ सहर बन्नु समस्या होइन, तर गाउँको प्राकृतिक सौन्दर्य र मौलिक पहिचान हराउँदै जानु चिन्ताको विषय हो ।
बदलिएको गाउँ, बदलिँदो सम्बन्ध विकासले मानिसको जीवनशैली मात्र होइन, सामाजिक सम्बन्धलाई पनि परिवर्तन गरेको छ । कुनै समय गाउँमा कसैको घरमा दुःख पर्दा सिङ्गो गाउँ साथमा हुन्थ्यो । विवाह, व्रतबन्ध, खेतीपाती र अन्य सामूहिक काममा गाउँलेहरू एक अर्कालाई सहयोग गर्थे । छिमेकीको घरमा के भइरहेको छ भन्ने कुरा सबैलाई थाहा हुन्थ्यो । गाउँमा अभाव थियो, तर आत्मीयता थियो। सुविधा कम थिए, तर एकअर्कालाई सहयोग गर्ने भावना बलियो थियो । आज मानिसको व्यस्तता बढेको छ । रोजगारी, व्यापार, वैदेशिक रोजगार र आधुनिक जीवनशैलीले सामाजिक सम्बन्धको स्वरूप बदलिएको छ । मोबाइल र सामाजिक सञ्जालले संसारका मानिसलाई नजिक बनाएको छ, तर कहिलेकाहीँ एउटै टोलमा बस्ने मानिसबीच पनि दूरी बढेको अनुभूति हुन्छ ।
एक दशकपछि गाउँको फन्को लगाउँदा देखिएका परिवर्तनले मनमा खुसी पैदा गरे । विद्यालय, सडक, खानेपानी, बिजुली, स्वास्थ्य सेवा, बैंक तथा व्यापारिक प्रतिष्ठानको विस्तारले गाउँलेको जीवन सहज भएको छ । विगतमा भोगेका कठिनाइहरू सम्झिँदा आजको विकासप्रति गर्व लाग्छ । तर त्यही गाउँका पुराना गोरेटाहरू खोज्दा, खेतबारीका ठाउँमा घरहरू ठडिएको देख्दा र पहिलेको हरियाली कम हुँदै गएको महसुस गर्दा मनमा एक किसिमको डर पनि पैदा भयो । चार दशक अघि बैतडीबाट बसाइँ सरेर आएको मेरो परिवारका लागि बण्ड गाउँ केवल बसोबास गर्ने ठाउँ मात्र होइन । यो हाम्रो जीवनको यात्रा, सङ्घर्ष, अनुभव र सम्झनासँग जोडिएको भूगोल हो । त्यसैले गाउँको परिवर्तनलाई हेर्दा विकासको खुसीसँगै विगतको सम्झनाले मन भावुक बनाउनु स्वाभाविक थियो होला ।
अन्त्यमा गाउँ बदलिएको छ, समय बदलिएको छ र हामी पनि बदलिएका छौँ । हिजोका अभावहरू आजका सुविधामा रूपान्तरण भएका छन् । हिजोका गोरेटाहरू आजका सडक बनेका छन् । टुकीको उज्यालो बिजुलीमा बदलिएको छ । सामान्य किराना पसलहरूको ठाउँमा बजार विस्तार भएको छ । शिक्षा र स्वास्थ्यका अवसर बढेका छन् । यी सबै परिवर्तन विकासका उपलब्धि हुन् । तर अबको चुनौती भौतिक विकासलाई वातावरणीय संरक्षण, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग जोड्नु हो ।
हामीले भावी पुस्तालाई सडक र भवनले भरिएको बस्ती मात्र हस्तान्तरण गरेर पुग्दैन । हरियाली, स्वच्छ वातावरण, उर्वर कृषि भूमि, सुरक्षित नदी किनार र आत्मीय सामाजिक सम्बन्धले भरिएको गाउँ पनि हस्तान्तरण गर्नु पर्छ । आज आफ्नै गाउँमा एक दशकपछि फन्को लगाउँदा बिरानो लाग्नुको कारण गाउँप्रतिको माया कम हुनु होइन, बरु मनभित्रको पुरानो गाउँ र आँखा अगाडिको नयाँ गाउँबीचको अन्तर हो ।
