

महेन्द्रनगर । बेदकोट नगरपालिका–१, रडाहाका राज बहादुर ऐरको घर आगो लागेर जलेपछि सहयोग आउन थालेको छ ।
सामाजिक अभियन्ता धिरेन्द्र सिंह धामीले बनाएको ऐरको जलेको घर सहितको भिडियो विकल्प दैनिकमा सार्वजनिक भएको थियो ।
भिडियो सार्वजनिक भएपछि ऐर परिवारलाई विभिन्न क्षेत्रबाट सहयोग आउन लागेको छ ।
सामाजिक अभियन्ता धामीले आगलागी भए घर क्षतिग्रस्त भएको दुःखद घटनाबारे भिडियोबाट बाहिर आएपछि सहयोग आउन थालेको बताए ।

ऐर परिवारलाई हालसम्म भारतबाट समेत सहयोग रकम आएको छ ।
बेदकोट नगरपालिका–३, पेलितालका द्रोपती पन्तले ५ सय ५ रुपैँया सहयोग गरेका छन् ।
बेदकोट नगरपालिका–१, रडाहाका तेज पनेरुले तीन हजार दुई सय सहयोग गरेका छन् । उनी भारतको पञ्जाबमा नोकरी गर्दै आएका छन् ।
‘दुःखको घडीमा पीडित परिवारप्रति देखाउनु भएको यो सहयोग, सद्भाव र मानवीय भावनाप्रति दुवै सहयोगी मनहरूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्छु’ उनले भने ।
धामीले बेदकोट ३ दैजीका अशक्त र अनाथ कालु डगौरालाई सहयोग संकलन गरी उपचारका लागि भारत पुगाएका छन् ।
विद्युत तार सर्ट भएर ऐरको घरमा आगलागी भएको थियो ।
