
दशौँ राष्ट्रिय खेकुलद प्रतियोगिताका लागि कञ्चनपुरमा खेलाडी छनौट सुरु, २३ खेलका ८ सय बढी खेलाडी सहभागी, पहिलो दिन भारोत्तोलन र बक्सिङ्गका खेलाडी छानिए

महेन्द्रनगर । सुर्खेतमा हुने १० औं दशौँ बृहत राष्ट्रिय खेकुलद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला स्तरीय छनौट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले छनौट प्रतियोगिता उद्घाटन गरेका छन् ।
तीन दिनसम्म चल्ने छनौट प्रतियोगिताबाट सुदूरपश्चिम स्तरीय छनौट प्रतियोगिताका लागि खेलाडी छनौट गर्न लागिएका छन् । मंगलबार उद्घाटनपछि भारोत्तोलन र बक्सिङ्गका खेलाडी छनौट भएका छन् ।
भारोत्तोलनमा महिला र पुरुषतर्फ ६ खेलाडी छनौट गरिएका छन् । महिलामा नामी लामिछाने (४९ किलो) र चम्फा ठकुल्ला(८५किलो) तौल समूहमा छानिएका छन् ।
सुभास उपाध्यय ११० किलो तौल समूहमा छानिएका छन् भने आर्यन भण्डारी ९५ र प्रदिप भण्डारी ८५ किलो तौल समूहमा छनौट भएका छन् ।
यसैगरी बक्सिङ्गमा पुरुषतर्फ सन्दिप विष्ट, दिपेश जैरु, विपिन महरा, जीवन चन्द, नविन जाग्री, उदिप भण्डारी, बालकृष्ण सुनार, अरबिन बम, विपिन पुजारा र ललित भट्ट छनौट भएका छन् ।
महिलामा सोनिया सेट्टी छनौट भएकी छन् । उनी ५१ किलो तौल समूहमा छानिएकी छन् ।
छनौट प्रतियोगिताबाट २३ खेलका खेलाडी छनौट गरिने कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले बताए ।

ती खेलबाट झण्डै अढाई सय बढी खेलाडी छनौट हुने उनले बताए ।
समितिले छनौट प्रतियोगितामा सहभागिताका लागि निवेदन दिन सार्वजनिक सूचना जारी गरेको थियो । त्यस अनुसार ८ सय १८ खेलाडीले निवेदन दिएका छन् ।
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले विभिन्न २३ खेलमा ८ सय १४ जना खेलाडी प्रतिस्पर्धाका लागि मैदानमा आएको बताए ।
“जिल्लाबाट प्रदेश छनौटका लागि कञ्चनपुरबाट २३ खेलमा १ सय ६६ महिला र १ सय ९६ पुरुष खेलाडी छनौट हुने छन्’ उनले भने ।
खेलकूद विकास समितिले छनौट प्रतियोगिता गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रावलले खेलकूद विकासका लागि प्रदेश सरकारले कञ्चनपुरलाई प्राथमिकतामा राखेको बताए ।
‘यो पालिको बजेटमा यहाँ विभिन्न खेल संरचना निर्माणमा प्रदेश सरकारले बजेट विनियोजन गरेको छ” रावलले भने, “खेलाडीहरुले पदक ल्याउने मात्र नभई अनुशासनमा रही खेलकुदमा अघि बढ्नु पर्छ ।”
उद्घाटन कार्यक्रमको अध्यक्षता खेलकुद समितिका अध्यक्ष सिंहले गरेका थिए ।
कार्यक्रममा सुुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्द, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, कबड्डी संघा अध्यक्ष महेश चन्द, सितोरियो कराते संघका अध्यक्ष गजेन्द्र बहादुर चन्द र जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनी लगायत सहभागी खेलाडी, प्रशिक्षक सहभागी भएका छन् ।
