
सत्तारुढ रास्वपाका साँसद धामी र महताले गरे प्रशासन कार्यालयमा भूमि समस्या सम्बन्धि सरकारी कार्यालयका प्रमुखसित छलफल

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद जनक धामी र ज्ञानेन्द्र सिंह महताले भूमि समस्या समाधान सम्बन्धि छलफल गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समिति कञ्चनपुरले आयोजना गरेको जिल्लास्थित सरकारी कार्यालयका प्रमुख सहितको बैठकमा साँसदले छलफल गरेका छन् ।

कञ्चनपुर निर्वाचक क्षेत्र नं. १ का साँसद धामी र ३ का साँसद महताले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीका जग्गासम्बन्धी समस्या समाधान गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने विषयमा छलफल गरेका छन् ।
अध्यादेश मार्फत जग्गाधनी प्रमाणपुर्जा वितरणको बाटो खुलेसँगै अब सबै स्थानीय तहले जग्गाको नापजाँच तथा नक्साङ्कन गरी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण प्रक्रिया छिटो सम्पन्न गरी काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैगरी, नापी तथा मालपोत कार्यालयले आवश्यक प्रमाणीकरण र अन्य प्रक्रियाहरू शीघ्र सम्पन्न गरी जग्गाधनी प्रमाणपुर्जा तयार तथा वितरण गर्ने कार्यलाई तीव्रता दिने विषयमा जोड दिइएको छ ।
बैठकमा विकास निर्माण, जनसरोकारका विषय, धान खरिद प्रक्रियालाई सहज बनाउने तथा रासायनिक मल वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको छ ।
