

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ बिजय टोलकी फूल परी २०७९ को स्थानीय तह निर्वाचन अघि घरधन्दामा व्यस्त हुने गर्थिन । घरायसी काम सकिएपछि पसल हेर्ने गथिन् ।
स्थानीय तह निर्वाचन आए पछि उनको दिनचार्या फेरियो । चुनावमा मत माग्न जनताको घरदैलो पुगिन । चुनाव जितिन । वडा सदस्य भइन । त्यसपछि वडा सदस्य भएर वडाका कामकाज सक्रिय छिन् ।
पहरी नेकपा एमालेबाट वडा सदस्य चुनाव लडेकी थिइन् । पहिलो पटक चुनाव उनी पहिलो प्रयासमै वडा सदस्य भएकी हुन् ।
‘म त घरको काम, खेतीपाती, त्यही त हो गर्ने, घरमा पसल छ, त्यो पनि हेर्थे’,परीले सुनाईन, ‘अहिले पनि काम त गर्छु, त्यो बाहेक जनताको सेवा पनि गर्छु, अहिले त वडा सदस्य पनि छु ।’
पहरी २०७४ को स्थानीय तह निर्वाचन पछि एमाले राजनीतिमा आएकी हुन् । २०७४ को चुनाव उनले एमाले उम्मेदवार जिताउन प्रचार प्रसार गरेकी थिइन् । उनका घर परिवार एमाले राजनीतिमा छन् । परीका ससुरा लाल परी एमाले नेता हुन् ।
दुई सन्तानकी आमा परी बिहे अघिसम्म राजनीतिबाट टाढा थिइन् । उनी पढेर जीवन केही गर्न चाहन्थिन । सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयमा १० कक्षा पढ्दै गर्दा बिहे भएपछि उनी सबै इच्छा थाती राख्न पुगिन् ।
२०७३ मा विहे भएपछि सुकासालकी परी भीमदत्त १३ महाकाली नदी किनारको बिजय टोलको बासिन्दा हुन पुगेकी थिइन् ।
‘म त पढ्न चाहन्थे, बिहे पछि पनि पढ्छु त भनेर सोचेको थिए, तर सकिएन’ उनले भनिन्, ‘त्यो बेला त म यसरी राजनीति गरी वडा सदस्य बन्छु भन्ने केही थाह थिएन, सोचेकी थिइन, पढेर केही चाहि गर्छु भन्ने चाहि सोच्थे ।’
एमालेले पढे लेखेकी र दलित समुदायका लागि केही गर्न सक्ने सोचेर पार्टी सदस्य बनाएको उनी बताउँछिन् ।
‘दलित समुदायमा पढे लेखेकी छ ,केही गर्न सक्छे भनेर सदस्य बनायो, सबैको साथ सहयोग पाए’ उनले भनिन्, ‘चुनाव लडे, वडा सदस्त भएकी छु ।’
चुनाव लड्दा पनि उनी घरायशी काम सकेर प्रचारमा जाने गर्थिन् । बिहान चार बजे उठेर भैसीको दुध दुहुने र बिक्रि गर्न पठाएपछि परी प्रचारमा निस्किन्थिन् ।
‘अहिले पनि घरको सबै काम गर्छु, काम नगरी त हुँदैन’ उनी भन्छिन ।
वडाको बिकास र बर्षौदेखिका समस्या हल गर्न आफूले सक्दो पहल गरेको उनी बताउँछिन् ।
‘वडाको वजेट थोरै हुन्छ, समस्या धेरै छ्न, जनताले आश गर्छन्’ उनने भनिन्, ‘वडाले सक्ने जति गरि रहेका छौ, प्रदेश र संघ सरकारसम्म पहल गरि रहेका छौ ।’
भीमदत्त १३ मा छाउपढी प्रथा पहिले भन्दा कम भएको परी आफैले देखेकी छिन् ।

महिला रजश्वला भएपछि चार दिन घर बाहिर छाउपढी गोठमा बस्ने चलन पहिले भन्दा कम भएको छ ।
अहिले महिलाले घरभित्रै बस्ने गरेका छन् । छाउपढी गोठमा बस्न राम्रो नभएको जन चेतनाले महिलाहरु गोठमा बस्न पर्ने बाध्यताबाट बाहिर निस्क्न पुगेको उनी बताउँछिन् ।
‘अहिले छाउपढी पहिला भन्दा त कम भो, पहिला छाउ भएपछि अलग्गै बस्ने खाने, चार दिनसम्म घर पस्न दिँइदैन थियो’ उनले भनिन्,‘अहिले पहिलो जस्तो छैन, घरभित्र बस्ने गर्छन् ।’
सामाजिक परम्पराले महिलाले छाउगोठमा बस्ने कुरा अहिलेको समय अनुसार राम्रो हुन नसक्ने उनी बताउँछिन् ।
‘यो त्यो बेलाका परम्पराको हिसाबले सहि मान्ने गरिएको हो, अहिलेको समयमा त गलत हो’ उनले भनिन्, ‘सबैले छाडेको नै निको हो ।’
महाकाली नदी किनार वालुवा चालेर खाने महिलाको हालत देखेर परी दुःखी छिन् । उनी ती महिलाको अवस्था सुधार गर्न पाए राम्रो हुने सोच्छिन् ।
ती महिलालाई तालिम दिएर आफ्नो हक अधिकारबारे सचेत र काम गर्दा सुरक्षित हुनका लागि तालिम दिएको उनी बताउँछिन् ।
महिलामाथि लैङ्गिक र घरेले हिंसा रोकथाम गरी समाजलाई समता मुलक बनाउन सकिने परीले बताईन् ।
समाजमा जातीय भेदभाव र छुवाछूत पनि अन्त्य गर्न पर्ने ठूलो चुनौति भएको उनी बताउँछिन् ।
चुनाव जितेपछि परी आफैले पनि विभेदको अनुभूति गरेकी थिइन् । चुनाव जितेपछि उनी निर्वाचित अन्य जन प्रतिनिधि र नेता सहित धन्यवाद दिन शिब नगर टोल पुगेकी थिइन् ।
‘अहिले त त्यस्तो भएको लाग्दैन, त्यहाँ चाहि सबैलाई माला र टीका लगायो , मलाई केही भनेन’ उनले भनिन्, ‘त्यो बेला विभेदको अनुभूति त भयो, तर मैले केही भनिन ।’
जातीय विभेद तथा छुवाछूत पनि अन्त्य हुनेमा उनी आशावादी छिन् ।
‘एक्कासि त हटाउन सकिन , समय त लाग्छ’ उनले भनिन् ।
परी राजनीतिमा निरंतरता दिने बताउँछिन् । राजनीतिमा पहुँच नभएसम्म आफनो गाउँ ठाउँ र समुदायको विकास गर्न नसकिने उनले सोचेकी छन् ।
अहिले उनी एमालेको अखिल नेपाल महिला संघ र एमाले नगर कमिटी सदस्य छिन् ।
‘म अब राजनीतिमा लागि रहनेछु, पहुँच नभए विकास कसरी हुन्छ’ उनले भनिन् ।
