
काँग्रेस संस्थापन इतरको बुधबार हुँदैछ जिल्ला अधिवेशन, नेतृत्वमा दोहोरिन खोज्दै बोगटी, उप सभापति सिंह, सचिव भट्ट सहित तरुण दलका अध्यक्ष चन्द पनि छन् आकाँक्षी

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको कञ्चनपुरले बुधबार जिल्ला अधिवेशन गर्ने भएको छ । काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित समितिले १५ औं नियमित महाधिवेशन अन्र्तगत बुधबार जिल्ला अधिवेशन गर्न लागेको छ ।
यस अघि संस्थापन इतरले महाधिवेशन अन्र्तगत असोज १५ गते वडा अधिवेशन, त्यसपछि पालिका र क्षेत्रीय अधिवेशन गरेको थियो ।
वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुन पाउने भएका छन् । अधिवेशनमा दुई हजार दुई सय मतदाता सहभागी हुने बताइएको छ ।
काँग्रेस कञ्चनपुरको केही दिन अघि बसेको जिल्ला कार्य समिति बैठकले मंसिर २ गते अर्थात बुधबार जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।
काँग्रेस पार्टी कार्यालयमा हुने अधिवेशन उद्घाटन समारोहमा पूर्व मन्त्रीद्वय रमेश लेखक, एनपी साउँद र बीर बहादुर बलायर सहभागी हुने भएका छन् ।
यस अघि वडा, पालिका र क्षेत्रीय अधिवेशनमा नेताद्वय लेखक र साउँद सहभागी भएका थिए । पार्टी कार्यालयमा अधिवेशन तयारी सुुरु गरिएको नेताहरुले बताएका छन् ।
जिल्ला अधिवेशन गर्ने निर्णयपछि जिल्ला नेतृत्वका आकाँक्षी आन्तरिक भेटघाट थालेका छन् ।
१५ औं महाधिवेशनमा जिल्ला नेतृत्वका लागि सभापति पदम बोगटी, उप सभापति मिन बहादुर सिंंह, सचिव भीम भट्ट र तरुण दलका अध्यक्ष महेश चन्द आकाँक्षी देखिएका छन् ।
जिल्ला पदाधिकारीमा महाधिवेशन प्रतिनिधिले मात्रै चुनाव लड्न पाउने काँग्रेस विधान छ ।
१४ औं महाधिवेशनबाट सभापति भएका बोगटी १५ औं महाधिवेशनमा स्वतः महाधिवेशन प्रतिनिधि भएका थिए ।

बोगटी फेरि नेतृत्वमा दोहोरिने चाहना राखेको नेताहरु बताउँछन् । उनी भीमदत्त नगरपालिकाका मेयर हुन् ।
१४ औं महाधिवेशनमा बहादुर सिंह थापालाई पराजित गरी बोगटी सभापति भएका थिए । थापा विशेष महाधिवेशनपछि संस्थापन पुगेर केन्द्रीय सदस्य भएका छन् ।
कञ्चनपुर काँग्रेसका तत्कालिन दुई समूहमा थापा र बोगटी एनपी समूहमा थिए । १४ औं महाधिवेशनबाट बोगटी साउँद छाडेर लेखक समूह आएका थिए ।
अहिले लेखक र साउँद सबै संस्थापन इतर समूहमा छन् ।
१४ औं महाधिवेशनमा लेखक समूहबाट उप सभापति निर्वाचित मिन बहादुर सिंह र सचिव भीमराज भट्ट नेतृत्वको दौडमा लागेका छन् ।
सिहं कञ्चनपुर २ र भट्ट ३ बाट महाधिवेशन प्रतिनिधि भएका हुन् ।
तरुण दल कञ्चनपुरका सभापति महेश चन्द जिल्ला नेतृत्वका लागि आँकाक्षी देखिएका छन् ।
१४ औं महाधिवेशनमा उनी काँग्रेसको तत्कालिन एनपी समूहबाट जिल्ला सभापति निर्वाचित भएका थिए ।
काँग्रेसलाई रुपान्तरण र पुस्तान्तरणका लागि युवालाई अवसर दिनु पर्ने चन्द बताउँछन् ।
चन्दले काँग्रेसका केन्द्रीय नेतासम्म आफू सभापतिका लागि चुनाव लड्ने जानकारी दिइ सकेका छन् ।
काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले पार्टी कार्यालयमा अधिवेशन उद्घान अघि बजारमा गाजा बाजा सहित रयाली निकालिने बताए ।
