
शैक्षिक क्षेत्रमा विशिष्ठ योगदान पुगाएको भन्दै प्रधानाध्यापक संघ नेपालले गर्यो बेदकोट नगरपालिकालाई पुरस्कृत

महेन्द्रनगर । सामुदायिक विद्यालयका प्रधानाध्यापकको संगठन प्रधानाध्यापक संघ नेपाल(पान) ले बेदकोट नगरपालिकालाई पुरस्कृत गरेको छ ।
जनकपुरमा भएको संगठनको तेस्रो राष्ट्रिय सम्मेलनमा शिक्षा क्षेत्रमा विशिष्ठ योगदान पुगाएको भन्दै सुदूरपश्चिम प्रदेशबाट बेदकोट नगरपालिकालाई पुरस्कार प्रदान गरिएको छ ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार सहित सम्मान पत्र ग्रहण गरे ।
मेयर बोहरा सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुन जनकपुर गएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा बोहरा काँग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

मेयर बोहराले नगरको नेतृत्व सम्हालेपछि सामुदायिक विद्यालयमा माध्यमिक तहमा शिक्षक दरबन्दी पूर्ति, भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर सुधार गरेका छन् ।
बेदकोटमा अनुदानमा नगर शिक्षक नियुक्त गरी माध्यमिक तहमा शिक्षक दरबन्दी पूर्ति गरिएको छ । माविमा दरबन्दी अपुग भएपछि नगर शिक्षक राखिएका हुन् ।
जनकपुरमा पुरस्कार भएपछि मेयर बोहराले कार्यपालिका, नगर शिक्षा समिति ,शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक ,शिक्षक,विद्यार्थी ,कर्मचारी सहित सबैमा आभार व्यक्त गरेका छन् ।
‘सुदूरपश्चिमबाट यस पटक बेदकोट नगरपालिकालाई आमन्त्रण गरि पुरुस्कृत गरेकोमा उक्त संस्थालाई धन्यवाद दिदैं सम्पूर्ण नगरवासीलाई बधाई ज्ञापन गर्दछु । कार्यपालिका, नगर शिक्षा समिति ,शिक्षा शाखा, विभिन्न विद्यालय सञ्चालक समिति, प्रधानाध्यापक ,शिक्षक,विद्यार्थी ,कर्मचारी र शिक्षा प्रमी सबैलाई बधाई ज्ञापन गर्दछु। कार्यक्रममा महामहिम पुर्व राष्ट्रपति रामवरण यादवज्यू बाट सम्मान पत्र ग्रहण गर्ने अबसर प्राप्त भयो। आयोजकहरुमा आभार’ मेयर बोहराले भनेका छन् ।
