ghar sansar

सुदूरपश्चिममा स्वास्थ्य : संरचना विस्तार, सेवा प्रवाह हालत उस्तै

khasi

गोकर्ण दयाल
बैतडी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य संस्थाको संरचना विस्तार भए पनि स्वास्थ्य संस्था सेवाको गुणस्तरमा अपेक्षा अनुसार सुधार हुन सकेको छैन । गाउँ गाउँमा स्वास्थ्य चौकी, आधारभूत अस्पताल र स्वास्थ्य सेवाको पहुँच विस्तार भए पनि सुदूरपश्चिम स्वास्थ्य सूचकाङ्कमा अझै पछाडि परेको छ ।

स्वास्थ्य निर्देशनालय, डोटीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को एकीकृत वार्षिक समीक्षा प्रतिवेदनले सुदूरपश्चिमका प्रमुख स्वास्थ्य सूचकाङ्क प्रथम पञ्चवर्षीय योजनाको लक्ष्यभन्दा निकै पछाडि रहेको पाइएको हो ।

ratnam

समीक्षा प्रतिवेदन अनुसार प्रदेशमा कुल ५९ अस्पताल, १३ प्राथमिक स्वास्थ्य केन्द्र, ३७१ स्वास्थ्य चौकी र २८३ आधारभूत स्वास्थ्य सेवा केन्द्रसहितको संरचना रहे पनि दक्ष जनशक्ति, प्रविधि र बजेट कार्यान्वयनको अभावले गुणस्तरीय सेवा प्रवाहमा चुनौती देखिएको जनस्वास्थ्य प्रशासक योगेशप्रसाद भट्टले बताए ।

स्वास्थ्य बिमा पहुँच कमजोर

सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरे पनि सुदूरपश्चिमका नागरिकले उपचारमा आफैँले बेहोर्नुपर्ने व्यक्तिगत खर्च ५४ प्रतिशत पुगेको छ ।

महँगो उपचार खर्चकै कारण सामान्य परिवारसमेत गरिबीको रेखामुनि धकेलिने जोखिम उच्च रहेको प्रतिवेदनमा औँल्याइएको छ । देशभरका कुल ५०१ स्वास्थ्य बिमा सेवाप्रदायक संस्थामध्ये बागमती प्रदेशमा १२३, कोशीमा ११४, लुम्बिनीमा ६९, गण्डकीमा ६३ र मधेश प्रदेशमा ५८ वटा संस्था आबद्ध छन् तर सुदूरपश्चिममा सबैभन्दा कम ३७ वटा मात्र संस्था आबद्ध रहेका छन् ।

क्यान्सरको कहर र विपन्नको पीडा

पछिल्लो समय सुदूरपश्चिममा सरुवा रोगभन्दा नसर्ने तथा जटिल प्रकृतिका रोगको भार भयावह बन्दै गएको छ ।

प्रदेशका नौ जिल्लाका ८८ मध्ये ८७ स्थानीय तहबाट जटिल रोगको उपचारका लागि विपन्न नागरिक सिफारिस लिने दुई हजार ३५७ जनाको तथ्याङ्क हेर्दा झन्डै आधा ४९.२ प्रतिशत अर्थात् एक हजार १६० जना क्यान्सरका बिरामी छन् । यस्तै मुटु रोगका ५३४, मिर्गौला रोगका ४१६, सिकलसेल एनिमियाका १४५, स्पाइनल इन्जुरीका ८४, हेड इन्जुरी तथा स्ट्रोकका १६ र अल्जाइमर्सका दुई जनाले उपचार सिफारिस लिएका छन् ।

जिल्लागत रूपमा तराईको कैलालीमा सबैभन्दा बढी एक हजार ३८ (४४ प्रतिशत) र हिमाली जिल्ला बाजुरामा सबैभन्दा कम ७८ (३.३ प्रतिशत) लाभग्राही छन् ।

कञ्चनपुर (बेदकोट नगरपालिका बाहेक) मा ४२५, बझाङमा १८२, बैतडीमा १५८, डोटीमा १४४, अछाममा १२२, डडेलधुरामा ११२ र दार्चुलामा ९८ जनाले यो सुविधा लिएका छन् । लैङ्गिक रूपमा पुरुष ५२.३ प्रतिशत (एक हजार २३२ जना) र महिला ४७.७ प्रतिशत (एक हजार १२५ जना) लाभान्वित हुँदा मिर्गौला ६१.१ प्रतिशत र मुटु रोग ५९.९ प्रतिशतमा पुरुष तथा सिकलसेल एनिमिया (५९.३ प्रतिशत) र क्यान्सर (५३.५ प्रतिशत) मा महिलाको सङ्ख्या बढी देखिएको छ ।

dirghayi clinic

बालबालिकामा पुड्कोपना कायम

बालबालिकाको पोषण, खोप र मातृ स्वास्थ्यको अवस्था झनै चिन्ताजनक छ । प्रथम पञ्चवर्षीय योजनाले पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना २० प्रतिशत र ख्याउटेपना १० प्रतिशतमा झार्ने लक्ष्य राखेकोमा हाल पुड्कोपना २४ र ख्याउटेपना १६ प्रतिशत कायम छ । पूर्ण खोप पाउने बालबालिकाको दर ९५ प्रतिशत पु¥याउने लक्ष्यमा ७५ प्रतिशत मात्र हासिल भएको छ भने नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २० मा झार्ने लक्ष्य रहे पनि २६ नै छ ।

मातृ स्वास्थ्यतर्फ दक्ष स्वास्थ्यकर्मीको उपस्थितिमा सुत्केरी गराउने दर ७२ प्रतिशत (लक्ष्य ८२ प्रतिशत) र प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराउने महिला ६२ प्रतिशत (लक्ष्य ७५ प्रतिशत) मात्र छन् ।

गरिबी, बालविवाह, किशोरी अवस्थाको गर्भधारण, छाउपडी प्रथा र अन्धविश्वासका कारण आमा र शिशुको स्वास्थ्य सुधारमा तगारो लागेको निर्देशनालयले जनाएको छ । प्रथम पञ्चवर्षीय योजनाले सुदूरपश्चिमका नागरिकको औसत आयु ७२ वर्ष पु¥याउने लक्ष्य राखेकोमा ७१.३ वर्ष मात्र पुगेको छ ।

मानसिक समस्या र आत्महत्या भयावह

सुदूरपश्चिममा शारीरिक रोगसँगै मानसिक स्वास्थ्य समस्या पनि विकराल बन्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्ष २०८०÷८१ देखि २०८२÷८३ सम्ममा प्रदेशमा एक हजार ५४८ जनाले आत्महत्या गरेका छन् । यो तथ्याङ्क अनुसार समग्र आत्महत्या दर ९.५ प्रतिशतले वृद्धि भएको छ ।

कुल घटनामध्ये कैलालीमा मात्रै ४९.५ प्रतिशत (७६६ घटना) र कञ्चनपुरसहित तराईका दुई जिल्लाले प्रदेशको कुल आत्महत्याको ७६.५ प्रतिशत हिस्सा ओगटेका छन् । पहाडी जिल्लामध्ये बाजुरामा सबैभन्दा कम तीन प्रतिशत (४७ घटना) छन् । पछिल्लो तथ्याङ्क विश्लेषण गर्दा बझाङमा ३१.८ प्रतिशत, अछाममा ३१.६, कैलालीमा २६.८ र दार्चुलामा १८.८ प्रतिशतले घटना बढेको देखिन्छ भने बाजुरामा ६४, बैतडीमा १२.५ र कञ्चनपुरमा ६.८ प्रतिशतले कमी आएको छ ।

एम्बुलेन्समा जिपिएस जडान भएन

आकस्मिक स्वास्थ्यसेवा अन्तर्गत प्रदेशभर सञ्चालित २१० एम्बुलेन्समध्ये १ सय ४१ मा मात्र जिपिएस जडान छ भने २०२ जना तालिमप्राप्त चालक कार्यरत छन् ।

डिस्प्याच सेन्टरमा आएका एक लाख ७७ हजार ५५९ कलमध्ये ४१७ वटा मात्र ‘टु« कल’ पहिचान भई २५७ पटक एम्बुलेन्स परिचालन गरिएको तथ्याङ्क छ ।

त्यसै गरी स्वास्थ्य क्षेत्रको कुल वित्तीय प्रगति ४५.९ प्रतिशत (प्रदेशतर्फ ३९.५) र सङ्घीय ससर्ततर्फ ५७.७ प्रतिशत मात्र छ  ।

समीक्षा प्रतिवेदनमा उल्लेख भए अनुसार गत वर्ष जारी गरिएको १३ बुँदे ‘राजपुर प्रतिबद्धता पत्र, २०८२’ मार्फत प्रत्येक जिल्लामा कम्तीमा ४० प्रतिशत नागरिकलाई स्वास्थ्य बिमामा जोड्ने, निःशुल्क औषधी वर्षभरि उपलब्ध गराउने, दक्ष जनशक्ति पदपूर्तिका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने र कैलाली–कञ्चनपुरमा ‘घोडाघोडी स्वास्थ्य उपचार कार्यक्रम’ तथा महाकाली र टीकापुर अस्पतालमा मानसिक स्वास्थ्य एकाइ स्थापना गर्ने योजना अघि सारिएको छ तर बजेट कार्यान्वयनमा तीव्रता र सामाजिक कुरीति अन्त्य नगरेसम्म सुदूरपश्चिम अन्य प्रदेशको दाँजोमा उभिन कठिन देखिने स्वास्थ्यकर्मीले बताएका छन्  ।

साभार : गोरखापत्र दैनिक

Himal dental
सम्बन्धित
Loading...