

महेन्द्रनगर । बेदकोट नगरपालिका–१० दैजीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक एकाइगत साधारण सभा अन्र्तगत दैजी सेवा केन्द्रको साधारण सभा गरिएको छ ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गरियो । सहकारीले गत वर्ष राज्यलाई ३३ लाख ६१ हजार २७ रुपैयाँ कर बुझाएको जानकारी समेत दिइएको छ ।

दैजी सेवा केन्द्र व्यवस्थापन उपसमिति संयोजक श्यामप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका प्रबन्धक भुवनेश्वरी भट्ट प्रमुख अतिथि थिइन् । कार्यक्रममा सहकारीका कार्यवाहक अध्यक्ष डा.हरिप्रसाद अवस्थी लगायत सहभागी भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि भट्टले सहकारीको सफलताका लागि शेयर सदस्य र संस्थाबीचको आपसी विश्वास, सहकार्य र सुमधुर सम्बन्ध महत्त्वपूर्ण हुने बताए । उनले सहकारीले आगामी दिनमा पनि सदस्यको विश्वास कायम राख्दै प्रगति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम सञ्चालन दैजी सेवा केन्द्र प्रमुख राजेन्द्र शाहले गरे । कार्यक्रममा सहकारीका शेयर सदस्य सहित डेढ सय बढी सहभागी भएका छन् ।
त्यस्तै, सहकारीका कार्यकारी प्रमुख भुवनेश्वरी भट्टले संस्थाले पारदर्शी कार्यशैली, व्यवस्थित कारोबार र सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए ।
संस्थाले पारदर्शिता र प्रविधिको प्रयोगमा अग्रणी भूमिका निर्वाह गरिरहेको बताउँदै सदस्यहरूलाई मोबाइल बैंकिङलगायत सहकारीका डिजिटल सुविधाको उपयोग गर्न आग्रह गरे ।
सभाका अवसरमा उत्कृष्ट बचतकर्तालाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।
कार्यक्रम समापन गर्दै समारोहका अध्यक्ष उप समिति संयोजक श्यामप्रसाद भट्टले सहभागी सबैलाई धन्यवाद दिए ।
