

ईश्वरी प्रसाद खरेल
इतिहास सधैँ ठूलो आवाजसँग मात्र डराउँदैन, कहिलेकाहीँ शान्त अक्षरहरूले पनि उसलाई असहज बनाइदिन्छन् । त्यो दिन त्यही भयो । एउटा निर्जीव ब्यानर राज्यको नजरमा अपराधी बन्यो । न त्यसले कसैलाई उक्साएको थियो, न अपमान गरेको । त्यसमा लेखिएको मात्र थियो— “महाकाली साझा हो, पानी आधा–आधा हो ।”

तर ती शब्दहरू नै शायद त्यस्ता थिए, जसले सत्ताको आत्मविश्वासलाई प्रश्न गरिरहेका थिए । प्रहरीको आदेश आयो— ब्यानर हटाउनू । किन ? के का लागि ? अपराध के हो ? भनेर बुझ्न खोज्यौँ, तर आदेश बाहेक कुनै उत्तर आएन । जब जुलुसमा सहभागी जनता त्यस आदेशको प्रतिकारमा उभिए, त्यही क्षण प्रहरीको कठोरता अकस्मात् मौनतामा बदलियो । त्यो मौनता स्वीकृति पनि थिएन, अस्वीकार पनि होइन । केही समयपछि हामीलाई अघि बढ्न दिइयो । पछि बुझियो— त्यो मौनता डरको उपज थियो, जन दबाबको अगाडि टिक्न नसकेको राज्य सम्यन्त्रको क्षणिक हार ।
तर त्यसले यात्रालाई सहज बनाएको थिएन । सरकार र त्यसका संयन्त्रहरूको उद्देश्य स्पष्ट थियो— ¥यालीलाई काठमाडौँसम्म पुग्न नदिने । कञ्चनपुरमै रोक्ने प्रयास अन्तर्गत डि. एस.पी.को नेतृत्वमा प्रहरीको डफ्फा हाम्रो पछि पछि लाग्यो । तर यात्राको लय कहिलेकाहीँ योजना भन्दा छिटो हुँदो रहेछ । हामीले कञ्चनपुर सजिलै पार ग¥यौँ । प्रहरीहरू पछि छुटे ।


कञ्चनपुर कटेपछि पनि अवरोधको श्रृंखला सकिएको थिएन । अब षड्यन्त्र कैलालीतर्फ सरेको थियो । त्यसको पहिलो संकेत अत्तरिया थियो । अत्तरिया पार गरेपछि हाम्रो गति सामान्य नै रह्यो, तर मनभित्र एउटा आशंका पलाइरहेको थियो ! त्यो भय थिएन, बरु राज्ययन्त्रबाट हुन सक्ने सम्भावित हस्तक्षेपको चेतना थियो । हामी मानसिक रूपमा त्यसका लागि तयार थियौँ ।
अत्तरिया केही पर खैराना नदी आयो । नदीको कटान फराकिलो भए पनि पानी कम थियो । नदीको बीचबाट सिमेन्टको पक्की सतह देखिने एउटा बाटो देखिन्थ्यो, जुन टाढाबाट हेर्दा सामान्य सडक जस्तै लाग्थ्यो । हामी त्यही बाटो समातेर अघि बढ्यौँ । त्यही बेला महरा भाइले बोले— आफूले पक्की सडक ठानेको बाटो वास्तवमा भास्सिएको पुलको सतह रहेछ । वर्षौँअघि भत्किएको पुल नै अस्थायी बाटो बनेको रहेछ, जसको सतहका कतिपय भागमा पानी बगिरहेको थियो र कतै लेउ चिप्लो भएर बसेको थियो ।
अचानक पछाडिबाट ठूलो आवाज आयो । फर्केर हेर्दा अत्तरियाबाट सँगै हिँडेका साथी ओम प्रकाश लम्साल, भास्सिएको पुलको सतहमा चिप्लिएर उत्तानो परेका थिए । साइकिल उनीमाथि थियो । सबै जना हतारिँदै त्यतैतिर दौडियौँ । चोट लागेको हो कि भनेर सोध्दा उनले मुस्कान झुण्ड्याउँदै भने अलि भिजियो मात्र, चोट लागेन । त्यो मुस्कान यात्राको आत्मा जस्तै लाग्यो, पीडालाई सामान्य बनाउँदै अघि बढ्ने साहसको प्रतीक ।
त्यही क्षण कृष्णदेव पन्त मेरो नजिक आएर शान्त स्वरमा भने, पुल भास्सिनु हाम्रो यात्रामा नौलो कुरा होइन, यहाँ त व्यवस्था नै भित्रैदेखि भास्सिएको छ । मैले उत्तर दिएँ— पुल भास्सिएला, तर आवाज भास्सिँदैन । महाकालीको बहिरहेको पानी जस्तै हाम्रो यात्रा पनि रोकिँदैन ।
खुटिया नदी पार गरेपछि पक्की सडक सुरु भयो । हामी फेरि लहरै अघि बढ्यौँ । बाहिरबाट हेर्दा हामी मौन थियौँ, तर त्यो मौनताभित्र प्रतिरोध बोलिरहेको थियो । हामी केवल नदी र पुल पार गरिरहेका थिएनौँ, हामी इतिहासको एउटा कठिन, तर आवश्यक अध्याय पार गरिरहेका थियौँ ।
