
डाक्टरी पढ्ने छोरा सम्मानित भएपछि खुसी हुँदै आमाले भनिन्– यति खुसी छु कि आज त मलाई खाना खाने मन नि छैन

महेन्द्रनगर । यो मेरो एक्लै छोरो हो, आज त यति म खुसी छु, आफूलाई यति गर्व गर्दैछु कि घर गएर खाना नखाने मन हुँदैछ’ रेडियन्ट माध्यमिक विद्यालयमा सम्मान कार्यक्रमपछि भीमदत्त नगरपालिका २ भाँसीकी गोमती भट्टले भनिन्, ‘यो जन्मेको दिन पनि यति नै खुसी भएकी थिइ, आज पनि त्यति नै छु ।’
रेडियन्ट माध्यमिक विद्यालयले बिहीबार चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस सहित विभिन्न विषयको परीक्षामा छात्रबृत्तिमा अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको थियो ।

भाँसीकी भट्ट आफ्ना छोरा मोहितचन्द्र भट्ट सहित विहानै विद्यालय आएर कार्यक्रममा सहभागी भएकी थिइन् । उनका छोरा मोहितले छात्रबृत्तिमा एमबीबीएस अध्ययनका लागि छात्रबृत्तिमा प्रवेश परीक्षा पास गरेका छन् ।
विद्यालयका प्रिन्सिपल त्रिभुवन कुमार भट्टले मोहितलाई टिका र खादा लगाएर सम्मान गर्दा गोमतीले मोबाइलबाट तस्बिर खिचेकी थिइन् । ‘एक्लो छोरो हो, म पनि डाक्टर बनोसा भन्ने चाहन्थे’ उनले भनिन् ।
मोहितले २०८० मा रेडियन्टबाट १२ कक्षा उत्तीर्ण गरेका हुन् । उनले चिकित्सा शिक्षा आयोगका एमबीबीएस र बीडीएस दुबै परीक्षा उत्तीर्ण गरेका छन् ।
‘डाक्टरको परीक्षा उत्तीर्ण गरेकाले डाक्टर नै पढ्छ नि ’ उनले भनिन् ।
दार्चुला पुख्र्यौलीका भट्ट परिवारका तीन सन्तानमा मोहित कान्छा हुन् । उनकी जेठी छोरी बीएस्सी नर्सिङ्ग गरी अमेरिका पुगेका छन् । माइली छोरी काठमाडौंमा अध्ययनरत छिन् । अमेरिकाकी छोरी नाति जन्म दिएकी छन् ।

‘आज त म खुसी नै खुसी छु, यता मोहितले सम्मान पाएको छ, उता जेठी छोरीको नाति भएको छ’ उनले भनिन्, ‘ म निकै खुसी छु, आज त मलाई म जति अर्को कोही पनि खुसी छैन भन्ने लागि राखेको छ ।’
मोहित सानैदेखि शान्त र धेरै बोल्न नमान्ने स्वभावको भएको उनले बताइन् । मोहित घरमा डाक्टर बनेर सेवा गर्ने इच्छा भने सुनाउँदै आएको थियो ।
‘गरीबको सेवा गर्छु, नाम अघि बढाउँत भन्थ्यो, डाक्टर पनि बन्छु त भन्थ्यो’ उनले सुनाइन्, ‘अरु त धेरै कुरा गर्दै गर्दैन, जसले जे भने नि हुन्छ, हुन्छ मात्रै भन्छ, मैले नि लाठो हो कि बाठो भनेर भनेर केही भन्न सकेकी छैन ।’
एसइई गरेपछि उनका बुवा बासुदेब भट्टले आफैं आएर उनलाई रेडियन्टमा भर्ना गरेका थिए । बिहीबार सम्मानमा आमा गोमती सहभागी भएकी हुन् ।
नेपाली सेनाबाट अवकाश भएपछि भट्टले दार्चला खलङ्गामा व्यवसाय सञ्चालन गरेका छन् । सेनाको जागिरले तीन सन्तानको पढाई लेखाई सबै खर्च व्यहोरिएको गोमतीले बताइन् ।
‘आर्मीको त्यो तलबले कसरी तीन छोरा छोरी पाल्यौ, हुर्कायौ, पढायौ, सजिलो थिएन’ उनले भनिन्, ‘ती दिन त सजिला थिएनन् ।’
भाँसीस्थित घरमा भट्टले दुई भैसी पालेकी छन् । दिनभरि घरधन्दा सम्हाल्दै आएकी उनी बिहीबार सबै छाडेर रेडियन्ट पुगेकी थिइन् ।
‘घरमा भैसी पालेकी छ, छोरा छोरीको लागि दुबै जना अहिलेसम्म लागि रहेका छौ’ उनले भनिन् ।
