महेन्द्रनगर । नेकपा एमाले सम्वद्ध नेपाल किसान महासंघ कञ्चनपुरले किसानलाई मलखाद, बिउ विजन र कृषि उपकरण उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । महासंघले विहान ९ बजेदखि कार्यालयको प्रवेशद्वारमा धर्ना दिएको छ ।
धर्नापछि महासंघले किसानलाई मलखाद सहित बिउविजन, उपकरण उपलब्ध गराउनु पर्ने माग सहितको ज्ञापन प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाइएको छ ।
स्थानीय प्रशासन मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य वृद्धि फिर्ता लिनु पर्ने माग पनि गरिएको छ ।
गत कार्तिकमा बेमौसमी वर्षाले क्षति भएको धानबालीको क्षतिपूर्ति दिनु पर्ने, शुक्लाफाँटा आरक्ष पीडित, मुक्त हलिया, मुक्त कमैया परिवारलाई बजेट उपलब्ध गराई रोजगारी दिनु पर्ने, पुनर्वास नगरपालिकामा भूमिहिन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिनु पर्ने र दैनिक उपभोग्य वस्तको मूल्य वृद्धि नियन्त्रण गरिनु पर्ने माग ज्ञापन पज्ञमा समावेश गरिएका छन् ।
धर्नामा सविधान सभा सदस्यद्वय आनन्दी पन्त र कलसा महरा, किसान महासंघका राष्ट्रिय कमिटी सचिवालय सदस्य खेम सुवेदी, महासंघका जिल्ला अध्यक्ष शेर बहादुर सिह लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।