
होटेलमा काम गरेको चार हजार रुपैँया महेन्द्रनगरमा दिने बहाना बनाएर भारत बेच्न लैजाँदै गरेकी किशोरीको उद्धार, बेच्न लैजाने भारतीय नागरिक पक्राउ
पप्पु गुरुङ्ग
दोधारा । भारतीय नागरिकले झुक्काएर भारततर्फ लैजादै गरेकी एक किशोरीको शनिबार दोधारा चाँदनीको भारतीय सीमावर्ती क्षेत्रबाट उद्धार गरिएको छ ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्ण दत्त भट्टको कमाण्डमा गएको टोली र माईती नेपाल कञ्चनपुरको सयुक्त टोलीले दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोज नजिक नेपाल–भारत सिमा स्तम्भ ७९८ बिपी १५ दशगजा क्षेत्रमा शुक्लाफाँटा नगरपालिका वडा नं. १० बस्ने वर्ष अन्ताजी १९ का रमिता रतौकी (नाउ परिवर्तन गरिएको) लाई झुक्काएर भारत लग्दै गरेको अवस्थामा उद्धार गरिएको छ ।
रमितालाई झुक्काएर भारत लग्न लागेका ग्राम बलरामपुर, पोष्ट जितौरिया, पुरनपुर, पिलिभित उत्तर प्रदेश भारत निवासी वर्ष २९ को पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रमिता आफू कञ्चनपुरको डोके बजारको एक होटेलमा काम गर्दै आएको र भारतीय नागरिक पवनले होटेलमा दिनु पर्ने रकम ४ हजार लिन आफूसंग पठाई दिन होटेलका मालिक आग्रह गरेको रमिताले बताएकी छन् ।
‘मालिकले मलाई पैसा लिन जाउ भने, महेन्द्रनगरसम्म जाऔं, त्यही बैंकबाट पैसा निकालेर दिउँला भनेर महेन्द्रनगरसम्म ल्याए । मलाई थाहै भएन् । म पहिले कहिले यता आईन’ रमिताले भनिन् । आफूलाई भारत लग्न लागेको बिषयमा आफू अनविज्ञ रहेको रमिताले बताईन् ।
‘मलाई भारत लग्न लागेको विषयमा मलाई थाहै भएन्’ रमिताले भनिन् । दुबै जनाले झुट बोलेको हुन सक्ने समेत आशंका गरिएको छ । दोधारा चाँदनी नगरपालिका नेपाल–भारत सीमा क्षेत्र खुला सीमा क्षेत्र रहेको कारण दलाललाई मानव ओसारपसार गर्न सहज हुँदै आएको छ ।
माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सूचनाको आधारमा बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्ण दत्त भट्टसंग समन्वय गरी कञ्चनभोजको दशगजा क्षेत्रबाट झुक्काएर भारत लग्न लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको बताइन् ।
दोधारा चाँदनी नगरपालिका संग जोडिएको नेपाल–भारत खुला सिमा क्षेत्रमा थुप्रै बाटोहरु भएको कारण समेत दलाललाई मानव तस्करीमा सहजता भएको उनको भनाई रहेको छ ।
हरेक बर्ष दलालहरुले नयाँ नयाँ तरिका अपनाएर चेलीलाई सीमा कटाउने भएकोले मानव बेचबिखन नियन्त्रणमा समस्या हुने गरेको माईती नेपाल कञ्चनपुरले बताएको छ । ‘पहिले नपढेकाहरु मात्रै बेचबिखनमा पर्ने गर्थे ।
अहिले बढी जसो पढे लेखेका महिला तथा वालिकाहरु रोजगारी तथा विभिन्न प्रलोभनमा बेचिने गरेका छन’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट भन्छिन्, ‘बढी महत्वकांक्षी भएका महिलाहरु छिट्टै नै धनी हुने लोभमा बेचविखनमा पर्ने गरेका देखिएको छ ।’
