ghar sansar

बेलौरीकी प्रमुख प्रशासकीय अधिकृतले दिइन् धम्की सहित कर बुझाउन निर्देशन

महेन्द्रनगर । बेलौरी नगरपालिकामा तोकिएको समय अवधिभित्र कर नबुझाउने करदातालाई सेवा रोक्का गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखकले सोमबार सूचना जारी गर्दै कर नुबझाउने करदाताको सेवा रोक्ने धम्की दिएकी छन् ।

नगरपालिकाले करदातालाई चालु आर्थिक वर्षको कर असार २० गतेभित्र बुझाउन समय दिएको छ । यस अवधिमा कर नबुझाउने सबै करदाताको सेवा सुविधा रोक्का गर्ने चेतावनी दिइएको हो ।

कोभिड १९ महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यापार व्यवसाय धराशायी भएको बेला स्थानीय सरकारले चेतावनी सहित सूचना जारी गरेपछि करदाता आक्रोशित भएका छन् ।

नगरपालिकाले असार २० गतेसम्म कार्यालयको खाता नं. वा कार्यालयमा आएर कर बुझाउन करदतालाई निर्देशन दिएको छ । निर्देशन विपरित कर नबुझाएमा कार्यालय र मातहत निकायबाट हुने कामकाज रोक्न गरिने उल्लेख गरिएको छ ।

बेलौरी नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मेयर चौधरी यस वर्ष करदातासित अनुदार देखिएका छन् ।
मेयर चौधरीको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत लेखकले करदातालाई धम्कीको शैलीमा कर बुझाउने सूचना जारी गरेकी छन् ।

अघिल्लो पटक पाँच वर्षे कार्यकाल उपलब्धि विहीन भएका चौधरी दोस्रो कार्यकालमा आक्रामक भएर जान खोजेका छन् । अघिल्लो कार्यकाल प्रमुख प्रशासकीय अधिकृत टिक्न नसकेर चौधरी सबैभन्दा बढी विवादमा तानिएका थिए ।

अहिले पनि बेलौरीमा उप सचिव दरबन्दीका प्रमुख प्रशासकीय अधिकृत आउन नसक्ने अवस्था छ । प्रमुख प्रशासकीय अधिकृतले आउनै नमान्दा अहिले प्रशासकीय अधिकृतको भरमा कार्यालय चलेको छ ।

Himal dental
सम्बन्धित
Loading...