महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले आफ्नै दलका जनप्रतिनिधिलाई प्रमुख बनाएर सबै विषयगत समिति बनाएका छन् । भीमदत्त नगरपालिकाको नगर कार्यपालिका (कार्य सम्पादन ) नियमावली २०७४ का आधारमा ७ ओटा समिति बनाइएका छन् ।
ती सबै समितिका संयोजक काँग्रेसका जनप्रतिनिधि छन् । समितिका सदस्यमा भने विपक्षी दलका जनप्रतिनिधि पनि परेका छन् । भीमदत्तको कार्यपालिकामा मेयर बोगटीसित दुई तिहाई भन्दा बढी बहुमत छ । भीमदत्तमा एमालेका तीन, माओवादी केन्द्रका दुई र स्वतन्त्र एक जना कार्यपालिका सदस्य छन् ।
भीमदत्तको लेखा समितिको जिम्मेवारी हरिहर परियारलाई दिइएको छ । परियार नेतृत्वको समितिमा कृष्णदेब भट्ट, दिपक बुढा, रुपा कुमारी विष्ट र भागरथी कुमारी विष्ट सदस्य छन् । लेखा अधिकृत गोविन्द उपाध्यक्ष समितिको सदस्य सचिव छन् ।
यस अघि एमालेका प्रताप तिरुवा समितिका संयोजक थिए । उनी पनि कार्यपालिका सदस्य निर्वाचनबाट कार्यपालिका सदस्य भएका थिए ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्कालाई सार्वजनिक सेवा तथा क्षमता विकास (सुशासन) समितिका संयोजक भएका छन् । समितिमा राम बहादुर बोहरा, गगन सिह कार्की, यशोदा खड्का, कालुराम डगौरा र प्रताप सिह साउँद सदस्य छन् । भीमदत्तका प्रशासकीय अधिकृत हरि सिह धामी समितिमा सदस्य सचिव छन् ।
विधेयक समितिका संयोजक भीनपा १२ का अध्यक्ष भुपेन्द्र सिह रावल भएका छन् । समितिमा रविन्द्र देवकोटा, बीर बहादुर महता, हरि प्रसाद भट्ट र लक्ष्मी कार्की सदस्य छन् ।
भीमदत्त ४ का अध्यक्ष सुशिल कुमार भट्टले सामाजिक विकास समितिको जिम्मेवारी पाएका छन् । समिति सदस्यमा आशेफ कुँबर, वसन्तादेवी जोशी, गणेश आग्री, नारायण सिह महता, मोनिका एस्के भुल सदस्य छन् । समितिमा कुन्ती लेखक सदस्य सचिव छन् ।
भीनपा ३ का अध्यक्ष गगन सिह धामीको अध्यक्षतामा गठन गरिएको आर्थिक विकास समितिमा केशव सिह विष्ट, जगुराम चौधरी, किशोर सिह विष्ट, ललित चन्द र मिना ठगुन्ना सदस्य छन् । समितिको सदस्य सचिवमा कृष्णदत्त पाण्डेय सदस्य सचिव छन् ।
पूर्वाधार निर्माण समितिको संयोजक भीनपा ५ का अध्यक्ष पदमराज अवस्थी भएका छन् । समितिमा उत्तम प्रसाद भट्ट, मदनराज मिश्रा, सीता भण्डारी, गणेशदत्त भट्ट, देवकी जोशी र मन्जु कुमारी शाही चन्द सदस्य छन् । इन्जिनियर जयराज भट्ट समितिमा सदस्य सचिव छन् ।
भीनपा ११ का अध्यक्ष प्रकाश थापा वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भएका छन् । समितिका गणेश चन्द, भोजराज जोशी, अन्जली बोहरा र बिमला भट्ट सदस्य छन् । समितिमा निराश्रया खतिवडा सदस्य सचिव छन् ।
अघिल्लो कार्यकालमा भीमदत्तका मेयर सुरेन्द्र विष्टले आर्थिक विकास समिति र वातावरण तथा विपद् व्यवस्थापन समितिको नेतृत्व विपक्षी दललाई दिएका थिए । आर्थिक विकास समितिमा माओवादी केन्द्रका डम्मर सिह कार्की र वातावरण तथा विपद् व्यवस्थापन समितिमा काँग्रेसका प्रेमप्रकाश जैसी संयोजक थिए । अन्य पाँच समितिको नेतृत्व एमाले जनप्रतिनिधिले गरेका थिए ।
मेयर बोगटीले एमाले, माओवादी र स्वतन्त्रलाई समितिमा नेतृत्व नदिएर सबैमा आफ्नै दलका जनप्रतिनिधि ल्याएका छन् । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले कार्यपालिकाबाट समिति गठन गरिएको बताए । ‘कार्यपालिकाबाट समिति गठन गरिएका हुन्,’ उनले भने ।
स्थानीय सरकारमा पक्ष विपक्ष नहुने भएकाले मेयर बोगटीले सबैलाई समेटेर जानु पर्नेमा विपक्षीलाई वेवास्ता गर्न राम्रो संकेत नभएको नेताहरु बताउँछन् ।
‘सबैलाई मिलाएर जानु पर्ने हो, हिजो सुरेन्द्रजीसित बहुमत हुँदा वहाँले पनि मिलाएर जानु भयो, अहिले वहाँले पनि त्यसरी नै मिलाएर जानु पर्ने थियो’ एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दले भने,‘यो राम्रो भएन ।’