महेन्द्रनगर । बेदकोट नगरपालिकाले आगामी आर्थिक २०७९÷०८० का लागि झण्डै एक अर्ब बराबरको बजेट ल्याएको छ । बेदकोट नगरपालिकाको ११ आंै नगर सभा अधिवेशनमा बुधबार ९८ करोड २२ लाख २८ हजारको बजेट पेश गरिएको छ ।
यस अघि १० औं नगर सभाबाट चालु आर्थिक वर्षका लागि ८३ करोड ९२ लाख विनियोजन गरिएको थियो ।
आगामी वर्षका लागि चालुतर्फ ७१ करोड ५३ लाख र पूँजीगतर्फ २६ करोड ६८ लाख बजेट अनुमान गरिएको छ । नगर सभामा बजेटसंगै नीति तथा कार्यक्रम पनि पेश गरिएको छ ।
बेदकोटका मेयर भोजराज बोहराले नीति तथा कार्यक्रम र उप तुलसी जोशी नीति तथा कार्यक्रम पेश गरेका छन् । नगर सभामा नीति कार्यक्रम र बजेटमाथि छलफल भएर पारित गर्ने कार्यतालिका छ । नगर सभामा मेयर बोहराले नीति तथा कार्यक्रम पेश गरेपछि उप मेयर जोशीले बजेट वाचन गरेकी थिइन् ।
बजेटमा २ करोड ५० लाख आन्तरिक स्रोतबाट आम्दानी हुने अनुमान गरिएको छ । यस बाहेक संघ र प्रदेश सरकारको अनुदानबाट आम्दानी हुने अनुमान गरिएको छ ।
मेयर बोहराले ग्रामीण विद्युतीकरण र सडक कालोपत्रे, सामाजिक सुरक्षा भत्ता वितरण सहज बनाइने, उत्कृष्ठ काम गर्ने कर्मचारी, उपभोक्ता समिति, गैससलाई पुरस्कृत गर्ने, तीन खम्बे अर्थनीति अबलम्बन गर्ने, रोजागरीको अवसर सृजना हुने योजनालाई प्राथमिकता दिने, होमस्टे व्यवसाय सञ्चालनलाई प्राथसिमकता, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारका वस्तीमा जंगली जनावर रोकथामका लागि दिर्घकालिन संरक्षणको उपाय अपनाइने, नगर क्षेत्रमा भवन संरचनाको नक्सापास अनिवार्य गर्ने, अर्गानिक व्यवसायलाई प्रोत्साहनलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।
प्रदेश सरकारसित सहकार्यमा कम्पोष्ट मल कारखाना खोल्ने, एक घर एक करेसाबारी बनाउने, सडक किनारमा वृक्षारोपण गरी हरियो नगर बनाउन कार्यक्रम सञ्चालन गर्ने, ल्याण्डफिल साइडका लागि जग्गा खोजी डीपिआर बनाउने, वैज्ञानिक वधशाला निर्माण, पूर्ण साक्षर नगरपालिका घोषणा, थारु जातीको बडघर र भलमन्सा परम्पराको संरक्षण, बाल विवाह मुक्त नगर बनाउने र राजश्व सम्भाव्यता अध्ययन नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
मेयर बोहराले खेलकुद विकासका लागि खेल मैदानलाई मिनी कबर्ड हल बनाउने, नगर प्रमुख उप प्रमुख खेलकुद कार्यक्रमलाई निरन्तरता दिने, प्रथम जन निर्वाचित प्रधानमन्त्री स्व. विपी कोइरालाको नाममा उद्यान निर्माण गर्ने, दलित समुदायको छानो मर्मत गर्ने, नगरपालिकाका करार र ज्यालादारी कर्मचारीको दुई लाखको बीमा गर्ने, सुडा र दैजी स्वास्थ्य चौकीमा मासिक रुपमा विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा ल्याएका छन् ।
अभिभावकलाई जिम्मेवार बनाउन मेरो सन्तान मेरो जिम्मेवारी कार्यक्रम सञ्चालन गर्ने, दैजीमा २५ शैय्याको अस्पताल निर्माणका लागि पहल गर्ने र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि नीति कार्यक्रम समावेश गरिएका छन् ।
मेयर बोहराले नीति तथा कार्यक्रममा सडक सुविधा नपुगेका वस्तीमा सडक विस्तार, जग्गाधनी पूर्जा वितरणका लागि पहल, शिक्षक अपुग भएको विद्यालयमा शिक्षक व्यवस्था, भूउपयोग नीति बनाएर कार्यान्वयन गरिने उल्लेख गरेका छन् ।
बेदकोट नगरपालिकाका गौरबका योजना क्रिकेट स्टेडियम, कबर्ड हल, कोल्डस्टोर, बेदकोटधाम, लिङ्गेश्वर धाम, चक्रपथ, राधा नदीमा तटबन्ध निर्माणलाई मेयर बोहराले आगामी वर्षको नीति तथा कार्यक्रममा निरन्तरता दिएका छन् । छेला दैजी औद्योगिक क्षेत्र सञ्चालनका लागि पहल गर्ने कार्यलाई मेयर बोहराले नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छन् ।
बेदकोटमा कोरोना महामारी नियन्त्रण, स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकामा पूर्वाधार बनाउन बजेट विनियोजन गरिएको छ ।
नगर उप प्रमुख जोशीले बजेट विनियोजन हुन नसकेका योजना तथा कार्यक्रमलाई योजना बैंकको रुपमा सूचीकृत गरी प्राथमकिताका आधारमा संघ र प्रदेश सरकारमा सिफारिश गरी पठाउने बजेट बक्तव्यमा उल्लेख गरेकी छन् ।
आगामी आर्थिक वर्षका लागि वडाबाट प्राथमिककरण भएर योजनामा ६ करोड ३२ लाख बजेट विनियोजन गरिएको छ । नगर सभामा उप प्रमुख जोशीले न्यायिक समितिको प्रतिवेदन पेश गरेकी छन् । नगर सभामा न्यायिक समिति गठनका लागि प्रस्ताव गर्ने तयारी गरिएको छ ।