दैजीमा १५ शैय्याको अस्पताललाई मेयर बोहराले दिए प्राथमिकता, सामुदायिक वनमा पक्की पर्खाल बनाउन अघिल्लो कार्यकालमै पारिएको छ एक रोड स्वाहा
महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले दैजीमा १५ शैय्याको अस्पताल निर्माणका लागि पहल गर्ने भएका छन् । मेयर बोहराले अस्पताल निर्माणका लागि गरिने पहललाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेका छन् ।
बेदकोटको ११ औं नगर सभाबाट बुधबार मेयर बोहराको अस्पताल निर्माणका लागि पहल गर्ने प्रस्ताव पारित गरिएको छ । स्थानीय तहमध्ये नगरपालिकामा १५ र गाउँपालिकामा १० शैय्याको अस्पताल बनाउनु सरकारी नीति छ ।
‘दैजीमा १५ शैय्याको अस्पताल निर्माण व्यवस्थापनका लागि आवश्यक पहल गरिनेछ’ नगर सभाबाट पारित नीति तथा कार्यक्रममा भनिएको छ ।
दैजीमा अस्पताल निर्माणका निर्णय यस अघिका मेयर अशोक कुमार चन्द चन्द नेतृत्वको सरकारको पालामा गरिएको थियो । मेयर चन्दले पहिलो नगर सभाबाट नगर अस्पताल सञ्चालन गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
अस्पताल निर्माणका लागि दैजीस्थित जयशंकर सामुदायिक वन क्षेत्रमा प्रक्रिया अघि बढाइएको थयो । अस्पतालका लागि नगरपालिकाले एक करोड खर्च गरी वन क्षेत्रमा पक्की पर्खाल निर्माण गरेको छ ।
वन क्षेत्रमा पक्की पर्खाल निर्माण बाहेक अन्य कार्य मेयर चन्दको कार्यकालमा अघि बढ्न नसकी अलपत्र परेको थियो । वन क्षेत्रको इआइई नगरी वन क्षेत्रमा अस्पताल निर्माण कार्य अघि बढाएपछि वन कार्यालयले रोक्का पत्राचार गरेको थियो ।
वन कार्यालयले पत्राचार गर्न अघि नै इआइई नगरी हचुवाका भरमा सामुदायिक वनको पक्की पर्खाल बनाइएको छ । पूर्व पश्चिम राजमार्ग नजिकको वन क्षेत्रमा बनाएको पर्खाल अहिले पनि देख्न सकिन्छ ।
सामुदायिक वन क्षेत्रमा पक्की पर्खाल बनाएपछि तत्कालिन मेयर चन्दको आलोचना भएको थियो । पक्की पर्खाल बनाएपछि नगरपालिकाले अस्पतालको डीपीआर बनाएर ठेक्का आव्हानको समेत तयारी गरेको थियो ।